एमाले महाधिवेशन: यसरी बन्यो साढे ३ लाखको गैँडाको मस्कट

एमाले महाधिवेशन: यसरी बन्यो साढे ३ लाखको गैँडाको मस्कट

न्युज कारखाना  |  समाचार  |  मंसिर ८, २०७८

१०-१२ मंसिरमा चितवनमा तय भएकाे नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनकाे लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिस्ट पार्टीको झण्डा बोकेको छ । 

एमालेले साढे ३ लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेकाे हाे ।

यसरी बनाइएको हो मस्कट

मूर्तिकारले विशेषगरी कास्टिङ र कार्भिङ गरेर २ किसिमले मूर्ति बनाउँछन् । कार्भिङमा काठ र ढुंगामा मूर्ति बनाइन्छ भने कास्टिङमा चाहिँ सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो । 

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमुना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छाैँ, कलाकारिताको काम यसमा हुन्छ । त्यसपछि अर्काे आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लास्टरको डाई बनायौँ । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रूप तयार भयो', उनले भने ।

तेस्रो चरणमा मात्र प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरीर जस्तो देखिने गरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ । 

आरामले बनाएको भए मस्कट बनाउन कम्तिमा २ महिना लाग्थ्यो । आकस्मिक रूपमा बनाउनुपरेकाले मूर्तिकारको टिमले दिनरात काम गरेर १० दिनमा तयार पारेको उनले बताए ।

‘दिनमा मात्र गरेर संभवै थिएन । ३ वटा टोली बनाएर १०औँ दिनमा मूर्ति तयार गरियो', उनले भने । ३ वटा टोली भएर १० जना मूर्तिकारले मस्कट तयार गरेका हुन् । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्यधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए । 

‘भारतबाट आयात हुने चिज हो । पहिला किलोको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले ४०० रुपैयाँसम्म परेको छ', उनले भने, ‘डेढ लाखजति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारको पारिश्रमिक पनि जोड्दा साढे ३ लाखभन्दा बढी लागत पुगेको छ ।’ मस्कट राख्नका लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ । 

भरतपुर महानगरपालिका- ९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रूपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो ।

विशेषगरी उनले गैँडालगायतका जंगली जनावर, बुद्ध र शहीदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवललगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् ।