गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी

न्युज कारखाना  |  समाचार  |  कार्तिक १६, २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् । मन्त्रालयमा संचारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् । गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो । 

उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताइन् 

'सरोकारवालासँग छलफल गरेर गएको भए गुठी विधेयकमा समस्या आउँदैनथ्यो कि !', उनले भनिन्, ‘हामी समन्वय गरेर अघि बढ्छौँ । गुठी विधेयकको उद्देश्य राम्रो थियो तर एकै ठाउँमा सोलोडोलो सबै समस्यालाई मिसाउँदा विवादमा पर्‍यो ।’

हिजो आफू राज्य व्यवस्था समितिमा हुँदा मन्त्रीहरूलाई गुठीका बारेमा प्रश्न गर्ने गरेको भन्दै श्रेष्ठले थपिन, ‘आज म त्यहीँ मन्त्री छु । म गर्ने ठाउँमा छु । सबै प्रयत्न गर्छु ।’

आफू गुठीको समस्यामा केन्द्रित रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उनले जानकारी गराइन् । यसका लागि आफूले पूर्वमन्त्रीहरू, पूर्वसचिवहरू, पूर्वमहानिर्देशकहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने बताइन् । ‘राम्रो काम जसले गरेको छ, स्वामित्व लिएर जान्छु’, उनले भनिन् ।  यद्यपि, अहिले संसद अधिवेशन छैन ।