भीम रावलले आफ्ना पक्षका प्रतिनिधि छान्दै

भीम रावलले आफ्ना पक्षका प्रतिनिधि छान्दै

न्युज कारखाना  |  समाचार  |  मंसिर १, २०७८

कैलाली क्षेत्र नम्बर- २ मा नेकपा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचकाे विवादकै कारण कैलाली क्षेत्र नम्बर- २ मा मंगलबार एमालेले गरेकाे महधिवेशन प्रतिनिधि छनोट भीम रावल पक्षले अस्वीकार गरेकाे छ । रावल पक्षले भने बुधबार (आज) फेरि महाधिवेशन प्रतिनिधि छनोटका लागि भेला आह्वान गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाईंले सामाजिक संजालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनोट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेकाे सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् ।

मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएकाे उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्’, बजगाईंले भने, ‘त्यो भ्रम छर्ने काम मात्र हो, क्षेत्र नम्बर- २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्र हामीले महाधिवेशन प्रतिनिधि छनोट गर्दै छौँ ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनोट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार ९ जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेकाे बताए । उनले पार्टीका विरुद्ध गतिविधि गरेमा कारबाही गर्ने चेतावनीसमेत  दिएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन्, ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कहीँ कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रमबाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन् । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उद्देश्य हेरी उचित कारबाहीको विषय बनाउनेछ । र, त्यस्ता कार्यक्रममा भूलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरूलाई सुचित गरिन्छ ।'

उनले लेखेका छन्, 'अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उस्काहट, इगो र पार्टीको आन्तरिक जीवनलाई विरोधी शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चँदै दशौ‌ँ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौँ ।’

एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजनासमेत गरेको छ ।