यू- १९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

यू- १९ राष्ट्रिय क्रिकेट: लुम्बिनी प्रदेश फाइनलमा

न्युज कारखाना  |  खेलकुद  |  मंसिर १५, २०७८

प्रदेश २ लाई ९ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू- १९ पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिताकाे फाइनल प्रवेश गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य पाएको लुम्बिनीले २६ ओभर ५ बलमा १ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक रन बनाए । देवले ८९ बलमा २ छक्कासहित ६२ रन जोडे । आकाश त्रिपाठीले ५७ र प्रज्ज्वल थापाले १३ रनको योगदान गरे । प्रदेश २ का सन्तोष कार्कीले १ विकेट लिएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश २ ले लुम्बिनी सामु १६८ रनको योगफल खडा पारेको थियो । प्रदेश २ का लागि सन्तोषले ९२ बलमा सर्वाधिक ८२ रन बनाए । गुल्सन झाले ३२ र आदिल अन्सारीले २२ रनको योगदान गरे ।

लुम्बिनीका वासिर ऐमदले सर्वाधिक ५ विकेट तथा विशालविक्रम शाहीले ३ र राहुल चौधरीले २ विकेट लिए । ६ खेलमा १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा छ भने प्रदेश २ भने ४ अंकसहित छैटौँ स्थानमा छ ।

अर्काे फाइनल पुग्ने टोलीको भने टुंगो लागेको छैन । फाइनल पुग्न प्रदेश १ र सुदूरपश्चिम प्रदेशको संभावना जीवितै छ । अब, अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशको सामना गर्दा सुदूरपश्चिमले बाग्मती प्रदेशको प्रतिस्पर्धा गर्नेछ ।