अतीतसँगको साक्षात्कार : तस्बीरहरू साक्षी हुनेरहेछन्, झन् ४ पुस्ताको सँगै तस्बीर भए त...
फर्कलान् र ती दिनहरू
मंसिर ११, २०७८

समय त जसरी पनि बितिरहन्छ अनवरत । एउटा भनाइ कतै सुनेको थिएँ, 'दिन र रात गरी जहिले पनि समय त २४ घण्टा नै हुन्छ, त्यसलाई आफ्नो उद्देश्यमा जसले प्रयोग गर्न सक्छ, उसैले समयलाई आफ्नो मुठीमा कसेर राखेको हुन्छ, समयलाई आफूले चाहेको जस्तो गरेर प्रयोग गरिरहेको हुन्छ ।'

हाम्रो अतीत पनि त्यस्ता धेरै समयको व्यतीत भइसकेको स्मृत विस्मृत पुञ्ज हो, जसलाई सम्झना हुन्छ, त्यसैको सम्पत्ति हो । कुनै अतीत नितान्त व्यक्तिगत हुन्छन्, जस्तो कि मेरी नातिनी विश्रुता जन्मेर टुकुटुकु हिँड्ने भइसकेकी थिई, मेरी आमाका लागि त्यो पनातिनीलाई काखमा लिन पनि ठूलो रहर थियो किनभने उहाँको पुस्तौँ पुस्तासम्म उहाँलाई अमर बनाउने सन्ततितन्तुका लागि त्यो बच्ची पछिल्ली अनवरत नियमित आकस्मिकता थिई । पहिली चौथो पुस्ताकी सन्तान थिई ।

पनातिनी जन्मँदा उहाँ अमेरिकाको सियाटल शहरमा हुनुहुन्थ्यो । मेरी कान्छी बहिनी जगदम्बाले आमालाई उतै बोलाएकी थिई र आमा उतै हुँदा नै उहाँकी पनातिनी काठमाडौंमा जन्मिएकी थिई । जब आमाले आफ्नी पहिली चौथो पुस्ताकी सन्तान जन्मेकी सुन्नुभयो, उहाँलाई त्यो सन्तानलाई काखमा लिने धोको यति प्रबल भयो कि तत्कालै नेपाल जानका लागि बहिनीलाई ढिपी गर्न थाल्नुभएछ । र, केही समयपछि नै आमा नेपाल आउनु पनि भयो ।

यति हतार लगाउनुभयो कि मेरो सोमनाथ घिमिरे भन्ने विद्यार्थीसँगै आउनुभयो । किन रे भने, छिटै पनातिनीको मुख हेर्ने र कम्तीमा पनि माताका रूपमा आफूलाई यो संसारमा सदाका लागि अमर बनाउने पहिलो सन्तानलाई काखमा लिएर च्वाप्प म्वाइँ खाने रहर । बा र आमाको पहिलो सन्तान म, मेरो पहिलो मेरो छोरो सिद्धिविनोद अनि सिद्धिकी सन्तान र आमाकी पहिलो पनातिनी विश्रुता । 

उहाँका लागि त्यो अनुपम उपहार थियो विधाताको भन्नुहुन्थ्यो बारम्बार । उसले मेरी आमालाई भन्थी, 'आमाआमा' या बच्चीको भाषामा 'आमामा ।' उसलाई काखमा लिएको बेलामा उहाँको उच्च रक्तचाप र मधुमेह रोगले जीर्ण भएको शरीर पनि फुर्तिलो देखिन्थ्यो र उसमा उहाँले आफ्नो प्रतिबिम्ब देख्नुहुन्थ्यो । उसले पनि पछि बच्चा पाएर सन्ततितन्तुको नियमित सृष्टि प्रवाह गरेको कल्पनामा यसरी हराउनुहुन्थ्यो कि सानी पनातिनीमा मेरो बाल्यकालसँग तुलना गर्न थाल्नुहुन्थ्यो । पनातिनी यति राम्री लाग्थी उहाँलाई कि ..., अतुल्य । अनि, ऊ बिस्तारै हुर्कंदै जाँदै गर्दा ४ वर्ष नपुग्दै नै उहाँले उसलाई पनि र हामीलाई पनि छाडेर परमधाम जानुभयो ।

उहाँकी पनातिनी, हाम्री नातिनीलाई लाग्थ्यो, हाम्रा काखहरू उसैका मात्र हुन् । कहिलेकाहीँ म उसलाई चिढ्याउन र आफ्नो बालापनमा बसेको सबैभन्दा सुरक्षित ठाउँ र प्यारो काखको मायाले पनि होला, यसो सुतेको जस्तो गर्दा पनि उसले रिसाउँदै मेरो कपाल समाएर हुत्याउँदा जुन मायाको झझल्को मैले पाएको थिएँ, अब त्यो समय म स्मृतिमा मात्र पाउँछु । त्यो आमाको काख कहाँ पाउनु र ? अनि, त्यो ४ पुस्ताको संगमको स्वर्णिम अवस्था ।

त्यो बेलाको आमासहितको हाम्रो परिवारको तस्बीर कतै होला- आमा, नातिनी र म । आमाको आँखामा पनातिनीप्रतिको माया भनेको मप्रतिको, नातिप्रतिको मायाको वेग थियो र थियो आफ्नो सन्ततिको निरन्तरता । हुनत आमाका हामी ७ जना सन्तान थियौँ, अरू ४ जना कहिल्यै नआउने बाटो पहिले नै गएका थिए । उहाँँको देहावसान हुनुभन्दा एक वर्ष पहिले मेरो माहिलो भाइ हिमालयको पनि सडक दुर्घटनामा अकाल मृत्यु भएको थियो । त्यो चोट सहन सक्नुभएन र उहाँ एक वर्षभित्रै परमधाम जानुभयो ।

हुनत कालका लागि आधार त हृदयघात थियो, मधुमेह थियो तर खासमा भाइको सडक दुर्घटनामा भएको मृत्यु नै असह्य वेदनाको कारण भएको मान्नै पर्छ । समयको त्यो प्रवाह बगेर गयो तर स्मृतिमा सधैँ रहने रहेछ । यी व्यक्तिगत सम्झनाको स्रोत आफैँ मात्र होइने रहेछ । यी कुराहरू सम्झेर मन झन् बोझिलो हुन्छ तर विस्मृतिमा जान लागेका कुराहरूले विगतलाई सम्झाउँदा रहेछन् ।

समय त्यसैले विगत, वर्तमान र आगत सबै हो । ती कुराहरूको ताजा सम्झना गराउनका लागि यदि तस्बीरहरू छन् भने तिनले विगतलाई, इतिहासलाई ताजा गराउने रहेछन् । मसँग त्यस्ता धेरै यादहरू छन् । हुने नै भए । 

मेरो स्मृतिमा अर्को पनि तस्बीर छ, २०३५ साल फागुनतिरको । बा र आमाको पहिलो फोटो । अनि, अर्को फोटो छ हाम्रो, जसमा मेरा बा, आमा, म, मेरो माहिलो भाइ हिमालय, मेरा मावलक हजुरआमा र मेरो छोरो सिद्धिको फोटो छ । मेरी सानिमा बस्ना कोइरालाले कविताको सँगालो प्रकाशन गर्दा आफ्नी आमालाई समर्पण गर्न खोज्दा अरु फोटो नपाएर त्यही फोटोबाट हजुरआमाको मात्र फोटो निकालियो र पुस्तकमा राखियो । फोटो त चाहिएको जस्तो मिलाउन सकियो तर त्यो समय ? त्यो संगम ?

पहिलो फोटो खिच्दाको त्यो बेला मैले बालाई फकाउनुपरेको थियो डिल्लीबजारको प्रकाश स्टुडियोमा लैजान पनि । बा बुझ्ने मान्छे हुनुहुन्थयो र पनि त्यो बेलासम्ममा कुनै फोटो खिच्नुभएको थिएन । उहाँका विचारमा फोटो किन खिच्ने र ? भन्ने थियो होला । आमाको त फोटो जनकपुरमा पनि खिचेको रहेछ, शम्भु सानो हुँदा । मलाई त्यो फोटोको सम्झना त छ तर अहिले हामीसँग त्यो फोटो छैन । त्यसमा मेरो सानो मामा (कृष्ण), हजुरआमा, आमा, काखमा शम्भु र सुशीला दिदी (कुलनाथ हजुरबाकी छोरी, जनकपुर)को फोटो थियो । तर, बाको फोटो नभएकाले आमाले बा र आमाको सँगै फोटो खिचाउन जोड दिनुभएको रहेछ । 

त्यो बेलामा बा र आमा सँगै काठमाडौंमा हुने कुरा पनि एउटा दुर्घटनाले भएको थियो । आमा बिरामी भइरहने । त्यो बेलामा ग्वाल्टारमा नै थियौँ हामी । ग्वाल्टारको उत्पादनको बजार भनेको त्यो बेलामा पुरानो रामेछापको बिहीबारे हाट थियो र हाम्रा गाउँबाट आवश्यक कुरा किन्न र चामल, चिउरा बेच्न पनि रामेछापको हाट नै सजिलो ठाउँ थियो। 

देउरालीटारका व्यापारीहरूले धान लैजान्थे र चामल, चिउरा लगेर रामेछापमा बेच्थे अनि ग्वाल्टारमा त्यसपछि धानको पैसा दिन्थे । आवश्यक पर्ने आलु, तेल, नुन, तरकारी र मट्टीतेल रामेछापबाट नै हाटका दिन गएर ल्याइन्थ्यो । पशुका लागि आवश्यक पर्ने ओखती पनि ल्याइन्थ्यो ।

आमालाई जुका परेको जस्तो लागेर रामेछापको अस्पतालबाट जुकाको ओखती र भैँसीका लागि नाम्लेको ओखती पनि ल्याउनू भनेर शम्भुलाई पठाएको रहेछ । ग्वाल्टारका मानिसहरूलाई अस्पताल र भेटेरेनरी दुवैका मानिसहरूले चिन्ने भएकाले आवश्यक ओखती मागेर ल्याउने चलन थियो । झोल ओखतीका लागि मात्रा देखाउनका कागजलाई काटेर बोतलको बाहिर टाँस्ने र त्यसैलाई मात्रा मानिन्थ्यो । आमाका लागि जुकाको ओखती र गाई, भैँसीका लागि नाम्लेको ओखती दुवैै भाइले ल्याएछ । आमालाई दिएछ र भनेछ, 'योचाहिँ नाम्लेको र योचाहिँ जुकाको ।'

बेलामा ओखती गर्दा आमामा भएको ग्यास्ट्रिकको रोग निर्मूल भएछ । कस्तो अचम्म ! पेट दुख्ने र पेटमा हावा भरिने रोग त्यसै पो बिसेक भएछ । सायद नाम्लेको ओखती गर्दा पेटका लागि धेरै प्रकारका ओखती खानुपरेकाले पनि हुन सक्छ ।

भाइलाई त थाहा थियो- कुन बोतलमा जुकाको हो र कुनमा नाम्लेको हो तर आमालाई भने खासै याद भएनछ । बेलुका सुत्ने बेलामा एक मात्रा ओखती खानुभएछ । सायद जुकाका लागि पनि २ मात्रा ओखती थियो क्यारे ! नाम्लेका लागि भने अलिक धेरै ओखती रहेछ तर दुवै ओखती झोलमा, सिसीमा र कागजको काटेको टाँसेर मात्रा देखाएको ।

आमाले खाएको ओखतीले जुका त आएन तर पखाला भने खुब लागेछ । भोलिपल्ट फेरि अर्को मात्रा खानुभएछ । झन् पो पखाला चलेछ, इन्तु न चिन्तु हुनुभएछ । जुकाका बारेमा गाउँमा एउटा भनाइ थियो रे, 'मूल जुका मरेमा मानिस नै मर्छ ।'

कुनै जुका झरेको पनि छैन, पेट दुख्न कम पनि भएको छैन र पखाला चलेको चल्यै छ । अनि, आमाले शम्भुलाई सोध्नुभएछ, 'कस्तो ओखती दिएको थियो त्यस्तो, मेरो  त जुका पनि गएन, बिसेक पनि भएन ।'

शम्भुले 'त्यही ओखती त हो नि आमा !' भन्दै देखाएछ, जुन ओखती नाम्लेको भनेर खुवाउन बाँकी राखेको थियो । गल्तीले आमाले खानुभएछ बस्तुको नाम्लेको ओखती, जुकाको त बाँकी नै रहेछ । अब परेन फसाद ! नाम्लेको ओखती भैँसी, गाई, गोरुका लागि । मान्छेले खाएपछि पखाला चल्यो, बान्ता भयो, जीउ कक्रक्क परेछ आमाको । अनि, बाले आमालाई बोकाएर ल्याउनुभएको रहेछ । 

मधेसबाट हजुरआमा पनि आउनुभएको थियो । मेरो छोरो सिद्धिलाई पनि जचाउने भनेर लिएर आउनुभएको थियो । यसरी बा र आमा काठमाडौंमा पहिलो पटकसँगै आउनुभएको थियो । आमालाई वीर अस्पतालमा करिब १५ दिनसम्म राखियो । डाक्टर सुन्दरमणि दीक्षितले हेर्नुभएको थियो । त्यो बेलामा ओखती गर्दा आमामा भएको ग्यास्ट्रिकको रोग निर्मूल भएछ । कस्तो अचम्म ! पेट दुख्ने र पेटमा हावा भरिने रोग त्यसै पो बिसेक भएछ । सायद नाम्लेको ओखती गर्दा पेटका लागि धेरै प्रकारका ओखती खानुपरेकाले पनि हुन सक्छ ।

त्यो बेलामा म डिल्लीबजारमा श्रीराम ढुंगेल दाइको घरमा बस्थेँ । साँच्चै दाजु-भाइकै रूपमा बसेका थियौँ । भाउजू ईश्वरी ढुंगेलले हाम्रो परिवारलाई आफ्नै जस्तो मान्नुहुन्थ्यो र अहिलेसम्म पनि हाम्रो परिवार र उहाँहहरूको परिवारका बीचमा आत्मीय सम्बन्ध छ । पछि मेरो सालो पुष्कर कोइरालाको विवाह नै उहाँहरूकी भान्जी लीलासँग भएपछि त झन् कुटुम्ब पो भयौँ ! अहिले सान्दाजु, भाउजू र उहाँको छोरो राजु, छोरीहरू सरोज, सबनम सबै नै सपरिवार अमेरिकामा बस्नुहुन्छ । कहिलेकाहीँ नेपाल आउँदा हामी भेट्न जान्छौँ ।

त्यो बेलाको अर्को पनि घटना याद आउँछ । त्यो दिन आमालाई अस्पतालबाट डिस्चार्ज गर्ने भएकाले म र बा अस्पतालतिरै थियौँ । सान्दाजुको घरमा वा हाम्रो डेरामा हजुरआमा र उहाँको पनाति सिद्धि मात्र । झन्डै २ हप्तादेखि उसले आमालाई देखेन । सधैँ हामीले भन्ने भनेको 'भोलि त आमा अस्पतालबाट आउनुहुन्छ ।' उसले यति मात्र बुझ्यो कि मेरी आमा आउनै हुन्न ।

ऊ काकासँग तरकारी किन्न हात समाएर बाहिरसम्म जान्थ्यो । उसले देखेको बाटो भनेको मैतीदेवीको बाटोमा राखेको तरकारी बजारसम्म मात्र थियो। हजुरआमालाई भनेछ, 'हजुरआमा, घुम्न जाअौँ बाहिरसम्म ।' पनातिले भनेपछि उहाँले पनि यसो घुमाउन गल्लीसम्म लगेपछि उसले हात निमोठेर भाग्दै भनेछ, 'बूढी आमै, सधैँ मेरी आमा आउने चैँ भन्ने तर तिमीहरूले लिएर आएनौ । अब म आफैँ खोजेर ल्याउँछु ।'

यसो भनेर कता दौडेछदौडेछ । भाग्यो कताकता । हजुरआमालाई थाहै भएन । हातमा समाएर ल्याएको पनाति कता गयो, गयो । उहाँलाई थाहा पनि थिएन गल्लीका बारेमा । तर, कतै देखिएन ।

उहाँको अवस्था के भयो होला ? पनाति हातैबाट भाग्यो तर कता हो पत्ता छैन । उहाँले कसैलाई चिनेको पनि थिएन । हामी सबै बाहिर थियौँ- कोही पढ्न गएका, कोही पढाउन गएका । बाचाहिँ अस्पताल वरिपरि हुनुहुन्थ्यो । मेरो पनाति अब मैले कसरी खोज्नु ? कता गयो कता ? चिनेको पनि छैन कसैलाई त्यहाँ ।

केहीबेरपछि हिमालय आइपुगेछ र हजुरआमा रुँदै गरेको देखेर सोेधेछ, 'खोइ त सिद्धि हजुरआमा ?' किनभने जहिले पनि हिमालय आउने बेलामा 'सानोबाबा सानोबाबा' भन्दै बाहिरै भेट्न आउने छोरो आज आएन । ऊ सानोबाबाको बाटो हेरेर बस्थ्यो किनभने तरकारी किन्ने निहुँमा घुम्न जान पाउँथ्यो र चकलेट खान पाउँथ्यो । उसले के खान मन गर्छ, त्यो किनेर दिन्थ्यो ।

हिमालय सानोठिमी क्याम्पसमा पढ्थ्यो र म साँखुको भाग्योदय माविमा पढाउन थालेको थिएँ, टाढा डिल्लीबजारबाट । त्यो दिन आमालाई डिस्चार्ज गर्छ कि भनेर म चाँडै त आएको थिएँ तर अस्पतालमा सिधै । भाइलाई परेछ फसाद ! कता खोज्न जाऊँ ? तर, ऊ गएछ सधैँ तरकारी किन्न जाने बाटो मैतीदेवी चोकतर्फ किनभने उसले देखेको बाटो भनेको त्यतै मात्र थियो ।

सोध्दै खोज्दै गएछ । भनेछन् कसैले, 'एउटा ३-४ वर्षका बच्चो आमा आमा भन्दै रुँदै यतै आएको त थियो, यहीँ तरकारी बेच्नेको कसैको सन्तान होला भनेर कसैले वास्ता गरेका रहेनछन् ।'

मेरो भाइ त्यसपछि गएछ बानेश्वरतर्फ । त्यहाँ पनि कसैले देखेको भनेनन् र गएछ बालबालिका खोजतलास गर्नका लागि रिपोर्ट लेखाउन ट्राफिक कार्यालय बग्गीखानामा । गएर रिपोर्ट लेखाउँदै गर्दा 'सानोबाबा' भन्दै बच्चा रुँदै झ्याम्म समाउन आएछ । पुलिसले 'तपाईँको बच्चा हो कि होइन ?' भन्दा उसले पनि 'मेरो दाजुको छोरो हो, दिउँसोदेखि हराएको थियो भनेछ । पुलिसले अबदेखि बच्चालाई नछाड्ने शर्तमा दिएछ ।

हामी आउनुभन्दा एक घण्टा अघि मात्र आएको भनेको पुसको महिनामा करिब ७ बजे मात्र हामी अस्पतालबाट आयौँ ट्याक्सीमा । त्यतिबेर ऊ सुतिरहेको थियो । हजुरआमा रुँदै भन्दै हुनुहुन्थ्यो, 'यो उमेरमा झन्डै पनाति हराउने नभएकी म ?' हामीले 'भेटियो, भैगो नरुनुहोस्' भन्यौँ । आज पनि एउटा प्रश्न हाम्रामाझ तेर्सिन्छ, यदि कसैले त्यो ३ वर्षको बच्चालाई फकाएर कतै लगेको भए ? ब्युँझिएपछि खुब रोयो आमासँग- 'तपाईं कता जानुभएको थियो मलाई छाडेर ? म त तपाईँलाई खोज्न गएको थिएँ । भेटिनँ । उल्टै सानोबाबाले घरमा पो लिएर आउनुभयो ।आमा आइसक्नु भयो भन्नुहुन्थ्यो तर होइन रहेछ ।'

आमाको आँखामा जुन वात्सल्य छचल्किएको मैले देखेँ, सायद त्यो भाव साँच्चै त्यो समयसँगै बह्यो र मेरो स्मृतिमा मात्र रह्यो किनभने आमा, हजुरआमा, बा, भाइ कोही पनि अब हुनुहुन्न । त्यो अबोध बालक सिद्धि पनि अब परिपक्व बाबु भइसकेको छ । उसकी आमा देवकी अहिले सम्झन्छिन् त्यो घटना र भन्छिन्, 'बाबा, यदि हाम्रो छोरा नभेटिएको भए ?'

म भन्छु, 'भेटियो, भैगो । आज हामीलाई राम्रो साथी भएको छ, कमाउँछ, ख्वाउँछ र सानासाना नातिनीहरू दिएको छ हामीलाई साथी ।

भेटियो र आज यी कुरा, नभेटिएको भए ? अनि म सम्झन्छु ती जनयुद्धका बेलामा बेपत्ता पारिएका परिवारका बारेमा । मन त्यसै कोकिएर आउँछ । हामी त ४ दशकभन्दा पहिलेको घटना सम्झेर झसंग हुन्छौँ भने ती परिवारका सदस्यहरूले कसरी चित्त बुझाएर बसेका होलान् ? न लास, न त सास !

त्यो घटनापछि हो आमाले मलाई बाको फोटो खिच्नका लागि दबाब दिनका लागि भन्नुभएको । बा र आमाको जोडाको फोटो र हामीहरूसहितको फोटो खिचेको । पछि त मसँग पनि क्यामेरा भयो, बाको, आमाको र हामी दाजुभाइको पनि खिँच्यौँ ।

समयको कुरा गर्दा यी कुराहरू सम्झिन पुगेँ । समय त उही हो तर परिवेश आफैँ बदलिँदो रहेछ । प्राकृतिक कारणले हुने परिवर्तनभन्दा मानिसहरूले नै समयको बदलावलाई अनुभूति गराएका हुन्- सकारात्मक वा नकारात्मक परिवर्तनका कारणले । मानिसले चाह्यो परिवर्तन, जीवन सहजताका लागि । कति परिवर्तन भए तर त्यसले मात्र चित्त बुझाएन मानिसले । प्रकृतिको परिवर्तन त आफ्नै ठाउँमा छँदै छ ।

क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।