टी- २० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी ४ मध्ये को बन्ला नयाँ कप्तान ?

टी- २० मा कप्तानका रूपमा कोहलीको अन्तिम खेल, यी ४ मध्ये को बन्ला नयाँ कप्तान ?

एजेन्सी  |  खेलकुद  |  कार्तिक २२, २०७८

आईसीसी टी- २० विश्वकप २०२१ भारतका लागि सुखद रहेन । आइतबार अफगानिस्तानमाथि न्युजिल्यान्डको जीतसँगै भारत टी- २० विश्वकपबाट बाहिरिएको छ । भारत र नामिबियाबीच आज साेमबार हुने खेल विराट कोहलीको टी- २० कप्तानको रूपमा अन्तिम खेल हुनेछ । 

कोहलीले यसअघि नै टी- २० विश्वकप २०२१ पछि टी- २० कप्तानबाट राजीनामा दिने घोषणा गरेका थिए । यस पटक भारत पहिलो पटक विश्वकप (टी–२० र वान डे)मा पाकिस्तानसँग पराजित भयो ।

कोहलीले आगामी दिनमा एक दिवसीय क्रिकेटको कप्तानी पनि गुमाउनुपर्ने हुन सक्छ । सन् २०२३ को एक दिवसीय विश्वकपलाई ध्यानमा राख्दै बीसीसीआईले टिम इण्डियाका लागि नयाँ कप्तानको खोजी गर्नेछ, जसले विश्वकप जित्न सक्छ । 

सन् २०२३ को एक दिवसीय विश्वकपमा कोहली ३४ वर्षका हुनेछन् । अब भारतको कप्तान को होला ? भन्ने जिज्ञासा बढेकाे छ । भारतीय मिडियाका अनुसार अब यी ४ खेलाडीमध्ये एक भारतको स्थायी कप्तान बन्न सक्नेछन् । 

१. रोहित शर्मा

भारतको नयाँ कप्तान बन्न रोहित शर्मा पहिलो रोजाइ हुनेछन् । शर्मालाई कप्तानको रूपमा ठूला प्रतियोगिता जित्ने माहिर मानिन्छ । शर्माको कप्तानीमा मुम्बई इन्डियन्सले पाँच पटक आईपीएलको उपाधि जितेको छ । 

शर्माले भारतका लागि स्ट्यान्डबाइ कप्तान रहँदा एसिया कप र निदाहास ट्रफी त्रिकोणात्मक सिरिज जस्ता ठूला प्रतियोगिताको ट्रफी जितेका छन् । शर्मा महेन्द्रसिंह धोनी जस्तै 'कुल' कप्तान मानिन्छन् ।

२. ऋषभ पन्त

ऋषभ पन्त भारतीय टिमको कप्तान बन्न सक्ने अर्का खेलाडी हुन् । पन्तले पछिल्ला केही महिनामा भारतका लागि उत्कृष्ट प्रदर्शन गरेका छन् । 

यही कारण ३ वटै प्रारूपमा उनको स्थान पक्का भएको छ । पन्तको दिमाग 'स्मार्ट' छ । पन्तमा कप्तान बन्ने सबै गुण छन् । पन्तले आईपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी गर्दा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

३. केएल राहुल

भारतलाई नयाँ कप्तान बनाउनु छ भने केएल राहुल विकल्प हुन् । उनले राम्रो प्रदर्शन गरेका छन् । इंग्ल्याण्डमा पनि उनको प्रदर्शन राम्रो थियो । 

उनले आईपीएलका साथै वान डे क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गरिरहेका छन् । अर्को टी- २० विश्वकप २०२२ अस्ट्रेलियामा हुनेछ, जुन कोभिड- १९ महामारीका कारण एक वर्षका लागि स्थगित भएको थियो । 

भारतले सन् २०२३ मा एक दिवसीय विश्वकप आयोजना गर्नेछ । यस्तो अवस्थामा राहुलसँग भारतको अर्को कप्तान बन्ने मौका छ । राहुल उत्कृष्ट कप्तान, उत्कृष्ट विकेट किपर र उत्कृष्ट ब्याट्सम्यान हुन् ।

४. श्रेयस अय्यर

मुम्बईका २६ वर्षीय ब्याट्सम्यान श्रेयस अय्यरले सन् २०१७ मा भारतीय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करियर सुरु गरेका थिए । कप्तानका बारेमा कुरा गर्दा अय्यरलाई आईपीएल २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल्स) टिमको कप्तानको रूपमा नियुक्त गरिएको थियो । 

यसपछि आईपीएल- २०२० मा दिल्ली क्यापिटल्सको टोलीले फाइनलसम्मको यात्रा तय गरेको थियो । अय्यरले भर्खरै अर्को सिजन दिल्ली क्यापिटल्स छाडेर लिलामीमा आफ्नो नाम दिने निर्णय गरेका छन् । 

अय्यरलाई लामो समयपछि अर्को नयाँ टोलीमा देख्न सकिन्छ । विशेषगरी धेरै टोलीले उनलाई आफ्नो कप्तान बनाउन चाहन्छन् । यो सूचीमा पहिलो नाम आरसीबीको छ । यस सन्दर्भमा उनी भारतीय टोलीको कप्तानीका प्रमुख दाबेदार हुन् भन्नु गलत हुनेछैन ।