कोरोनाको नयाँ ‘ओमिक्रोन’ भेरिएन्टको त्रास र बच्ने केही उपाय

कोरोनाको नयाँ ‘ओमिक्रोन’ भेरिएन्टको त्रास र बच्ने केही उपाय

अनुसा थापा  |  दृष्टिकोण  |  मंसिर १४, २०७८

विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । 

हाम्रै छिमेकी देशहरूले पनि सिमाना बन्द गरिसकेका छन् । विज्ञहरूले समेत यस भाइरसबाट बच्न आग्रह गरिरहेका छन् । तर, नेपालमा भने यस भाइरसलाई बेवास्ता गरिएको छ । अधिकांश सडक, सार्वजनिक स्थल, पार्टी-पौवा, मठ-मन्दिर, सार्वजनिक यातायातमा अत्यधिक भीड देखिएको छ । 

स्वास्थ्य मापदण्डको पालना नगरी मानिसहरू जथाभावी दौडिएका छन् । कोरोनाको नयाँ भेरिएन्टलाई कसैले गम्भीरता साथ हेरेको छैन । कोभिडको दोस्रो लहर नसिद्धिँदै खोलिएका मठ-मन्दिरमा पूजाआजा गर्न भक्तजनहरूको भीड लाग्ने गरेको छ । 

मन्दिरमा दर्शन गर्ने, भजनकीर्तन गाउने भन्दै बूढाबूढीदेखि लिएर महिलाहरू बालबच्चासमेत बोकेर आउने गरेका छन् । सरकारले पटक पटक स्वास्थ्य मापदण्डको पालना गर्न भने तापनि हेलचेक््रयाइँ गरेर मास्क नै नलगाई मन्दिरमा दर्शन गर्न आउनेको घुइँचो देख्न सकिन्छ । 

अहिले हरेक जिल्लाका मन्दिरहरू खुलिसकेका छन् । स्वास्थ्य मापदण्ड पालना गराउँछौँ भनेर कोरोनालाई लिएर लापरबाही गरेका छन् । मन्दिरमा बस्ने पुरोहितदेखि लिएर पूजाआजा गर्न चाहिने सामान बेच्ने व्यापारीले समेत स्वास्थ्य मापदण्डको पालना गरेका देखिँदैन । 

धर्म गर्ने भनेका छन् तर चर्को भीडभन्दा अरू केही छैन । मन्दिरमा भएका भीडले कोरोना बढ्ने संज्ञा दिएको छ । यदि कोरोनाबाट जनता बचाउनु छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मठ-मन्दिर तत्कालै बन्द गर्नुपर्छ । मठ-मन्दिर मात्र बन्द गरियो भने कोरोना नियन्त्रण गर्न सरकारलाई निकै सघाउ पुग्छ । 

रात्रिकालीन व्यवसायी, पार्टी प्यालेस, होटल व्यवसाय जस्ता भीडभाड हुने स्थान गृह मन्त्रालयले बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनुपर्छ । अत्यधिक भीडभाड हुने क्षेत्रहरू संचालनमा मन्त्रालयले बन्देज लगाउन जरुरी देखिएको छ । 

कोरोनाको नयाँ भेरिएन्टबाट देशका नागरिकहरूलाई बचाउन सरकारले आवश्यक नीति बनाउने बेला आएका छन् । अझ बालबालिका, दीर्घकालीन रोगी र बूढाबूढीलाई अनावश्यक काममा ननिस्कन आग्रह गर्नुपर्छ । यसबाट कोरोना केही मात्रासम्म न्यूनीकरण गर्न सकिन्छ ।

मालपोत, यातायात कार्यालय र राहदानी बनाउने कार्यालय पनि संचालनमा रोक लगाइदिए केही हदसम्म कोरोना नियन्त्रण संभव छ । केही दिनका लागि सीडीओ कार्यालयबाट जनताले पाउने सेवा-सुविधा केही दिनका लागि संचालन गर्न दिनुहुँदैन । 

बैंक तथा वित्तीय संस्थाहरू पनि केही दिनसम्म चल्नबाट बन्देज लगाएमा कोरोना नियन्त्रण गर्न सक्ने अवस्थाको सिर्जना हुन्छ । सरकारले बनाएको मापदण्ड पालना गर्नमा बैंक, फाइनान्स पनि चुकेका छन् । वित्तीय संस्थाहरूले पनि स्वास्थ्य मापदण्ड पालना गर्न अटेर गरेका छन् । 

अब सरकारले जोर-बिजोर प्रणाली लागू गरेर वित्तीय संस्था खोल्न दिनुपर्छ । यता, सरकारी वा निजी विद्यालयले पनि हेल्थ प्रोटोकलको पालना गरेका छैनन् । विद्यालयमा सामाजिक दूरीको पालना गर्नु असंभव जस्तै देखिन्छ । विद्यार्थीहरूले मास्कसमेत लगाएका छैनन् । 

अहिले बालबालिका कोरोनाको घेरामा घेरिएका छन् । बालबालिकाले मास्क लगाउँदैनन् भने विद्यालयले स्यानिटाइजरको व्यवस्थासमेत गरेका छैनन् । सरकारले बालबालिकाहरूलाई कोरोनाको नयाँ भेरिएन्टबाट टाढा राख्न कि प्रभावकारी ढंगले सामाजिक दूरीको पालना गर्न लगाउनुपर्छ नत्र अनलाइनबाट पढाउनु नै उपयुक्त देखिएको छ । 

अनावश्यक रूपमा टाइम पास गर्न बिनाकाम सडकमा प्रशस्तै मानिसहरू हिँडिरहेका हुन्छन् । आफ्नो स्वास्थ्यको ख्याल नगरी नेपाली जनता निस्फिक्री डुलिरहेका छन् । यसरी जथाभावी डुल्दा कोरोना संक्रमण बढ्ने डर ज्यादै हुन्छ । 

सार्वजनिक यातायातले कोरोना फैलाउन झनै ठूलो भूमिका खेलेको छ । बस, माइक्रोबस, ट्याम्पो जस्ता साधनमा यात्रुको भीड धेरै नै हुन्छ । दाउरा मिलाएजस्तै राखिएका यात्रुको चाङमा कोरोना फैलिन सक्ने जोखिम बढी रहन्छ । अहिले बसका सहचालक चालकले नै मास्क, स्यानिटाइजरको प्रयोग गर्दैनन् । 

सार्वजनिक यातायातमा यात्रा गर्ने कमै यात्रुले मात्र मास्क लगाएका देखिन्छ । लगाएका अधिकांशले पनि चिउँडो छोप्नका लागि मास्क लगाएका छन्, जसले गर्दा एउटासँग भएको रोग अर्कोलाई सर्ने दर बढिरहेको छ । ढोकैसम्म यात्रु उभ्याइएको हुन्छ तर त्यस्ता सवारीलाई कारबाही गरिँदैन । 

सरकारले सिटभन्दा बढी यात्रु हाल्न नपाउने निर्णय गर्नुपर्ने बेला भएको छ । सहचालक, चालकका साथै यात्रुले पनि अनिवार्य रूपमा मास्क लगाउनपर्ने नियमको निर्माण गरेमा कोरोनाबाट जोगिने अलिकति आस जाग्छ । 

चुनाव नजिकिएसँगै राजनीतिक दलहरूको महाधिवेशन, बैठक, सभा जस्ता गतिविधिहरूले स्थान पाएका छन् । दलहरू आफैँ कोरोनालाई साइडमा राखेर भेला गर्दै हिँडेका छन् । न राजनीतिक दलले मास्क लगाउँछन्, न त सिकाउँछन् । जनता पनि राजनीतिक दलका कार्यकर्ता बनेर भीड बढाउने काम मात्र गरिरहेका छन् । 

अहिले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन भइरहेका छन् । सयौँको संख्यामा वकिलहरू सडकमा ओइरिएका छन् । यो पनि कोरोना फैलिनुको प्रमुख कारण बन्न सक्छ । अब मन्त्रालयले २५ जनाभन्दा बढी सहभागी गरेर कुनै कार्यक्रम गर्न नदिने निर्णय गर्नुपर्छ । 

हवाईजहाजहरूमा सरकारले बनाएका प्रोटोकलहरूको पालना भएका छन् कि छैनन् भनेर अनुगमन गरिनुपर्छ । साथै, सिट संख्याभन्दा बढी यात्रु हाल्ने, सरकारले बनाएका मापदण्ड पालनामा अटेर गर्ने लामो रुटका गाडी चल्न दिनुहुँदैन । 

नेपाल र भारत छिमेकी मुलुक हुन् । यी २ राष्ट्रलाई एक अर्कोको देश जान कुनै रोकतोक लगाइएको छैन । नेपालीहरू आफ्नो परिचयपत्रको आधारमा भारत जान पाउँछन् भने भारतीय पनि सजिलै नेपाल छिर्न पाउँछन् । नेपालका अधिकांश नागरिकहरू रोजगारीका लागि भारत गएका छन् । नेपालमा पनि भारतीयको संख्या उल्लेख्य छ । 

भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालीहरू धमाधम आफ्नै देश फर्किंदै छन् । तर, नाकामा कोरोनाको परीक्षण भएको छैन । भारतबाट नेपाल आउनेहरू सिधै आफ्नो घर धाइरहेका छन्, जसले गाउँ र टोललाई नै खतरामा पारेको छ । शहरमा त क्वारेन्टाइनको व्यवस्था गरिएको छैन भने गाउँमा कल्पनाभन्दा बाहिरैको कुरा हो । 

ठूलाठूला व्यापारिक मल, सुपर मार्केटहरू जस्तैः भाटभटेनी, बिग मार्ट, लबिम मलमा पनि सरकारले बनाएको मापदण्ड पालना भएको छैन । सिनेमाघरहरूले पनि अलिक लापरबाही नै गरेका छन् । घरघरमा कबाडी सामान लिन आउनेलाई कोरोनाका बारे मतलब छैन । 

फुटपाथ व्यापारी, ठेलागाडा व्यापारी र किराना पसलेले पैसाभन्दा अरू केही देखेका छैनन् । सडक छेउछाउ पूरै ढाकेर बसेका फुटपाथ व्यापारीहरूले पनि स्वासथ्य मापदण्डको पालना गरेका छैनन् । सरकारी कार्यालयमा झनै खुट्टा टेक्ने ठाउँ छैन । 

हरेक सरकारी कार्यालयमा दैनिक हजारौँको संख्यामा भीड लाग्छ । प्रभावकारी ढंगबाट काम गर्न नसक्दा जनताले दुःख त पाएका छन् नै, त्योभन्दा पनि कोरोना फैलिने चिन्ताले पिरोलिरहेको छ । उपत्यकाबासीलाई बचाउन मेयरहरूले साँगा र थानकोट नाकामा स्वास्थ्यकर्मी राखेर कोरोना परीक्षण गर्ने हो कि ! 

यति गरिदिने हो भने उपत्यकाबासीले कोरोना लाग्ने डरबाट अलिकति भए पनि राहत पाउँथे । अहिले देशभरका जनता उपत्यकामा बस्छ् । यदि केही गरि कोरोनाले विकराल रूप लियो भने उपत्यका नै सखाप हुन्छ । सरकारले पनि जनता बचाउन हो भने उपत्यका भित्रिने नाकाहरूमा कडाइका साथ जाँच गर्नुपर्छ । 

कोरोनाको नयाँ भेरिएन्टबाट देशका नागरिकहरूलाई बचाउन सरकारले आवश्यक नीति बनाउने बेला आएका छन् । अझ बालबालिका, दीर्घकालीन रोगी र बूढाबूढीलाई अनावश्यक काममा ननिस्कन आग्रह गर्नुपर्छ । यसबाट कोरोना केही मात्रासम्म न्यूनीकरण गर्न सकिन्छ ।