राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

राजेन्द्र राईले मुख्यमन्त्रीको शपथ लिँदै, ५ सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी

न्युज कारखाना  |  समाचार  |  कार्तिक १६, २०७८

प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दल सरकार विस्तारको तयारीमा जुटेका छन् । मुख्यमन्त्रीको शपथलगतै मन्त्रीहरूलाई पनि शपथ गराउने तयारीमा गठबन्धन दलहरू जुटेका हुन् ।

मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तर्फबाट एक-एक जना गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार राईले बताए । 

मन्त्रीहरूमा कांग्रेसबाट उपनेता हिमाल कार्की र प्रमुख सचेतक केदार कार्कीमध्ये एक जना, माओवादी केन्द्रबाट दलका नेता इन्द्रबहादुर आङ्बो र प्रमुख सचेतक झलकबहादुर मगरमध्ये एक जना, एकीकृत समाजवादीबाट उपेन्द्र घिमिरे, सरिता थापा तथा खिनु लङवामध्ये एक जना र जनता समाजवादी पार्टीबाट जयराम यादवको नाम चार्चामा छ ।  

एकीकृत समाजवादीले भने आफ्नै मुख्यमन्त्री भएको तथा नयाँ पार्टी भएकाले समावेशिता देखाउनुपर्ने बाध्यताका कारण खिना लङवा लिम्बूको संभावाना बलियो देखिएको छ ।

मेची, कोसी र सगरमाथालाई समेट्ने गरी मन्त्री बनाउने तयारी गरेको नेता राईले बताए । मुख्यमन्त्री कोसीबाट बनेका कारण मेचीबाट खिनु लङवा लिम्बूलाई मन्त्रीमा लैजाने संभावना छ । 

मंगलबार अपराह्न ३ बजे मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । गठबन्धन दलहरू भने बिहानैदेखि मन्त्री छान्नका लागि व्यस्त देखिएका छन् ।