म्यान्मारको जुन्ता सरकारले सुकीविरुद्ध मुद्दा चलाउँदै

म्यान्मारको जुन्ता सरकारले सुकीविरुद्ध मुद्दा चलाउँदै

एजेन्सी  |  विदेश  |  मंसिर १, २०७८

म्यान्मारमा सेनाको सत्ताच्युतमा परेकी नेतृ आङ सान सुकीमाथि निर्वाचनमा धाँधली गरेको र दन्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको छ । सोही आरोपमा म्यानमारको जुन्ता सरकारले सुकी र सेनाले बर्खास्त गरेका राष्ट्रपतिसहित १६ जनाविरुद्ध मंगलबार मुद्दा लगाउने तयारी गरेको छ । 

फेब्रुबरीमा सेनाको कूपछि घरमै नजरबन्दमा रहेकी ७६ वर्षीय सुकी सार्वजनिक कार्यक्रममा देखिन छाडेकी छन् । तर, सेनाका प्रवत्ताले नजरबन्दमा रहेकी सुकीमाथि सरकारले राम्रो व्यवहार गरेको दाबी गरेका छन् । ‘घरमै नजरबन्दमा रहे पनि उनलाई आफ्ना मानिसहरूसँग भेटघाट गर्न दिएका छौँ’, प्रवक्ता जनरल जाउ मिन तुले भने ।

सुकीलाई सेनाले बोल्न नदिएको उनका वकिलले आरोप लगाउँदै आएका छन् । सुकीलाई भेट्न राष्ट्रसंघका अधिकारीले मागेको अनुमति सेनाले अस्वीकार गरेको छ । 

म्यान्मारमा भइरहेको मानवताविरुद्ध अपराध छानबिन गर्न सरकारले सेनाका अधिकारीहरूलाई पहुँच नदिएको राष्ट्रसंघले गुनासो गर्दै आएको छ ।

तर, सरकारले राष्ट्रसंघको माग आफूहरूलाई अस्वीकार्य भएको बताउँदै आएको छ । ‘कथित मानवताविरुद्धको अपराध अनुसन्धान गर्ने यो उपयुक्त समय होइन । उनीहरूका मागसँग हामी सहमत छैनौँ । म्यानमारबारे उनीहरूले दिएको सुझाव रचनात्मक छैन', प्रवत्ता तुले भने । राष्ट्रसंघले म्यानमारको सैन्य सरकारलाई मान्यता दिनुपर्ने उनको माग छ । 

गत वर्ष सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको सेनाको दाबी छ । निर्वाचनमा सुकीको पार्टीले ऐतिहासिक विजय प्राप्त गरेको थियो । 

निर्वाचन निष्पक्ष र धाँधलीरहित भएको निर्वाचन पर्यवेक्षकहरूले बताउँदै आएका छन् । सुकीमाथिको आरोप राजनीतिक दुराशयबाट प्रेरित रहेको उनीहरूले बताउँदै आएका छन् ।