अस्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

अस्ट्रेलियाविरुद्ध इतिहास रच्ने दाउमा पाकिस्तान

एजेन्सी  |  खेलकुद  |  कार्तिक २५, २०७८

टी- २० विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार साँझ पाकिस्तान र अस्ट्रेलियाबीच हुँदै छ । बिहीबारको विजेता टोलीले फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्याण्ड यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

फाइनल खेल १४ नोभेम्बरमा हुनेछ । सन् २०१० मा वेस्टइण्डिजमा भएको टी- २० विश्वकपको सेमिफाइनलमा पनि यी २ टोलीबीच खेल भएको थियो । सुरुवातमा पाकिस्तानले दबदबा कायम राखे पनि अन्त्यमा पराजित भएको थियो । 

माइक हसीले अस्ट्रेलियालाई जीत दिलाउन अतुलनीय इनिङ्स खेलेर पाकिस्तानको लगातार दोस्रो टी- २० विश्वकप जित्ने सपना चक्नाचुर पारिदिएका थिए । अस्ट्रेलिया आईसीसी प्रतियोगिताको नकआउटमा पाकिस्तानसँग कहिल्यै हारेको छैन ।

यो कीर्तिमानलाई आरोन फिन्चले नेतृत्व गरिरहेको अस्ट्रेलियाले निरन्तरता दिन चाहन्छ । हुनत यस विश्वकपमा पाकिस्तानले धेरै पुराना कीर्तिमानलाई भंग गरेको छ । पकिस्तानले टी- २० विश्वकपमा पहिलो पटक भारतलाई हराएर इतिहाससमेत रचेको थियो ।

लयमा अस्ट्रेलिया

यस पटकको विश्वकपमा अस्ट्रेलिया लयमा छ । समूह चरणमा एक खेलमा पराजित भएको अस्ट्रेलियाले समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

फिन्च र डेभिड वार्नर यस विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन् । पाकिस्तानसँगको खेलमा पनि उनीहरू टिमका प्रमुख हिस्सा बन्नेछन् । मिचेल मार्सले पनि सुरुवाती खेलमा हार व्यहोरेपछि फर्ममा फर्किने संकेत देखाएका छन् ।  

तीव्र गतिका बलर मिचेल स्टार्कले पनि अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने लेग स्पिनर एडम जाम्पाले पनि बलियो प्रदर्शन गरिरहेका छन् ।

अपराजित पाकिस्तान

पाकिस्तान विगत डेढ दशकदेखि यूएईमा लगभग अपराजित छ । प्रतियोगितामा अहिलेसम्म कुनै खेल नहार्ने एक मात्र टोली हो, पाकिस्तान ।

अस्ट्रेलियालाई हराएर पाकिस्तान अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । तीव्र गतिका शाहिन शाह अफ्रिदीले बलर विपक्षी ब्याट्सम्यानको ब्याटिङलाई धरासायी बनाइरहेका छन् । उनले इनिङ्सको सुरुवात गरे भने हरिस रउफले रन बनाउन दिइरहेका छैनन् । 

ब्याटिङमा मोहम्मद रिजवान र बाबर आजम उत्कृष्ट लयमा छन् । शोएब मलिक र आसिफ अलीले इनिङ्सको प्रभावकारी अन्त्य गरिरहेका छन् । तर, शोएब मलिक र मोहम्मद रिजवान बिरामी भएको खबर छ ।