प्रहरीसँगको झडपमा ५ जना अधिवक्ता घाइते

प्रहरीसँगको झडपमा ५ जना अधिवक्ता घाइते

न्युज कारखाना  |  समाचार  |  कार्तिक २५, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा ४ जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए । 

उनका अनुसार बारका महासचिव लीलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् । 

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वाेच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ । 

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वाेच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो । 

कार्यपालिकासँग भागबण्डा खोजेको लगायतको आरोप लगाउँदै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।