वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीशले हेरे ४ मुद्दा

वकिल छल्दै अदालत छिरेका प्रधानन्यायाधीशले हेरे ४ मुद्दा

न्युज कारखाना  |  समाचार  |  कार्तिक २९, २०७८

कानुन व्यवसायीको अवरोध छल्दै अदालत प्रवेश गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो एकल इजलासबाट ४ वटा विवादमा सुनुवाइ गरेका छन् । 

नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग्दै सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि वैकल्पिक बाटो हुँदै अदालत प्रवेश गरेका उनले सोमबार पनि १० वटा इजलास गठन गरी २९८ वटा मुद्दाको पेसी तोकेका थिए । 

तर, असन्तुष्ट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइ गरेका छैनन् । नेपाल बारले असन्तुष्ट न्यायाधीशहरूलाई जबराले तोकेको इजलासमा नबस्न आग्रह गर्दै पत्राचार गरे पनि न्यायाधीशहरूले भने जबराले तोकेको इजलासमा बन्दी प्रत्यक्षीकरणका रिटमा भने सुनवाइ गरेका छन् । 

प्रधानन्यायाधीश जबराले सोमबार आफ्नो इजलासमा ५ वटा रिट सुनुवाइका लागि पेसी तोकेका थिए । तर, एउटा भने हेर्न नमिल्ने भएका कारण उनले सुनवाइ गरेनन् । बाँकी विवादमा भने उनले कैफियत प्रतिवेदन माग्ने र मिसिल झिकाउने आदेश जारी गरेका छन् ।