ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण ३ अंक, एपीएफ पराजित

ए डिभिजन लिग : ब्रिगेड ब्वाइजलाई महत्त्वपूर्ण ३ अंक, एपीएफ पराजित

न्युज कारखाना  |  खेलकुद  |  मंसिर ५, २०७८

रोमाञ्चक खेलमा विभागीय एपीएफ फुटबल क्लबलाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो खेलमा एपीएफलाई ३-२ गोलले पराजित गर्दै ब्रिगेडले महत्त्वपूर्ण ३ अंक जोडेको हो । 

ब्रिगेडका लागि दिनेश राईले २ तथा सुरज गुरुङले १ गोल गरे । एपीएफका लागि आशिष लामा र बिक्की तामाङले समान १-१ गोल फर्काए । 

यससँगै एपीएफका प्रशिक्षक कुमार थापाको ए डिभिजन लिगमा  प्रशिक्षक जिम्मेवारी सुखद् हुन सकेन । मनाङ-मर्स्याङ्दी क्लबबाट तीन पटक लिगको उपाधि दिलाएका थापाले पहिलो पटक ए डिभिजन लिग हारेका हुन् । 

खेलको १४औँ मिनेटमा ब्रिगेडका दिनेश राईले सुरुवाती अग्रता बनाए । उनले करिब ३५ यार्डबाट हानेको फ्री किक 'सेकेन्ड बारको टप कर्नर'मा सिधै लाग्न पुगेको थियो । 

स्पेनबाट व्यावसायिक फुटबल खेल्दै आएका आवास लामिछानेको उत्कृष्ट पासमा एपीएफका फरवार्ड आशिष लामाले १९औँ मिनेटमा १-१ को बराबरी गोल गरे । 

६५औँ मिनेटमा दिनेश राईले व्यक्तिगत दोस्रो तथा टोलीको लागि २-१ को अग्रता दिलाए । दिनेशले विदेशी खेलाडी ड्याडी जुनियरको पासमा सदुपयोग गरे । 

यसपछि रवि थिङको पासमा एपीएफका वैकल्पिक खेलाडी विक्की तामाङको खेलको ७७औँ मिनेटमा २-२ को बराबरी गोल गरे । 

खेलको ९० मिनेटपछि थपिएको समयमा सुरजले गोल गर्दै महत्त्वपूर्ण ३ अंक दिलाए । सुरजले वैकल्पिक भुवन बस्नेतको पासमा गोल गरेका थिए । 

यसअघि दुवै टोलीले केही गोल गर्ने अवसर बनाए तर दुवै टोलीले सदुपयोग भने गर्न सकेनन् । 

४४औँ मिनेटमा ब्रिगेडका कप्तान रोशन राना मगरले गरेको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो । 

४९ मिनेटमा एपीएफका आशिष लामाको प्रहार क्रसबारमा ठोक्किएर फर्किएको थियो ।

खेलको म्यान अफ दि म्याच ब्रिगेड ब्वाइज क्लबका कप्तान रोशन राना मगर भए । उनले १० हजार रुपैयाँ पाए । 

दिनको दोस्रो खेलमा मनाङ-मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौँ पटकको मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद् सुरुवात गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदीप कार्कीको कप्तानीमा छ । 

जावलाखेल मनाङलाई हराउँदै अप्रत्याशित नतिजा दिन चाहन्छ । 

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको  लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्नेछन् ।

शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाढे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो ।

यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले ।