'ओली छट्पटाएर अन्टसन्ट बोलिरहेका छन्'

'ओली छट्पटाएर अन्टसन्ट बोलिरहेका छन्'
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  मंसिर ८, २०७८

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् ।

बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा संचारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचरा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे । 

‘एमालेभन्दा हामी कमजोर छैनौँ, अहिले ७ मध्ये २ वटा प्रदेशमा हाम्राे पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाकाे बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ । राष्ट्रियसभाको उपनिर्वाचनमा बाग्मती प्रदेशमा खिमलाल देवकाेटालाई जिताएका छौँ’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओली छट्पटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलोजमा उत्रेका छन् तर हामी आफ्नो काममा मात्र केन्द्रित छौँ ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्राे रहेको भन्दै उनले भने, ‘म आफैँ मधेसमा जन्मेकाे हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौँ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे । 

संचारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात् यस विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’ पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो ।