एमालेको दशौँ महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा

एमालेको दशौँ महाधिवेशनको लोगो सार्वजनिक : गैँडाको हातमा कम्युनिस्ट पार्टीको झण्डा

न्युज कारखाना  |  समाचार  |  कार्तिक २६, २०७८

आगामी १०-१२ मंसिरमा चितवनको नारायणगढमा हुने नेकपा एमाले दशौँ राष्ट्रिय महाधिवेशनको लोगो, नारा र जिंगल सार्वजनिक भएको छ । काठमाडौंमा आज आयोजित कार्यक्रममा महाधिवेशन प्रचारमा सहयोग गर्नेगरी लोगो, जिंगल र नारा सार्वजनिक गरिएको हो । 

कार्यक्रममा ‘नारायणगढ जाऔँ, महाधिवेशन सफल पारौँ' भन्ने जिंगल सार्वजनिक गरिएको छ । यस्तै, गैँडाले कम्युनिस्ट पार्टीको झण्डा बोकेको लोगो पनि सार्वजनिक भएको छ । कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनमा आउने सबै प्रतिनिधिका लागि बस्न आवश्यक होटल र खानपानको  व्यवस्था मिलाइसकेको बताए । उनले सो अवसरमा मौसम परिवर्तनका कारण अहिले गैँडाको बासस्थान जोखिममा रहेको र गैँडालाई पुनः जंगलमै फर्काउने सन्देशसहित सांकेतिक रूपमा गैँडालालाई समावेश गरेको बताए ।  

उनले प्रचारप्रसार समितिले आफ्नो कार्ययोजना बनाएर मूल व्यवस्थापन समितिसँग सहकार्य गरिरहेको पनि बताए । यस वर्षको महाधिवेशनमा कपडाको ब्यानार र कागजको पम्प्लेट नबनाउने घोषणा पनि गरे । महाधिवेशन प्रचारप्रसारका लागि सोसल मिडिया र पार्टीको वेबसाइट, पेजको प्रयोग गर्ने उनले जनाए । साथै, देशभर रहेका ठूला होर्डिङ बोर्डलाई पनि प्रयोग गरिनेछ । प्रचार प्रसारमा पार्टीका पूर्वअध्यक्ष र महासचिवहरूको भिडियोलाई पनि राखिने बताए ।

कार्यक्रममा पार्टीका प्रचार विभाग प्रमुख भट्टराईले ७५३ वटै स्थानीय तहमा प्रचारप्रसारका लागि गोष्ठी, सेमिनार आयोजना गरिने पनि जनाए । साथै, बुद्धिजीवी परिषद्को आयोजनामा प्रमुख शहरहरूमा छलफल पनि चलाइनेछ । अन्य कार्यक्रममा युवा संघ नेपालले देशभर ७ मंसिरमा मोटरसाइकल र्‍याली निकाल्ने र चितवन, वीरगंज काठमाडौंमा बढी प्रचारप्रसार गरिने जनाए । साथै, सम्पूर्ण राजमार्ग र शाखामार्गमा स्वागतद्वार तयार गरिने जनाए । कार्यक्रममा पार्टीका महासचिव ईश्वर पोखरेलले महाधिवेशमा देशभरबाट करिब ८ लाख पार्टी सदस्यबाट प्रतिनिधित्व गर्ने साथीहरूले सहभागिता जनाउने र नयाँ जिम्मेवार नेतृत्व चयन गर्ने बताए ।