पृथ्वी छैटौँ महाप्रलय पर्खिरहेको छ तर कुन कारणले हुन्छ, अनुमान लगाउन सकिँदैन

पृथ्वी छैटौँ महाप्रलय पर्खिरहेको छ तर कुन कारणले हुन्छ, अनुमान लगाउन सकिँदैन

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  मंसिर १०, २०७८

आधुनिक विज्ञानलाई थाहा छ- पृथ्वीमा जीवनको सुरुवात भए यता एक लाख वर्षको अन्तरालमा हिमयुग आउँछ । यस हिमयुगमा पृथ्वीको दुई तिहाइभन्दा बढी जीवन समाप्त हुन्छ । हिमयुगको अवधि झण्डै ४० हजार वर्षसम्म रहन्छ । हामी जुन युगमा छौँ, त्यो पछिल्लो हिमयुगपछिको ११-१२ हजार वर्षको समय हो । आधुनिक सभ्यता यति नै पुरानो हो ।

पृथ्वीमा यदाकदा लाखौँ वर्ष पहिलाका केही साक्ष्य भेटिन्छन, ती भनेका हिमयुगभन्दा पहिलाको सभ्यताका चिह्न हुन् ।

यसैगरी वैज्ञानिकहरूका अनुसार पृथ्वीमा जीवनको सुरुवात भएयता ५ पटक महाप्रलय (mass extinction) का घटना भइसकेका छन । यस क्रममा आजभन्दा झण्डै ६.६ करोड वर्ष पहिला घटित महाप्रलय (Cretaceous-Paleogene extinction event)ले पृथ्वीको झण्डै ९० प्रतिशत जीवन सखाप पारेको थियो । भीमकाय डायनोसरको अन्त्यको घटना थियो यो महाप्रलय । आधुनिक मनुष्यको विकास यसै घटनापछि भएको विश्वास गर्छ आधुनिक विज्ञानले ।

वैज्ञानिक मान्यताअनुसार ६.६ करोड वर्ष पहिला पृथ्वीमा घटित भएको महाविनासको कारण पृथ्वी केन्द्रित नभएर अन्तरिक्ष केन्द्रित थियो । अर्थात् अन्तरिक्षबाट कुनै ऐस्टोरोइड अथवा कमेट खसेर पृथ्वीमा ठोक्किनाले महाविनासको घटना निम्तिएको थियो । १०-१५ किलोमिटर लामो कुनै पिण्ड खस्नाले तत्कालीन समयको क्रेटासिअस युग (Cretaceous  period)को अन्त्य भएर सेनोजोइक युग (Cenozoic Era)को प्रारम्भ भएको थियो । अहिलेसम्म यही युग चलिरहेको छ ।  

के हो ऐस्टोरोइड् ?

सौर्यमण्डलमा सूर्यलगायत बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण, बरुण ग्रहका अतिरिक्त अनेको वामन ग्रह (प्लेटो जस्तै) र तिनका उपग्रह छन् । यसैगरी मंगल र बृहस्पति ग्रहबीचको झण्डै ५५ करोड किलोमिटर (३.६८ एस्ट्रोनोमिकल युनिट)को आकाशमा लाखौँ ठूला साना पिण्ड छन् । खगोल विज्ञानको भाषामा यी पिण्डलाई ऐस्टोरोइड भनिन्छ । यी पिण्ड अथवा ऐस्टोरोइडको आकार केही मिटरदेखि एक हजार किलोमिटरसम्मको हुन सक्छ ।

विभिन्न ग्रहका झैँ यी एस्टोरोइडले पनि सूर्यको परिक्रमा गर्छन् । परिक्रमा गर्ने क्रममा यी पिण्ड पृथ्वीको नजिक भएर जान्छन् । औसतमा सूर्य र एस्टोरोइड बेल्टमा रहेका यी पिण्डको दूरी ४० करोड किलोमिटरभन्दा बढी हुन्छ । तर, सूर्यको परिक्रमा गर्ने क्रममा यी पिण्ड सूर्यको नजिक आइपुग्छन । कुनै पनि पिण्डले परिक्रमा गर्ने क्रममा पिण्ड र सूर्यबीचको दूरी १९ करोड किलोमिटर (१.३ ऐयुभन्दा कम) हुँदा यस्ता पिण्डलाई पृथ्वी नजिकको वस्तु 'निओ' (near-Earth objects) भनिन्छ । सूर्यको परिक्रमा गर्ने यस्ता 'निओ', जसले पृथ्वीको आर्बिटमा प्रवेश गर्छन् र तिनको आकार १४० मिटरभन्दा ठूलो हुन्छ भने खगोलविद्हरूले यस्ता पिण्डलाई अतिघातक 'फो' (potentially hazardous objects) वस्तु मान्छ ।

खगोलविद्हरूले यस्ता हजारौँ 'निओ' र 'फो' पिण्डबारे थाहा पाइसकेका छन् । यस्ता हजारौँ पिण्ड सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक आएर जान्छन् ।

अन्तरिक्षबाट खसेको कुनै पनि २ किलोमिटर आकारको पिण्ड पृथ्वीमा ठोक्किँदा १० लाख मेगाटन न्युक्लियर बमजति घातक हुन्छ । यसले पृथ्वीको अधिकांश जीवन समाप्त पार्न सक्छ । आधुनिक विज्ञान यस्ता 'निओ' र 'फो' पिण्डप्रति सतर्क हुँदै गएको छ । यसै क्रममा २४ नोभेम्बरका दिन नासाले एउटा महत्त्वपूर्ण काम गरेको छ ।

नासा र संसारका तमाम अन्तरिक्ष एजेन्सी पृथ्वीका लागि घातक हुन सक्ने एस्टोरोइडबाट पृथ्वीलाई सुरक्षित रखने उपायको खोजीमा छन् ।  यसै क्रममा नासाले २४ नोभेम्बरका दिन 'डार्ट मिसन' प्रक्षेपित गरेको छ ।

के हो डार्ट मिसन  ?

वैज्ञानिकहरूको अनुसन्धानमा यदि कुनै एस्टोरोइडलाई मानव निर्मित कुनै स्पेस क्राफ्टले धक्का दिने हो भने उसको 'डाइरेक्सन' अर्थात् परिक्रमा पथ परिवर्तित हुन्छ । यसै क्रममा थप परीक्षण र अनुसन्धान हेतु नासाले क्यालिफोर्नियाको 'वेंदनवर्ग स्पेस सेन्टर'बाट एउटा स्पेस क्राफ्ट प्रक्षेपण गरेको छ ।  यस मिसनको नाम डार्ट मिसन (डबल ऐस्टेरोइड रिडाइरेक्सन टेस्ट) रहेको छ ।

सन् २००३ मा पृथ्वी नजिक भएर एउटा एस्टोरोइड गएको थियो । यसको वैज्ञानिक नाम डिडिमोस (65803 Didymos) राखिएको छ । यस एस्टोरोइडको आफ्नो एउटा चन्द्रमा पनि छ । ८०० मिटर लामो यस पिण्डलाई झण्डै १६० मिटर लामो अर्को पिण्ड डिमोर्फस (Dimorphos)ले परिक्रमा गर्छ । खगोल विज्ञानको भाषामा यी दुबै एस्टोरोइड हुन् ।

नासाको डार्ट मिसनको उद्देश्य डिडिमोसको परिक्रमा गर्ने सानो पिण्ड डिमोर्फसलाई टक्कर दिनु हो । नासाले पठाएको स्पेस क्राफ्टका २  भाग रहेका छन् ।  स्पेस क्राफ्टको प्रमुख भाग २३ हजार किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिले डिफोर्मससँग ठोक्किन्छ । स्पेस क्राफ्टको अर्को सानो भाग ठक्कर हुनुभन्दा पहिला स्पेस क्राफ्टबाट बेग्लै हुन्छ । यस भागले ठक्कर हुँदाका फोटो लिनुका साथै अन्य डाटा एकत्रित गरेर पृथ्वीस्थित नियन्त्रण कक्षलाई पठाउँछ ।

नासाले प्रक्षेपण गरेको डार्ट मिसनको स्पेस क्राफ्ट सन् २०२२ को अन्त्यसम्ममा १६० मिटर लामो एस्टोरोइडसँग ठोकिन्छ । वैज्ञानिक अनुमान अनुसार स्पेस क्राफ्ट एस्टोरोइडसँग ठोक्किँदा यो पृथ्वीबाट झण्डै एक करोड किलोमिटरको दूरीमा हुनेछ ।

विज्ञानले अन्तरिक्षमा रहेका कुनै पनि पिण्डको दिशा तथा गति परिवर्तन गर्ने हेतु गरिएको यो पहिलो प्रयास हो । स्पेस क्राफ्टको ठक्करले डिमोर्फसको गति तथा दिशामा के कति परिवर्तन आउँछ, यो डाटा प्राप्त भएपछि वैज्ञानिकहरूलाई 'निओ' र 'फो'
(पृथ्वीका लागि घातक हुन सक्ने वस्तु) पिण्डहरूसँग सुरक्षाको उपाय गर्नेबारे थप जानकारी प्राप्त हुन्छ ।

उपलब्ध जानकारीअनुसार १६० मिटर लामो डिमोर्फसले ८०० मिटर लामो डिडिमोसको परिक्रमा ११.९ घण्टामा पूरा गर्छ । डिडिमोस एस्टोरोइडले भने सूर्यको परिक्रमा एकदेखि २.३ ऐयु टाढाबाट ७७० दिनमा पूरा गर्छ । नोभेम्बर २००३ मा सूर्यको परिक्रमा गर्ने क्रममा यो पृथ्वीको ७० लाख किलोमिटर नजिक भएर गएको थियो । आउँदो सन् २१२३ मा यो पुनः पृथ्वीदेखि ५९ लाख किलोमिटर नजिक भएर जान्छ ।

मंगल र बृहस्पति ग्रहको बीचमा रहेका लाखौँ ठूला-साना एस्टोरोइड पृथ्वीका लागि सधैँ ठूलो खतराका रूपमा रहेका छन् । २.३ किलोमिटर आकारको एस्टोरोइड खस्नाले नै पृथ्वीमा जीवनको रामनाम सत्य हुन्छ । हुनत प्राकृतिक रूपमा बृहस्पति ग्रहको गुरुत्वाकर्षण पृथ्वीभन्दा २.४ गुणा बढी भएकाले अधिकांश एस्टोरोइड बृहस्पतिको सतहमै खस्छन् । तर, सूर्यको परिक्रमा गर्ने क्रममा मंगल, पृथ्वी अथवा चन्द्रमाको नजिक आउँदा यिनको गुरुत्वाकर्षणले तानिएर एस्टोरोइड मंगल, चन्द्रमा र पृथ्वीमा पनि बजारिने गर्छन् । पृथ्वीबाहेक अन्य कतै जीवन छैन । पृथ्वीमा चन्द्रमा र मंगल जस्तै एस्टोरोइड खस्ने हो भने जीवनको कल्पना नगरे हुन्छ ।

पृथ्वी छैटौँ महाप्रलय पर्खिरहेको छ । यो महाप्रलय कुन कारणले हुन्छ, त्यसबारे अनुमान लाउन सकिँदैन । हो, एउटा ज्ञात कारण कुनै ठूलो एस्टोरोइड खस्नाले हुन सक्छ । वैज्ञानिक अन्तरिक्षबाट आउन सक्ने महाप्रलयको रोकथामका लागि चिन्तित एवं त्यसलाई रोक्न प्रयत्नशील छन् । डार्ट मिसन यसकै पूर्वअभ्यास हो । यस मिसनबाट प्राप्त डाटाले भविष्यमा पृथ्वी नजिक आउने अथवा पृथ्वीका लागि खतरा हुन सक्ने एस्टोरोइडलाई मानव निर्मित स्पेस क्राफ्टले ठक्कर दिई उनको दिशा परिवर्तन गर्ने अथवा एस्टोरोइडलाई हजारौँ सानासाना टुक्रामा विभाजित गरी पृथ्वीलाई मानवीय प्रयासबाट सुरक्षित राख्ने चेष्टा गर्न सकिन्छ ।

नासाले प्रक्षेपण गरेको डार्ट मिसनको स्पेस क्राफ्ट सन् २०२२ को अन्त्यसम्ममा १६० मिटर लामो एस्टोरोइडसँग ठोकिन्छ । वैज्ञानिक अनुमान अनुसार स्पेस क्राफ्ट एस्टोरोइडसँग ठोक्किँदा यो पृथ्वीबाट झण्डै एक करोड किलोमिटरको दूरीमा हुनेछ ।