इजलास फर्किए न्यायाधीश कुमार चुँडाल, बन्दीको रिटमा कारण देखाऊ आदेश

इजलास फर्किए न्यायाधीश कुमार चुँडाल, बन्दीको रिटमा कारण देखाऊ आदेश

न्युज कारखाना  |  समाचार  |  कार्तिक २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कारमा रहेका सर्वोच्च अदालतका न्यायाधीशमध्ये कुमार चुँडाल इजलास फर्किएका छन् । 

आफ्नालागि पेसी नतोक्ने पूर्वसहमतिविपरीत जबराले आफूसहितको इजलास तोकेको भन्दै अन्य न्यायाधीश इजलास गएका छैनन् । तर, चुँडालले भने एकल इजलासमा पेस भएको एउटा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरी आदेश जारी गरेका छन् । 

चुँडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक-एकवटा रिट पेसीमा थिए । २ मध्ये चुँडालले एक रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् । 

संयुक्त इजलासमा भएका न्यायाधीशहरू भने अहिलेसम्म इजलास नजाने अडानमै छन् । चुँडालले जिल्ला अदालत रूकुमपूर्वको आदेशको विपक्षमा दायर एउटा बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेका छन् । 

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए ।