'बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो'

'बेन्च सेटिङ भयो, संवैधानिक इजलासलाई बन्दी बनाइयो'

न्युज कारखाना  |  समाचार  |  कार्तिक १६, २०७८

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता हरिहर दाहालले बेन्चमा सेटिङ भएको र संवैधानिक इजलासलाई बन्दी बनाइएको आरोप लगाएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा मागेर १९ जना न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् भने सोही माग राखेर नेपाल बार एसोसिएसन पनि आन्दोलनमै छ । कार्यपालिकासँगको राजनीतिक भाग खोजेर न्यायालयलाई बदनाम गराइएको प्रधानन्यायाधीश जबरामाथि उनीहरूको आरोप छ ।  

तेस्रो दिनको आन्दोलनका क्रममा मंगलबार बार कार्यालय परिसरमा आयोजित कार्यक्रममा वरिष्ठ अधिवक्ता दाहालले भने, ‘प्रधानन्यायाधीश र न्यायाधीशबीच संवाद हुन सकेको छैन । हामीभन्दा बढी न्यायाधीशहरू सकसमा छन् । न्यायमा निष्पक्षता भएन । बेन्च सेटिङ भयो । संवैधानिक इजलासलाई बन्दी बनाइयो ।’  

न्यायाधीशको नियुक्तिबाटै प्रश्न उब्जिएको भन्दै उनले जबराको पालामा भने धेरै प्रश्न उठेको बताए । न्यायपालिका शुद्धीकरण अभियान थालेको बताएका उनले बार एसोसिएसनले बार-बेन्च समन्वय समितिको छलफलमा प्रधानन्यायाधीश जबराले विकृति विसंगति अध्ययन गर्न हरिकृष्ण कार्की नेतृत्वमा कमिटी बनाए पनि त्यसले बुझाएको प्रतिवेदन कार्यान्वयनमा संवेदनशीलता नदेखाएको बताए । 

प्रधानन्यायाधीश जबराले उक्त प्रतिवेदन कार्यान्वयन नगर्दा विश्वासको संकट गहिरिएको दाहालको भनाइ छ । अटोमेसनमा जानुअघि गोलाप्रथामा कसरी जाने भनेर मीरा खड्का नेतृत्वमा समिति बनेको र उसले बुझाएको प्रतिवेदन पनि कार्यान्वयन नगरेर न्यायालयको शुद्धीकरणमा जबरा उदासीन बनेको वरिष्ठ अधिवक्ता दाहालको आरोप छ ।

हरिकृष्ण कार्कीको प्रतिवेदन, बार-बेन्चमा भएका सहमति कार्यान्वयन नहुँदा अहिलेको समस्या देखापरेको बताएका उनले अब प्रधानन्यायाधीश जबराले राजीनामा दिएर बाहिरिँदा न्यायालयको मर्यादा रहने धारणा राखे ।

सेतो पट्टी लगाएर जबराको पक्षमा उत्रिएका अधिवक्ताहरूलाई प्रलोभनमा नफस्न उनले आग्रह गरे ।