न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी

न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले गठन गरे ९ इजलास, बारको आन्दोलन जारी

न्युज कारखाना  |  समाचार  |  कार्तिक १७, २०७८

न्यायाधीशहरूको अघोषित बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधवार बन्दी प्रत्यक्षीकरणका मुद्दा सनुवाइ गर्न ९ वटा इजलास गठन गरेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोकेका हुन् । 

९ वटा संयुक्त र ३ वटा एकल इजलासमा बन्दीका मात्र रिट निवेदन तोकिएका छन् । जबराले इजलास गठन गरेपछि न्यायायाधीशहरूले भने बुधबार पनि इजलास नजाने बताएका छन् । सोमबार बन्दीका मुद्दामा सुनुवाइ गरेका न्यायाधीश मंगलबारदेखि पुन: इजलासमा नजाने निर्णयमा छन् । 

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्ने कार्यलाई लम्ब्याउन खोजेको लगायतका कारण देखाउँदै न्यायाधीशहरू काममा नगएका हुन् ।  न्यायाधीशहरूले इजलास छाडेसँगै नेपाल बार एसोसिएसनले बुधबार चौथो दिन पनि प्रधानन्यायाधीश जबराविरुद्धको प्रदर्शनलाई कायम राखेको छ । कानुन व्यवसायीहरू कालो पट्टी बाँधेर धर्नामा बसेका छन् ।