ओली-नेपाल पार्टी सम्बन्ध : ‘छुट्टिएको वर्षको रिस’

ओली-नेपाल पार्टी सम्बन्ध : ‘छुट्टिएको वर्षको रिस’

न्युज कारखाना  |  समाचार  |  कार्तिक २२, २०७८

एउटा लोकोक्ति छ- 'मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।' 

गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यति बेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।

नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गरेका नेता नेपाल यति बेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा । 

अभियान र चटारोका बीचमा यी २ नेता जब भाषणका लागि मंचमा पुग्छन्, एकअर्काविरुद्ध अभियोग र गालीमै आधा भाषण सक्छन् । 

पार्टी फुटेपछि (भदौ)यताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिस्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यी २ नेताको व्यक्तिकेन्द्रित झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ । 

बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौंमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एस)लाई 'ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी' भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे । 

विभाजनअघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको उक्त अभिव्यक्तिले एमाले र नेकपा(एस)को राजनीतिक वृत्तमा सनसनी मच्चायो । 

उक्त भाषणअघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् । नेकपा(एस)ले अलिखित निर्णय ने गर्‍यो- ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीतिअनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई नेकपा(एस)ले बहिष्कार नै गर्ने घोषणा गरेको छ । 

सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार आजको चियापान बहिष्कार गरिएको हो । 

गत १३ कात्तिकमा नेकपा (एस) मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो । 

एमाले प्रचार विभाग प्रमुख भट्टराई भने नेकपा(एस)का कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता, नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।