यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

यी हुन् फिफा विश्वकपमा स्थान बनाएका र प्लेअफ खेल्ने राष्ट्र

न्युज कारखाना  |  खेलकुद  |  मंसिर १, २०७८

आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपका लागि १३ वटा राष्ट्रले स्थान सुरक्षित गरेका छन् । मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने २ टोली दक्षिण अमेरिकी छनोटको शीर्ष २ रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।  

युरोपेली छनोटको समूह ‘ए’बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ । 

यता, समूह ‘सी’मा स्विट्जरल्याण्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाएको छ । 

यस्तै, समूह ‘ई’बाट बेल्जियमले  स्थान बनाउँदा वेल्स र चेक रिपब्लिकले प्लेअफमार्फत विश्वकपमा स्थान बनाउने मौका पाएका छन् । 

यता, समूह ‘एफ’बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफ खेल्नेछ भने समूह ‘जी’बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ । 

यस्तै, समूह ‘एच’मा क्रोएसियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ । 

यता, समूह ‘आई’बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । 

यस्तै, समूह ‘जे’बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ । 

अब १० समूहका १० र २ नेसनल लिगका टोली गरी जम्मा १२ वटा टोलीले प्लेअफमार्फत विश्वकप खेल्ने मौका पाउनेछन् । 

यसबाट ३ वटा टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् । मार्चमा हुने प्लेअफको खेलमा १२ वटा टोलीलाई ३ समूहमा विभाजन गरिनेछ र त्यसको विजेताले विश्वकपमा स्थान बनाउनेछ । 

यता, एसिया र अमेरिकासहित अफ्रिकाको छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट भने ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् । 

विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र

बेल्जियम, क्रोएसिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विट्जरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक) 

प्लेअफ खेल्ने टोली

पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक