नास्टसहित विभिन्न संस्थाको साझेदारीमा नेपालको दोस्रो भू-उपग्रह परियोजना सुरु

नास्टसहित विभिन्न संस्थाको साझेदारीमा नेपालको दोस्रो भू-उपग्रह परियोजना सुरु

न्युज कारखाना  |  ज्ञानविज्ञान  |  मंसिर ०२, २०७८

नेपालमा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा दोस्रो भूउपग्रह परियोजना सुरु गरिएको छ । 

पहिलो नेपाली भू-उपग्रह नेपाली स्याट- १ को सफलतापछि गत बुधबार काठमाडौं युनिभर्सिटी हाइस्कुल धुलिखेलमा आयोजित  एक कार्यक्रमबीच दोस्रो भूउपग्रह परियोजना शुभारम्भ गरिएको हो ।

यस परियोजनामा नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौं युनिभर्सिटी हाइस्कुलको संयुक्त साझेदारी रहेको छ ।

परियोजनाको प्रिन्सिपल इनभेस्टिगेटरका रूपमा नेपाली वैज्ञानिक डा. आभाष मास्के रहेका छन् । हाल बर्डस- ३, भूउपग्रह परियोजनाका प्रमुख रहेका मास्केले यसअघि नेपाली स्याट- १ नामक भूउपग्रह निर्माण टिमको नेतृत्व लिएका थिए । 

थाइल्याण्डको आर्थिक विकासका लागि अन्तरिक्ष प्राविधिक संस्था मिनी बर्ड्सको एउटा भाग रहेको यस परियोजनाअन्तर्गत थाइल्यान्डले ४ वटा, नेपालले एउटा भू-उपग्रह निर्माण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमार्फत् जनाइएको छ । यस भू-उपग्रहलाई प्राविधिक भाषामा ‘वानयुक्युबस्याट’ भनिन्छ ।

विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको यो परियोजना विश्वकै पहिलो भू-उपग्रह नक्षत्र परियोजना हुने उल्लेख गरिएको छ ।

अन्तरिक्ष भू-उपग्रह निर्माण गर्ने प्रयोगशाला ‘स्पेस सिस्टम ल्याबोरेटोरी’ काठमाडौं युनिभर्सिटी हाइस्कुल, चौकोट, काभ्रेमा रहेको छ । यस परियोजनामा काठमाडौं युनिभर्सिटी हाइस्कुलसहित काभ्रेकै सञ्जीवनी नमुना मावि, धुलिखेल, चैतन्य मावि बनेपा र आजाद मावि बनेपाका कक्षा ११ मा अध्ययनरत ९ जना विद्यार्थी संलग्न हुने विज्ञप्तिमार्फत् जानकारी दिइएको छ । काठमाडौं युनिभर्सिटी हाइस्कुलका ६ जना र अन्य स्कुलका एक-एक जना गरी कुल ९ जना विद्यार्थीको सहभागिता रहनेछ ।

यस परियोजनाको समयावधि सुरुदेखि प्रक्षेपण गर्ने बेलासम्म २ वर्षको हुनेछ । यो भूउपग्रह निर्माण भएपछि पृथ्वीबाट ४०० किलोमिटर दूरीमा पृथ्वीको कक्षमा परिक्रमा गराइनेछ । काठमाडौं युनिभर्सिटी हाइस्कुलमा रहेको यो अन्तरिक्ष प्रणाली प्रयोगशाला बनेपाले उपत्यकाका लागि विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानको आउटरिच केन्द्रका रूपमा काम गर्ने बताइएको छ ।

यस परियोजनामा डाँफे स्पेस मिसनअन्तर्गत प्रशिक्षित विद्यार्थीको समूहले उल्लिखित विद्यालयका विद्यार्थीलाई आवश्यक तालिम र प्रशिक्षण प्रदान गर्नेछ ।

नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले भू-उपग्रह निर्माण गर्न सक्छन् भन्ने तथ्य प्रमाणित गर्नु यस परियोजनाको उद्देश्य हो ।

यस परियोजनाको लक्ष्य हासिल गर्न काठमाडौं युनिभर्सिटी हाइस्कुलमा सुरु भइसकेको पहिलो चरणको भू-उपग्रह निर्माणसम्बन्धी बुटक्याम्प ३१ डिसेम्बर २०२१ सम्म चल्ने जनाइएको छ ।

पब्लिक-प्राइभेट पार्टनरसिप मोडलमा सुरु गरिएको  यस परियोजनाको मुख्य सहयोगीका रूपमा नेपाल सरकार रहनेछ भने अन्य आर्थिक सहयोग निजी संस्थाबाट संकलन गरिने विज्ञप्तिमा उल्लेख छ ।

यस परियोजनाको मुख्य सहयोगी संस्था अन्तरिक्ष प्रतिष्ठान नेपालले हालसम्म सानिमा बैंक, हिमालयन जनरल इन्स्योरेन्स, बैंक अफ काठमाडौं र गरिमा विकास बैंकबाट सहयोग पाइसकेको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाललाई डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र तथा न्याटकम र युनेस्कोको पनि सहयोग रहेको छ ।