ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

न्युज कारखाना  |  समाचार  |  कार्तिक २४, २०७८

नेकपा एमालेकाे १०औँ महाधिवेशनका लागि प्रतिनिधि छनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । २ गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहले समेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबार भएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधि छनोट गर्न दबाब दिएका थिए । 

सचिवालय बैठकबाटै नेताहरूले गुटका मान्छे प्रतिनिधि लैजान खाेजेपछि निर्वाचनमा जान सदस्यहरूले जाेड दिएका हुन् । सचिवालय सदस्य मेगप्रसाद धमलाले करिब १०० जिल्ला सदस्यले ४ हजार हाराहारी संगठित सदस्यकाे प्रतिनिधित्व गर्न नसक्ने भएकाले निर्वाचनमा जान सुझाव दिएकाे बताए । 

एमालेमा २ गुटबीच टकराव छ । यसअघि ओली समूहका बालकृष्ण ढुंगेल, अम्बीर गुरुङ, नानीबाबु बुढाथाेकी, उत्तम राई, तीर्थ सुवेदी, केदारबाबु बस्नेत, शकुन्तला राजभण्डारीलगायतकाे एक समूह र यज्ञराज सुनुवार, किशाेर अधिकारी, हर्कबोल राई, सीताराम गुरुङ, मणिराज राईलगायतकाे अर्काे समूह बनेकाे छ । यी २ समूहबीच प्रतिनिधि काे पठाउने भन्ने सहमति नहुँदा चुनाव हुने देखिएकाे हाे । 

माओवादीबाट आएका बालकृष्ण ढुंगेलकाे समूह अम्बीर गुरुङसँग जाेडिएपछि साविक ओली गुट २ समूहमा छ । ढुंगेल समूह महाधिवेशन प्रतिनिधि २ जना पाउनुपर्ने अडानमा छ । ढुंगेलले सुरेश थापा र तारा कार्कीलाई सिफारिस गर्ने एक नेताले बताए । 

साविक ओली समूहमा लागेका जिल्ला अध्यक्ष माेहन श्रेष्ठ र सचिव शंकर कटवाल गुरुङ-ढुंगेल गठबन्धनपछि टाढिएका छन् भने यज्ञराज-किशाेर समूह नजिक रहेकाे बताइएकाे छ । प्रदेश सांसदसमेत रहेका गुरुङसँग संगठित सदस्यता र प्रतिनिधि छनोटकाे विषयमा अध्यक्ष श्रेष्ठकाे भनाभनकै तहमा विवाद भएकाे एक नेताले जानकारी दिए । 

पालिका अधिवेशनबाटै गुट, उपगुटकाे सिकार बनेकाे एमाले प्रतिनिधि छनोटमा २ समूहले नै उम्मेदवार उठाउने निश्चित छ । आआफ्नाे समूहकाे गृहकार्यमा नेताहरू जुटेका छन् । पालिका तहमा निर्वाचन हुने र त्यसकाे तयारी गर्न निर्वाचन समितिलाई जिम्मा दिइएकाे नेता सीताराम गुरुङले बताए । मनाेनयन दर्तापछि चुनाव हुने कि सहमतिमा चयन हुने टुंगो लाग्ने उनको भनाइ छ । 

जिल्लाबाट बढीमा समावेशीसमेत गरी ८ जना प्रतिनिधि छनोट हुनेछन् । सदस्यता अझै यकिन भइसकेकाे छैन । एमालेकाे १०औँ महाधिवेशन १०-१२ मंसिरमा चितवनमा हुँदै छ ।