तत्काल एनआरएनए निर्वाचन गर्न परराष्ट्र सचिव पौडेलसँग माग

तत्काल एनआरएनए निर्वाचन गर्न परराष्ट्र सचिव पौडेलसँग माग

न्युज कारखाना  |  विदेश  |  कार्तिक १७, २०७८

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औँ महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए ।

शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्याेल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण बनाउन आग्रह गरे । परराष्ट्र मन्त्रालयको ठाडो हस्तक्षेपपछि संघको १०औँ महाधिवेशन रोकिएकाले शर्माले परराष्ट्र सचिवको ध्यानाकर्षण गराएका हुन् ।

सचिव पौडेलले आफू कर्मचारी भएकाले आफ्नो दायराभित्र रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले संघको निर्वाचन र महाधिवेशनका लागि शुभकामना पनि दिए । 

गत महिनाका लागि तय भएको संघको निर्वाचन पुनः ३० नोभेम्बरमा गर्ने वातावरण बनाउन संघका अध्यक्ष कुमार पन्तलाई जिम्मेवारी दिइएको छ । संघभित्र प्रतिनिधि छनोटमा देखिएको विवाद मिलाउन अनौपचारिक छलफल जारी रहेको संघले जनाएको छ ।