कोप- २६ः जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

कोप- २६ः जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति

एजेन्सी  |  विदेश  |  कार्तिक २८, २०७८

जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरूबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप- २६ मा  नयाँ सहमति भएको हो ।

हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जनलाई अझै न्यून पार्ने र विकासोन्मुख देशमा जलवायुको प्रभाव कम गर्न सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ । 

तर, यो सहमति पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियमा सीमित पार्न भने पर्याप्त नभएको विज्ञहरू बताउँछन् ।  

यसअघि तयार पारिएको मस्यौदामा कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने उल्लेख थियो । तर, भारत र चीनसहित केही देशको विरोधका कारण  त्यसलाई सम्झौताबाट हटाइएको थियो । 

भारतका जलवायुमन्त्री भूपेन्द्र यादवले विकासोन्मुख देशहरूले ‘विकास र गरिबी निवारणका मुद्दा’ चलिरहेका बेला कोइला  विस्थापित गर्न नसक्ने बताएका थिए ।

विभिन्न देशका प्रतिनिधिहरूले असन्तुष्टि जनाएपछि कोइलालाई विस्थापित गर्ने भन्दा पनि त्यसलाई चरणबद्ध न्यून गर्ने सहमति भएकाे थियो । 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले विश्वले ग्लास्गोको कोप- २६ लाई ‘जलवायु परिवर्तनको अन्त्यको सुरुवात’को रूपमा हेर्ने आशा व्यक्त गरेका छन् । 

जलवायु परिवर्तनसम्बन्धी अमेरिकी प्रतिनिधि जोन केरीले ग्लास्गो सम्मेलनबाटै जलवायुसम्बन्धी सम्पूर्ण संकट अन्त्य नहुने बताएका छन् ।

यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘पृथ्वी कमजोर धागोमा झुन्डिएको’ भन्दै ‘हामीले अझै पनि जलवायु बिपद्को ढोका खोलिरहेको’ टिप्पणी गरेका छन् ।