सर्वोच्चका न्यायाधीश विभाजित भएका हुन् ? थप २ न्यायाधीश पनि फर्किए इजलास

सर्वोच्चका न्यायाधीश विभाजित भएका हुन् ? थप २ न्यायाधीश पनि फर्किए इजलास

न्युज कारखाना  |  समाचार  |  कार्तिक २२, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका ३ जना न्यायाधीश सोमबार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । 

बन्दी प्रत्यक्षीकरणको रिट मात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले आफ्नालागिसमेत इजलास तोकेपछि बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए । तर, न्यायाधीशहरू कुमार चुँडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी भएका छन् । 

ढुंगाना र रेग्मीले संयुक्त इजलासमा एउटा बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ थालेका छन् । यसअघि अर्का न्यायाधीश चुँडालले त्यस्तै प्रकृतिको रिटमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् । 

चुँडाल र अर्का न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा एक-एकवटा रिट पेसीमा थिए । २ मध्ये चुँडालले एक रिटमाथि सुनुवाइ गरी आदेश दिएका छन् भने श्रेष्ठ अहिलेसम्म इजलास गएका छैनन् । 

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रममा कनिष्ठतम् न्यायाधीशहरूका लागि इजलास गठन गरेका थिए । 

जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशलाई मुद्दा सुनुवाइ नछाड्न चर्को दबाब परिरहेको छ भने प्रधानन्यायाधीश आफूप्रति नरम देखिएका न्यायाधीशको इजलास तोकेर धमाधम मुद्दा सुनुवाइ अघि बढाउने रणनीतिमा छन् । उनको यही रणनीतिअनुसार सोमबारका लागि इजलास गठन भएका छन् ।