दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का

दोस्रो चरणमा कम गोल, थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का

न्युज कारखाना  |  खेलकुद  |  मंसिर १४, २०७८

साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै शहीद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित ४ हजार दर्शकले खल्लो महसुस गरे । 

समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीकाे खेल जस्तै रह्यो । ५ खेलमा हार-जीत हुँदा २ खेल बराबरीमा सकिएको थियो । यस चरणमा भने कुनै पनि टोलीले ठूलो अन्तरको जीत निकाल्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबबीचको खेलमा ३ गोल हुनु नै सबैभन्दा बढी गोल रह्यो ।  

पहिलो चरणमा १६ गोल निस्कँदा दोस्रो चरणमा भने जम्मा ७ गोल भएकाे छ । पहिलोे चरणको पहिलो खेलमा सातदोबाटो युथ क्लबले थ्री स्टारलाई १-० ले स्तब्ध बनायो । अघिल्लो खेलमा च्यासलविरुद्ध ३-० को जीत निकालेको थ्री स्टार नवप्रवेशी सातदोबाटोसँग भने निरीह रह्यो । 

दोस्रो खेलमा संकटा क्लब एक गोलले पछि परेको स्थिति उल्टाउँदै २-१ को जीत निकाल्यो । फ्रेण्ड्सको यो पहिलो हार हो । यता, संकटाको भने पहिलो जीत हो । 

दोस्रो चरणको दोस्रो दिनको खेलमा च्यासलले विभागीय प्रतिद्वन्द्धी एपीएफ फुटबल क्लबलाई १-० अन्तरले पराजित गर्‍यो । त्यसै दिन भएको दोस्रो खेलमा विदेशी खेलाडी आफिज ओलावालेको निर्णायक गोलमा मनाङ-मर्स्याङ्दी क्लबले आफ्नो लगातार दोस्रो जीतलाई निरन्तरता दियो ।  

तेस्रो दिन भएको एक मात्र खेलमा जावलाखेल युथ क्लबलाई १-० ले  पराजित गर्दै पुलिसले पहिलो जीत निकाल्यो । वैकल्पिक खेलाडी सुमन लामाको निर्णायक गोलमा पुलिसले अपराजित यात्रा कायम राख्याे ।  

दोस्राे चरणको अन्तिम दिन उपाधिमा दाबेदारी प्रस्तुत गरेको न्युरोड टिम (एनआरटी) ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै एनआरटीलाई उपाधि दाबेदारीमा धक्का लागेको छ । 

अन्तिम दिनको अन्तिम खेलमा भने आर्मी र मच्छिन्द्रले बराबरी खेल्दै अंक बाँडे । यस नतिजासँगै मनाङलाई प्रत्यक्ष फाइदा भएको छ । मनाङले दोस्रो चरणमा २ अंकको अग्रता बनाएको हो । 

दोस्रो चरणको समाप्तिमा मनाङको २ खेलबाट २ गोलसहित ६ अंक भएको छ । समान ४ अंक जोडेका संकटा, बीबीसी, मच्छिन्द्र, पुलिस, सातदोबाटो क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । समान ३ अंक जोडेका थ्री स्टार र च्यासल सातौँ र आठौँ स्थानमा रहँदा २ अंक जोडेको आर्मी नवौँ स्थानमा छ । 

समान १ अंक जोडेका हिमालयन शेर्पा,  फ्रेण्ड्स र एनआरटी क्रमशः दशौँ, एघारौँ र बाह्रौँ स्थानमा छन् । यता, कुनै अंक जोड्न नसकेका जावलाखेल र एपीएफ रेलिगेसन जोनमा छन् । तेस्रो चरणका खेल शुक्रबारदेखि सुरु हुनेछन् । 

दोस्रो चरणका नतिजा

१. सातदोबाटो युथ क्लब १-० थ्री स्टार क्लब
२. संकटा क्लब २-१ फ्रेण्ड्स क्लब 
३. च्यासल युथ क्लब १-० एपीएफ फुटबल क्लब 
४. हिमालयन शेर्पा क्लब ०-१ मनाङ-मर्स्याङ्दी क्लब
५. जावलाखेल युथ क्लब ०-१ नेपाल पुलिस क्लब 
६. ब्रिगेड ब्वाइज क्लब ०-० न्युरोड टिम एनआरटी
७. त्रिभुवन आर्मी फुटबल क्लब ०-० मच्छिन्द्र फुटबल क्लब