भारतीय टी- २० टिमको कप्तान बन्दै केएल राहुल !

भारतीय टी- २० टिमको कप्तान बन्दै केएल राहुल !

एजेन्सी  |  खेलकुद  |  कार्तिक १६, २०७८

केएल राहुल भारतीय टी- २० टिमको कप्तान बन्ने भएका छन् । भारतीय संचार माध्यमहरूले राहुल टी- २० को कप्तान बन्ने र विराट कोहलीले टी- २० विश्वकपपछि कप्तान छाड्ने समाचार दिइरहेका छन् । 

एएनआईले दिएको समाचारअनुसार रोहित शर्मा पनि केही समय आराम गर्नेछन् । यहीबीचमा केएल राहुल कप्तानी सम्हाल्ने दौडमा रहेको एएनआईले जनाएको छ । अहिले रोहित शर्मा टी- २० टोलीको कप्तानीमा सबैभन्दा अगाडि छन् तर उनलाई पनि टी- २० विश्वकपपछि विश्राम दिइनेछ । राहुलले अस्ट्रेलियामा टी- २० र एक दिवसीय भ्रमणका क्रममा उपकप्तानको जिम्मेवारी राम्ररी निभाएकाले उनलाई कप्तान बनाउन लागिएको हो । ‘सिनियर खेलाडीहरूलाई आराम चाहिन्छ, यो कुनै गोप्य कुरा होइन । राहुल टिमको टी- २० प्रारूपको अभिन्न अंग हुन् । उनले नेतृत्व गर्ने लगभग निश्चित छ’, स्रोतले भन्यो । 

सन् २०२१ को टी- २० विश्वकपपछि न्युजिल्यान्डले भारत भ्रमण गर्दै छ, जहाँ, २ देशबीच ३ खेलको टी- २० अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछि २ खेलको टेस्ट सिरिज हुनेछ । टी- २० सिरिजमा विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह र मोहम्मद शामीलगायत खेलाडीलाई विश्राम दिइनेछ । 

भारत र न्युजिल्याण्डबीचको पहिलो खेल जयपुरमा १७ नोभेम्बरदेखि सुरु हुँदै छ । दोस्रो खेल १९ नोभेम्बरमा राँचीमा हुनेछ भने तेस्रो र अन्तिम खेल २१ नोभेम्बरमा कोलकातामा हुनेछ । त्यस्तै, पहिलो टेस्ट २५ देखि २९ नोभेम्बरसम्म कानपुरमा र दोस्रो टेस्ट ३ देखि ७ डिसेम्बरसम्म मुम्बईमा खेलिनेछ ।