कर्णालीमा आलाेपालाे सरकार : १५ वैशाखपछि नेकपा एसका मुख्यमन्त्री

कर्णालीमा आलाेपालाे सरकार : १५ वैशाखपछि नेकपा एसका मुख्यमन्त्री

न्युज कारखाना  |  समाचार  |  कार्तिक २१, २०७८

कर्णाली प्रदेशमा आउँदाे १५ वैशाखपछि नेकपा (एकीकृत समाजवादी)ले सरकारकाे नेतृत्व गर्ने भएकाे छ । गत ३ वैशाखमा नेकपा (माओवादी केन्द्र)का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा तत्कालीन एमालेको माधव नेपाल खेमा (हाल एकिकृत समाजवादी), नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ११ बुँदे समझदारी भएको थियो । त्यस समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यही १५ कात्तिकमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत ३ वैशाखमा विश्वासको मत लिँदा २ वैशाखकाे राति तत्कालीन एमालेका ४ जना सांसदले फ्लोर क्रस गर्ने र ६/६ महिना ३ दल (माओवादी, कांग्रेस र नेकपा एस)ले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको उक्त बैठकमा सहभागी एक नेताले बताए ।

‘हामीले ६/६ महिना सरकारको नेतृत्व गर्ने समझदारी गरेका हौँ’, उनले भने, ‘त्यही समझदारीअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेर कांग्रेसबाट मुख्यमन्त्रीमा जीवनबहादुर शाही बनिसक्नुभएको छ । उहाँले १५ वैशाखपछि एकीकृत समाजवादीलाई नेतृत्व हस्तारन्तरण गर्नुहुन्छ ।’

मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा भएको ११ बुँदे सम्झौता अहिले कुनै पक्षले सार्वजनिक गरेका छैनन् । २ वैशाखमा गरिएका सम्झौताका विषयमा नाम नबताउने शर्तमा केही बुँदा सार्वजनिक गर्दै आएका छन् ।

मुख्यमन्त्री शाहीले १४ कात्तिकसम्म पनि कर्णाली प्रदेश सरकारको नेतृत्व नछाड्ने देखेपछि कांग्रेस निकट नेताहरूले ११ बुँदे सम्झौता भएको अभिव्यक्ति दिएका थिए । हालका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्झौताअनुसार माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पालना नगरे कर्णालीमा नयाँ कोर्सबाट काम गर्न तयार रहेको बताएका थिए । 

मुख्यमन्त्री शाहीले राजीनामा दिँदा आफूले गरेको सम्झौताको इमान्दार पालना गरेको बताएका थिए । त्यस बेला समझदारी गर्दा एमालेबाट फ्लोर क्रस गरेका सांसदहरूलाई उपनिर्वाचनमा लड्दा माओवादी केन्द्र र नेपाल कांग्रेसले उनी उपनिर्वाचन उठेका क्षेत्रमा आफ्ना उम्मेदवार नलडाउने पनि सम्झौता भएको र अहिले उपनिर्वाचन हुने अवस्थामा पनि नरहेको उनले जानकारी दिए ।

सम्झौताको इमान्दार पालना गरे आउँदो १५ वैशाखपछि कर्णालीमा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउनेछ । कर्णालीमा एकीकृत समाजवादीले मुगुका चन्द्रबहादुर शाहीलाई संसदीय दलको नेतामा चयन गरेको छ ।