आईपीएल अप्रिलदेखि, १० टोली सहभागी हुने

आईपीएल अप्रिलदेखि, १० टोली सहभागी हुने

न्युज कारखाना  |  खेलकुद  |  मंसिर ८, २०७८

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण २०२२ अप्रिलमा सुरु गर्ने योजना बनाएको छ । 

विश्व क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाइज प्रतियोगिताको खेल तालिका टुंगो नलागे पनि बीसीसीआईले मुख्य सरोकारवालालाई २ अप्रिलदेखि चेन्नईमा प्रतियोगिता सुरु गर्ने योजना जानकारी गराएको  छ । ८ वटा टोलीको सहभागितामा ६० खेल हुने गरेको  टी- २० प्रतियोगितामा आगामी १५औँ संस्करणदेखि १० वटा टोलीले ७४ खेलको प्रतिस्पर्धामा सहभागिता जनाउने पक्का भएको छ । बीसीसीआईले प्रतियोगिता २ महिनासम्म संचालन गर्ने योजनामा सरोकारवालासँग छलफल पनि सुरु गरिसकेको छ । ८ वटा टोलीले सहभागिता जनाउँदै आएकामा आगामी संस्करणदेखि गुजरातको अहमदावाद तथा उत्तर प्रदेशको लखनउबाट एक/एक टिम थप्ने निर्णय भइसकेको छ । प्रतियोगिताको समूह चरणमा सबै टिमले ७ होम र ७ अवे गरी कुल १४ खेल खेल्नेछन् ।

कोभिड- १९ महामारीका कारण आईपीएलको २०२० सिजन पूरै तथा २०२१ को आधा सिजन संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना गरिएको थियो ।