रवीन्द्र मिश्रले गरे दरबार पार्टीसँग एकता

रवीन्द्र मिश्रले गरे दरबार पार्टीसँग एकता

न्युज कारखाना  |  समाचार  |  कार्तिक २८, २०७८

रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीबीच एकता हुने भएको छ । 

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीबीच एकीकरण हुने भएको हो । 

विवेकशील साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको उनले जानकारी दिए । प्रवक्ता पाठकका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने र रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् ।

मिश्र समूहप्रति असन्तुष्ट रहँदै आएका विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी एकताका बारेमा कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । तर, पार्टी प्रवक्ता पाठकले भने सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीसँग विवेकशील साझा पार्टी एकीकरण गर्ने दुई तिहाइ बहुमतले निर्णय भएको जानकारी दिँदै विज्ञप्ति जारी गरेका हुन् । 

प्रेस विज्ञप्ति

राष्ट्रिय राजनीतिमा रूपान्तरणकारी हस्तक्षेप गर्न सक्ने बृहत्तर वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबिच एकीकरण हुने भएको छ ।

विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई तिहाइ बहुमतका साथ एकताको सहमतिपत्रलाई अनुमोदन गरेको हो । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहनेछ । र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् ।

सिटिजन्स डिस्कसन फोरम बृहत्तर राजनीतिक शक्ति निर्माणका लागि गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो ।

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान’का लागि २०७१ सालमा भ्रष्टाचारविरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो ।

सिटिजन्स डिस्कसन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन् । यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहनेछ । एकीकरणपश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

सिटिजन्स डिस्कसन फोरमका संयोजक कर्णबहादुर शाही भन्छन्, 'विदेशीबाट परिचालित नभई नेपालीहरूबाटै स्वचालित राष्ट्रवादी शक्ति निर्माण नेपाली राजनीतिका लागि अत्यावश्यक भइसकेको छ । हामी त्यसैका लागि रूपान्तरणकारी नयाँ शक्ति निर्माणमा जुटेका हौँ । यो सुरुवात मात्र हो ।'

राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह 'सारथि' भन्छन्, ‘यो देशमा गत केही वर्षयता सङ्घीयता, धर्मनिरपेक्षता, जातीयता तथा क्षेत्रीयताको भावनालाई उक्साएर सामाजिक दरार तथा विखण्डन ल्याउने प्रयास भयो र त्यसले देशको स्वाधीनता र सार्वभौमिकतालाई क्षयीकृत गरेको छ । त्यसलाई रोक्न सम्पूर्ण देशभक्त शक्तिहरू एकत्र हुनै पर्ने अवस्था आएको छ ।’

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए । उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक संवृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन् ।

अध्यक्ष मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमतसंग्रहका लागि प्रस्ताव गरेको र विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको 'मार्ग परिवर्तनः विचारभन्दा माथि देश' दस्ताबेजलाई एकीकृत पार्टीले अंगीकार गर्दै अघि बढ्नेछ । एकता घोषणा छिटै एक सार्वजनिक समारोहका माझ गरिनेछ ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
मितिः २८ कात्तिक २०७८