'आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनुहुँदैन'

'आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनुहुँदैन'

न्युज कारखाना  |  समाचार  |  मंसिर ३, २०७८

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । 

कांग्रेसको १४औँ महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं.- ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । प्रदेशसभा ‘क’को अधिवेशन विशाल मिलन केन्द्र र प्रदेशसभा ‘ख’को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भइरहेको छ ।

सहमहामन्त्री महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भने, ‘यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भइरहेको छ तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसँग गर्नुपर्छ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरूलगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनुपर्छ ।’

उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रूपमा लिन आग्रह गरे । ‘निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरूबीच रहेको सद्भाव र एकता पूर्ववत् रहनुपर्छ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्छ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस्’, महतले भने ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदै छ । महाधिवेशनको क्रममा ६ मंसिरमा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदै छ । त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन १० मंसिर र प्रदेश अधिवेशन १६ र १७ मंसिरमा हुँदै छ ।