‘हामी त्यसै आएनौँ, बलि राजाले पठा’को '! बलि राजा को हुन् त आखिर ? उनले किन पठाए त माग्न ?

‘हामी त्यसै आएनौँ, बलि राजाले पठा’को '! बलि राजा को हुन् त आखिर ? उनले किन पठाए त माग्न ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  कार्तिक १७, २०७८

पहाडिया हिन्दु समाजमा जन्मे-हुर्केको प्रायः मानिससित देउसीभैलो खेलेको अनुभव हुन्छ । पहिलोपल्ट बोतलमा मट्टीतेल हालेर राँको बालेर देउसीभैलो खेल्न गएको स्मृति मेरो मनमा ताजै छ । २ रुपैयाँ दिनेका घरमा ६ जनाको टोली पनि ३/३ जना गरेर गइन्थ्यो ।

जति कराए पनि नउठ्ने घरलाई गाली गरिन्थ्यो, पैसो दिने घरलाई सिंहदरबार भनिन्थ्यो । बारीका काँक्रा र सुन्तला सोत्र्याम पारिन्थ्यो । देउसीभैलो खेल्नलाई चाहिने मट्टीतेल र पटाकाका लागि खर्च दसैँको पैसा जोगाएर राखिन्थ्यो ।

भैलो खेलेर कमाएको पैसा भइटीकाका दिन कौडाको खालमा च्याँखे थाप्न काम आउँथ्यो । १५-२० घरमा भैलो खेल्दा भागमा पर्ने त्यही १०-१२ रुपैयाँ त हो ।

चामल जोगाएर राखिन्थ्यो ।  धान, मकै बेचेर आएको पैसाले नुन-मसला किनेर मंसिर लागेपछि वनभात खान गइन्थ्यो । यसरी देउसीभैलोको मजा एक-दुई महिना परसम्म पुग्थ्यो ।

हामीले देउसीभैलो खेल्न थालेताका रेडियोमा हिकोला फोटो स्टुडियोको विज्ञापन आउँथ्यो- ‘रंगीन फोटो, हिकोला । धुलौनलाई हिकोला ।’

हामीभन्दा बाठाटाठाहरू ‘भन मेरा भाइ हो, हिकोला, राम्ररी भन हिकोला’ भनेर गाउँथे । हामीलाई इष्र्यासमेत लाग्थ्यो । वास्तवमा त्यो त विज्ञापन मात्र रहेछ । न अहिले हिकोला स्टुडियो छ, न त विज्ञापन । 

हुनत देउसीभैलो गीतमा अनेक रङहरू थपिएका छन् । पप, शास्त्रीय तथा लोक धूनहरूले यसलाई सजाइएको छ । चिसो बियर र गाँजा पनि मिसाइएकै छ । (हुनत गाँजा र जाँड खाएर देउसीभैलो खेल्ने मानिस यो देशमा नभएका होनन्, तर गीत गाउँदा दुर्गेश थापासित पुलिस रिसायो ।)

‘भन मेरा भाइ हो, भन्दिनँ’ भनेर पनि तिहारको गीत हिट भएकै छ । तर, देउसीभैलो लोकगीत भएकाले यसको मिठास पनि लोकशैलीमा नै छ ।  

शरद् ऋतु चाडपर्वको मौसम हो । दसैँ, तिहार, छठ, न्वागी, म्हः पूजा जस्ता विशिष्ट र लोकप्रिय पर्वहरू यसै मौसममा पर्छन् । त्यसमा पनि नेपाल संवत्को नयाँ वर्ष यही समयमा आउँछ । नयाँ वर्ष भनेको पात्रो फेरिनु मात्र नभएर प्रकृति फेरिनु या प्रकृतिमा उल्लास थपिनु पनि हो ।

परापूर्वकालदेखि नै हाम्रो भूखण्डका मानिसले २ किसिमका उत्सव मनाउँदै आएका पाइन्छ- शरद् उत्सव र वसन्त उत्सव । प्रकृति र वातावरणमा देखिने विशिष्ट परिवर्तन, मधुर अनुभूति, उल्लासमय पर्यावरणका कारण यी २ बेलालाई मानिसले उत्सवका रूपमा ग्रहण गरेका हुन् । त्यस कारण असोज-कात्तिक पर्वमय समय हो । 

बलि राजा को हुन् त आखिर ? उनले किन पठाए त माग्न ? बलि राजा भन्नेबित्तिकै पुराणको बलि राजालाई सम्झिने हो, जो अत्यन्त दानवीर थिए । उनको जन्म असुरकुलमा भएको थियो । उनको दानशीलताका प्रतापले इन्द्रको आसन नै डगमगाउन थाल्यो । त्यसबाट त्रस्त भएका इन्द्रादि देवताले भगवान् विष्णुको प्रार्थना गरे । देवताको स्तुतिबाट प्रसन्न भएका विष्णुले वामन अवतार धारण गरी बलि राजासित ३ पाउ जमिन मागे ।

नेपाली समाज दसैँलाई बिदा गरेर तिहार मनाउने तयारीमा लागेको छ । हुनत यसलाई यमपञ्चक वा दीपावली पनि भनेर पुकार्ने गरिन्छ तर तिहार भन्नुमा जस्तो व्यापकता र अपनत्वको अनुभूति बाँकीमा पाइँदैन । दीपावलीमा काग तिहार, गाई तिहार जस्ता पर्व नअटाउन पनि सक्छन् । त्यस कारण हामीलाई बानी परेको शब्द तिहार नै हो ।

तिहार ५ दिनसम्म मनाइने लामो पर्व भएका कारण यसका सबै पक्षका  बारेमा लेख्न थाल्ने हो भने निकै मिहिनेत गर्नुपर्ने हुन्छ र त्यसले ठूलै अनुसन्धानको माग पनि गर्छ । यस सानो आलेखमा तिहारको एउटा महत्त्वपूर्ण पक्ष देउसीभैलोका विषयमा केही कुरा गर्ने जमर्काे गरिन्छ । 

देउसीभैलो तिहारका अवसरमा गाइने आशीर्वादात्मक लोक अथवा सांस्कृतिक गीत हो । परंपरागत देउसी तथा भैलो गीतमा ७ अक्षरको बालोरी छन्द नै विशेषतः प्रयोग भएको पाइन्छ । लक्ष्मीपूजाका दिन बेलुका भैलो खेल्ने र गोरु तिहारका दिन बेलुका देउसी खेल्ने हाम्रो परंपरा हो । त्यसमा पनि नारीहरूले भैलो खेल्ने र पुरुषहरूले देउसिरे खेल्ने परंपरा देखिन्छ । त्यसैले भैलो खेल्नेलाई भैलिनी र देउसिरे खेल्नेलाई देउसे नाम दिइएको हो ।

तिहारमा देउसीभैलो खेलेर नगद, जिन्सी जम्मा गर्ने कुरामा नारी, पुरुषलाई समान अधिकार जिम्मेवारी दिइएको छ । 

देवश्रीबाट देउसीरे शब्द बनेको हो भन्ने कुरालाई नेपाली बृहत् शब्दकोशले स्पष्ट पारेको छ । देव शिर (देवतालाई शिर चढाउने वा निहुर्‍याउने प्रसंगमा)बाट देउसिर भएको र  त्यसैलाई लर्काएर गाउँदा देउसिरे भएको तर्क ‘भौज्याहा’ नामक कृतिमा चन्द्रप्रकाश बानियाँले अघि सारेका छन् ।

कसैकसैले देउसिरे नभनेर देउसी मात्र भनेको पनि सुनिन्छ । जे होस्, देवतालाई साक्षी राखेर अन्न, पैसा दान माग्ने प्रचलन देउसीसित जोडिएको छ । संस्कृतको भद्र शब्दबाटै भैलो शब्द विकास भएको तथ्यलाई शब्दकोशले अघि सारेको छ । भद्रबाट भैलो बन्न सक्ने ध्वनि वैज्ञानिक सम्भावनाहरू पनि छन् । जे होस्, सुदूर तथा मध्यपश्चिममा प्रचलित फाग, मागल जस्तै भैलो पनि एउटा मंगलगीत हो, जसमा घर, परिवार, गाउँ, समाजको भद्र अथवा भलोको कामना गरिएको हुन्छ । 

देउसीभैलोसित जोेडिएको अर्काे पक्ष दान हो । दानलाई महत्त्व नदिने मानव समुदाय वा सभ्यता यो धर्तीमा छैन । जुनसुकै धर्म, संस्कृतिमा दानलाई पवित्र कर्मको रूपमा व्याख्या गरिएको छ । ईश्वरको पूजाको उत्कृष्ट रूप मानेर प्रशंसा गरिएको छ । दान मानवभित्रको संवेदनालाई जिउँदो बनाई राख्ने आत्मिक सन्तुष्टिको अचुक उपाय हो ।

सत्पत्र विचार गरेर गरिएको दान सर्वदा प्रशंसनीय हुन्छ । दानको यही शाश्वत सिद्धान्तलाई देउसीभैलोले पनि निरन्तरता दिएको छ । कात्तिकको मानो भनेर श्रद्धापूर्वक देउसेलाई नाङ्लामा बत्ती बाली, चामल आदि घरमा भएको अन्न, फलफूल तथा पाकेका मिष्ठान्न दान गर्ने परंपरा देखिन्छ । दान दिने मान्छेलाई दान दिनुपर्छ भन्ने मात्र मतलब हुन्छ । यो दान लगेर के गर्छन् ? त्यसै फाल्छन् कि ? बेचेर खान्छन् कि ? जस्ता कुराको मतलब हुँदैन किनभने देउसीभैलो खेलेर आएको अन्न, पैसा कसैले पनि व्यक्तिगत रूपमा खर्च गर्दैन ।

त्यसलाई आपसी सद्भाव तथा भाइचारा बढ्ने खालको सामाजिक कार्यमा खर्च गर्ने परंपरा छ किनकि यसको थालनी नै कुनै असल मनशायबाट भएको हुनुपर्छ । देउसीभैलो सामूहिक कार्यक्रम भएकाले यसको आम्दानी पनि सामूहिक नै हुन्छ र लगानी पनि सामूहिक तथा सामाजिक नै हुन्छ । यसरी देउसीभैलोले मानिसलाई सामाजिक ऐक्यबद्धताको एक सूत्रमा बाँधेको छ । बिस्तारै यो बालबालिकाको मनोरन्जनका रूपमा सीमित हुने हो कि भन्ने डर छ तर बालक, वृद्ध, युवा, महिला सबैले देउसीभैलो खेल्ने परंपरा रहेको तथ्यलाई हामी कसैले पनि बिर्सिनुहुँदैन ।

देउसीभैलोमा एउटा तुक्का अतिप्रचलित छ र त्यसैमा यसको ऐतिहासिकता पनि समाविष्ट छ । त्यो तुक्का हो- ‘हामी त्यसै आएनौँ, बलि राजाले पठा’को ।’

यहाँ स्मरण गरिएका बलि राजा को हुन् त आखिर ? उनले किन पठाए त माग्न ? बलि राजा भन्नेबित्तिकै पुराणको बलि राजालाई सम्झिने हो, जो अत्यन्त दानवीर थिए । उनको जन्म असुरकुलमा भएको थियो । उनको दानशीलताका प्रतापले इन्द्रको आसन नै डगमगाउन थाल्यो । त्यसबाट त्रस्त भएका इन्द्रादि देवताले भगवान् विष्णुको प्रार्थना गरे । देवताको स्तुतिबाट प्रसन्न भएका विष्णुले वामन अवतार धारण गरी बलि राजासित ३ पाउ जमिन मागे ।

वामनले एक पाउ धर्तीमा टेके, अर्काे पाउ आकाशमा टेके । त्यसपछि पाउ सार्नका लागि ठाउँ भएन । बलि राजाले आफ्नो थाप्लो नै अघि सारे । यसरी दानशीलताले नै संसार जित्न तम्सेका बलि राजाको अहंकार धुलो भयो ।

अब तिनै बलि राजाले देउसेभैलेलाई माग्न पठाएका हुन् त ? उनी त दान लिन होइन, दिन कहलिएका राजा हुन् । त्यस कारण उनले माग्न पठाएनन् होला । बलि राजा यस्ता दानी थिए भनेर उनको कीर्तिगान गर्दै अरूलाई पनि दानका लागि उत्प्रेरित गर्नका लागि यस्तो परंपरा सुरु भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।  

पुराणको यो प्रसंग अत्यन्त पुरानो हो । जहाँजहाँ बलि राजा र वामनको कथाले महत्त्व राख्छ, ती सबै क्षेत्रमा देउसीभैलो खेल्ने परंपरा छैन । नेपालकै मधेसी समुदायमा देउसीभैलो खेल्ने प्रचलन देखिँदैन भने भारतीय हिन्दु समाजमा पनि देउसीभैलोको परंपरा छैन । त्यस कारण देउसीभैलो नेपालको पहाडी हिन्दु समाजको मौलिक संस्कृति हो र यसको ऐतिहासिकता पनि यहीँ खोज्नु उपयुक्त हुन्छ । 

यस सन्दर्भमा चन्द्रप्रकाश बानियाँको निबन्धले पनि केही रोचक तथ्य उजागर गरेको छ । उनको ‘भौज्याहा’ निबन्धसंग्रहभित्र रहेको ‘द्यौसीभैलो’ शीर्षकको निबन्धको सारांश यस्तो छ- बाह्रौँ शताब्दीतिर खस राजा नागराजले स्थापना गरेको खस साम्राज्य २ शताब्दीभन्दा बढी नटिकी तितरबितर भयो । त्यसपछि बाइसे र चौबिसे राज्य बन्ने क्रम सुरु भयो । यसै सिलसिलामा जुम्लामा मल्ल राजवंशका छोरीज्वाइँ बलिराज रावल राजा भए । उनी योग्य तथा कुशल शासक भएका कारण पुरानो सिन्जा साम्राज्यको स्वाभिमान, गौरव र प्रतिष्ठालाई ब्युँताउनका लागि विभिन्न सुधारका योजनाहरू सुरु गराए । त्यसैले उनलाई जुम्ला राज्यका प्रथम राज भनिन्छ । उनले आरम्भ गरेका विभिन्न कार्यमध्ये द्यौसीभैलो पनि एउटा सांस्कृतिक प्रयास हो । राज्यको अर्थतन्त्र बलियो बनाउनका लागि उनले नै किसानले अन्न बाली भित्र्याउने समयमा माग्ने प्रचलन बसालेका हुन् । कालान्तरमा यही प्रचलनले सांस्कृतिको स्वरूप लिएको हो । 

अझ बानियाँले मगर राजा बलिहाङलाई पनि यस सन्दर्भमा जोडेका छन् । उनको जोड द्यौसीभैलो आर्य परंपरा नभएर खस परंपरा हो भन्नेमा रहेको छ । तर, यो पुरानो सांस्कृतिक प्रचलन भएका कारण अनुसन्धान गर्दै जाँदा अरू तथ्य पनि प्रकाशमा आउलान् । 

तर्क र तथ्य जतिसुकै भए पनि देउसीभैलो नेपाली संस्कृति हो । नेपालमा खस र आर्य संस्कृतिको यसरी सम्मिश्रण भएको छ कि त्यसलाई छुट्याउन सकिँदैन । त्यसो गर्नु भयानक मूर्खता पनि हो । देउसीभैलो सामूहिक कार्यसम्पादन र दानको महत्त्वलाई अँगालेर विकास भएको लोकप्रिय संस्कृति हो । यसको जीवन्ततामै हामी जीवन्त हुन्छौँ ।