'जनताको मन जितेर आउनुहोस्, चाहेअनुसारको परिवर्तन गर्न सक्नुहुन्छ’

'जनताको मन जितेर आउनुहोस्, चाहेअनुसारको परिवर्तन गर्न सक्नुहुन्छ’

न्युज कारखाना  |  समाचार  |  कार्तिक २५, २०७८

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे ।

‘यो संविधान लरतरो रूपमा हटाउने कल्पनासमेत हुँदैन’, नेकपा एमालेका संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संविधान फेर्ने चासचुस चर्चा हुन थालेको छ, त्यस्तो चर्चाको कुनै तुक छैन ।’ नेम्वाङले नेपालको अहिलेको संविधानले व्यवस्था गरेको संघीय लाेकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पनि तलमाथि नहुने दाबी गरे । ‘कसैलाई केही भइहाल्छ भन्ने चिन्ता लागेको छ भने चिन्तामुक्त हुन आग्रह गर्छु’, नेम्वाङले भने ।

संविधानसभामा उपस्थित ३१ वटा दलबाट संविधान बनाउन अनेक अप्ठ्यारा झेलेको भए पनि संविधान संशोधनमार्फत यसलाई सबै दलले स्वीकार गरेको नेम्वाङको भनाइ छ । ‘हामीले निकै चुनौतीपूर्ण अवस्थामा संविधान बनायौ‌ँ, संविधानमा चुच्चे नक्सा राख्न दलहरू एक ढिक्का भए’, नेम्वाङले थपे, ‘अब नेपालका सबै दलले संविधानलाई स्वीकारेका छन् ।’

संविधानमा नै भएको व्यवस्थालाई टेकेर आवश्यक परिवर्तन गर्न सकिने उनको भनाइ छ । ‘तपाईं जनताको मन जितेर आउनुहोस्, चाहेअनुसारको परिवर्तन गर्न सक्नुहुन्छ’, नेम्वाङले भने, ‘अब परिवर्तनका लागि कुनै लडाइँ, आन्दोलन गरिराख्नुपर्दैन ।’

नेता नेम्वाङले जनतालाई समेत मन नपर्ने पार्टी र व्यक्ति परिवर्तन गर्न सुझाए । ‘व्यक्ति मनपर्दैन, व्यक्ति फेर्नुहोस्, पार्टी मनपर्दैन, पार्टी फेर्नुहोस्’, उनले थपे, ‘दलहरू बहीखाता बोकेर चाँडै तपाईंकहाँ आउँदै छन् ।’

नेम्वाङले जनताले दिने फैसलाले मुलुकलाई दिशा दिने बताए । उनले भने,  ‘अहिले केही अप्ठ्याराे भएको जस्तो लागेको होला, तपाईंको फैसलाले देशलाई निकास दिन्छ ।’