बाला चतुर्दशी: चिया-चुरोट-गाँजादेखि माया-पिरतीका सौखिनसम्मको दर्शन !

बाला चतुर्दशी: चिया-चुरोट-गाँजादेखि माया-पिरतीका सौखिनसम्मको दर्शन !

रूपक अलङ्कार  |  दृष्टिकोण  |  मंसिर १६, २०७८

'पशुपतिको जात्रा सिद्राको व्यापार' भन्ने उखान पशुपति मन्दिर देख्नुभन्दा पहिले नै कानमा पर्‍यो । त्यसबेलादेखि नै सिद्राको व्यापार र पशुपतिको जात्राको सम्बन्धका विषयमा विस्मयकारी धारणाले मलाई घेरेको थियो । गाउँकै महाङ्कालेश्वरी मन्दिरमा प्रत्येक वर्ष जात्रा लाग्ने हुनाले जात्रा कस्तो हुन्छ भन्नेचाहिँ म जान्दथेँ ।

त्यस जात्राको रमाइलो हेर्न टाढैदेखि मानिस आउँथे, गाउँका मानिसहरू विशेषगरी महिलाहरू रातभर दियो बालेर तेल थप्दै उँघिरहन्थे, देवीको र गणेशको रथ नचाइन्थ्यो, बूढापाकाहरू रातभर खैँजडी बजाएर भजन गाउँदै नाच्थे, बदाम, सुन्तला, जेरी, ऐँठे आदिको बजार लाग्थ्यो, लंगुरबुर्जा खेलाउने र चिठ्ठा खेलाउनेजस्ता ठगी धन्दा पनि चल्थे, जाँड खानेहरूले खाएर र झगडा गरेरै रात बिताइदिन्थे । भोलिपल्ट देवीलाई बोका बलि दिइन्थ्यो, मन्दिरको मझेरीमा रगतको पोखरी बन्थ्यो ।

खुट्टा बाँधेर लामो भाटोमा मरेको बोको झुन्ड्याउँदै मानिसहरू आआफ्ना घरतिर लाग्थे, दिउँसो पनि भजन र दोहोरी गीत खुब चल्थ्यो, साँझ रथमा राखेर देवी-देउतालाई नचाएपछि जात्रा सकिन्थ्यो, हामी सिटी फुक्दै घर आउँथ्यौँ । जात्रामा केटी जिस्क्याउने काम पनि लोकप्रिय नै हुन्थ्यो । तर, एक पटक जिस्क्याएकै निहुँमा एउटी केटीले जिस्क्याउने केटाको ढुंगाले खप्पर फोरेको प्रत्यक्ष देखेपछि उडेको मेरो सातो अझै फर्केको छैन । 

हुनत काठमाडौँ एक सांस्कृतिक शहर भएकाले जात्रा र प्रसाद वितरण नभएको दिन कुनै हुँदैन । पात्रो पल्टाएर हेर्दा विस्मयमा परिन्छ । त्यसमा पनि देशकै सबैभन्दा चर्चित र महत्त्वपूर्ण मन्दिर भएकाले पनि पशुपतिमा विभिन्न जात्रा र मेला लागिरहन्छन् । कतिपय जात्रा त हामीले थाहा नपाउँदै आएर गइसक्छन् । तीज, शिवरात्रि, साउने सोमबार जस्ता अवसरमा विशेष मेला लाग्छ, पशुपतिका वरिपरि रहेका मठमन्दिरका पनि आफ्नै किसिमका जात्रा मात्रा छन् । भुवनेश्वरीको जात्रा, वत्सलेश्वरीको जात्रा, जय वागेश्वरी जात्रा, राजराजेश्वरी जात्रा, गुह्येश्वरी जात्रा जस्ता जात्राहरू पनि स्थानीय समुदायभन्दा बाहिरका मानिसले खासै जानेका छैनन् ।

माथि उल्लेखितभन्दा फरक तर महत्त्वपूर्ण अवसरमा मनाइने अर्को जात्रा हो- बाला चतुर्दशीको जात्रा, जुन जात्रा आज अर्थात् (मार्ग कृष्णचतुर्दशी ) १५ मंसिरमा लाग्दै छ । हुनत बाला चतुर्दशीका दिन देशभरका शिवालयहरूमा जात्रा लाग्छ । खासगरी कसैको मृत्यु भएको छ भने मृतकका सन्तानहरू शिवालयमा जन्छन्, मृतकका नाममा बत्ती बालेर रातभर जाग्रम बस्छन् । रात बिताउनका लागि भजन गाउँछन्, गीत गाउँछन्, नाच्छन् । भोलिपल्ट दियोलाई नदी वा त्यस्तै पवित्र स्थानमा सेलाउँछन् अनि मन्दिर वरिपरि शतबीज छर्छन् । यस्तो कार्य मानिस मरेको वर्ष र अर्काे वर्ष गरिन्छ । बत्ती किन बालिन्छ ? शतबीज किन छरिन्छ ? भन्ने विषयमा लामै प्रसंग आवश्यक पर्न सक्ने हुनाले यहाँ जात्राको रामरमिताका विषयमा मात्र कुरा गरिन्छ ।

दिउँसोतिरै आएर आफ्नो स्थान सुरु गरिन्छ । बेलुका पशुपतिको मूलबत्तीबाट सल्काएर आफ्नो बत्ती बालेपछि गोदान संकल्प गरिन्छ । त्यसपछि घरैबाट ल्याएको मीठोमसिनो खाइन्छ । बत्तीमा तेल थपेर रात बताइन्छ । बिहान पशुपति क्षेत्रभरि शतबीज छरिन्छ । यही हो जात्राको प्रक्रिया

भनिहालेँ- विद्यार्थीकालदेखि आजसम्म नै म पशुपतिसित नजिक भएको छु । कस्ताकस्ता क्रान्तिकारीहरू त पशुपतिको भक्त भइसके भने हामी अज्ञानी बालकले पशुपतिसित किन जोरी खोज्नु ? पशुपतिकौ नैवेद्य प्रसादले यो ज्यान लागेको कुरा यहाँ स्मरणीय छ । त्यसैले पशुपतिको जात्रा मात्रामा म उमंगका साथ उपस्थित भएको छु । जात्रा र मेला समानार्थी शब्द भए पनि जात्रामा जुन रौनक छ, मेलामा छैन । शिवरात्रि, तीजमा मेला बढी छ भने बाला चतुर्दशीमा जात्रा बढी छ । त्यस कारण बाला चतुर्दशीमा बेग्लै स्वाद छ र  छुट्टै आनन्द छ ।

शिवरात्रिमा गाँजाको रंग छ, नागाको उमंग छ । तीर्थयात्रीहरू सीमापारिबाट पनि आउँछन् । विभिन्न व्यापारिक तथा धार्मिक संघसंस्थाहरूको उदेकलाग्दो उपस्थिति हुन्छ । तीजमा लैंगिक एकात्मकता छ, व्रतको आतंक छ, वस्त्रालंकारको भयावह प्रदर्शन छ । तर, बाला चतुर्दशीमा छुटटै रंग छ त्यो हो सेतो रंग । आखिर सबै रङहरूको संयोजन हो सेतो रङ । जीवनका विभिन्न रङहरूमा डुबेर अन्त्यमा मानिस शान्त हुन्छ  । त्यो शान्तिको रङ भनेको सेतो रङ हो  । मानिस मरेर जान्छ- श्रीमती र छोराहरूलाई सेतो रङ ओढाएर । तिनै श्वेतवस्त्रधारीहरू नै बाला चतुर्दशीका वास्तविक यात्रु हुन् ।

शोकलाई शक्ति र भक्तिमा बदल्ने मनशायले सेतो लुगा र खैरो कम्बल बेरेर खाली तर शान्त मन लिएर आउने मानिसले नै बाला चतुदर्शीमा पशुपति भरिएको हुन्छ । दिउँसोतिरै आएर आफ्नो स्थान सुरु गरिन्छ । बेलुका पशुपतिको मूलबत्तीबाट सल्काएर आफ्नो बत्ती बालेपछि गोदान संकल्प गरिन्छ । त्यसपछि घरैबाट ल्याएको मीठोमसिनो खाइन्छ । बत्तीमा तेल थपेर रात बताइन्छ । बिहान पशुपति क्षेत्रभरि शतबीज छरिन्छ । यही हो जात्राको प्रक्रिया ।

खासगरी बाला चतुर्शीमा उपत्यका, काँठ र काँठबाहिरका तर पशुपति आउन सहज हुने मानिसहरू नै बत्ती बाल्न र शतबीज छर्न आउँछन् । बाग्मती प्रदेशका मानिसहरूले बाला चतुर्दशीलाई पशुपतिमा जात्रामय बनाउँछन् भन्दा उपयुक्त होला । शोक परेका मानिस आउने भए तापनि जात्रा शोकार्त हुँदैन । शान्त हुँदैन । जात्राले त आफ्नो रूप देखाउन परिहाल्यो नि ! जातीय हिसाबमा भन्दा बाहुन, क्षत्री, नेवार, तामाङलगायतका जनसमुदाय यस पर्वमा सहभागी भएका पाइन्छ ।

जात्रामा आउनेले बत्ती र तेल मात्र ल्याउँदैनन्, मादल पनि ल्याउँछन् । ओच्छ्यान, पराल र ज्यान तताउने उपाय पनि । पशुपतिको जात्रामा पटक पटक पुगे पनि यसको समग्र अनुभूति पनि लिनुपर्छ भनेर पशुपतिको चक्कर लगाउन साथीभाइसहित पुगियो धेरै पटक । पशुपतिको ४ ढोकाबाट छिर्न जुत्ता फुकाल्नु नपर्ने सुविधा पनि हुन्छ क्यार ! पशुपतिबाट उकालो लागेर कैलास पुग्नुपर्छ रमाइलो हेर्न । चिया, चाउमिन, मम, पकौडा, समोसा चाहेको खान सक्नुहुन्छ । खानेहरूले जाँड नखाई छाड्ने होइनन् भन्ने कुरा नबुझे आफैँले दु:ख पाइन्छ । बदाम खाने र सुन्तला छोडाउने काम मात्र हुँदैन । मादल बजाएर काँठे भाका गुन्जिन थालिहाल्छ :

बदाम खा'को ए होइ जोडा सुन्तला छोडाको
बिर्स्यौ क्या हो रातो सल ओडाको  ।

यस जात्राको खास मजा नै यही हो- अलिअलि तालमा झ्याप भएर गीत गाउनु र नाच्नु । सभ्य समाजका लागि बारमा १२ बजुन्जेल पिउनु र अंग्रेजी बोल्नु उपयुक्त लाग्ला तर नेपाली लोकजीवनले आफ्ना दुःखलाई सुखमा परिणत गर्न जात्राकै सहयोग लिने बानी बसालेको छ भन्ने कुरा भुल्नुहुँदैन । रमरम रक्सी, रमरम ताल, रमरम पिरती, रमरम अश्लील भाव । करोडौँको मजा बाला चतुर्दशीको जात्रा । रात त कुन बेला कट्छ पत्तो हुँदैन ।

सम्बन्ध जेजस्तो भए पनि पशुपतिसित लामो समय संगत गर्ने अवसर पाएको छु । 'पशुपतिको जात्रामा सिद्राको व्यापार' कसरी हुन्छ भन्ने देख्न पाएको छु । 'एक पन्थ, दुई काज' भन्ने उखानको अर्काे संस्करण नै पशुपतिको जात्रा सिद्राको व्यापार रहेछ भन्ने निष्कर्ष निस्कने रहेछ

पशुपतिबाट मृगस्थलीतिर जाँदा आर्यघाटनेर भीडमा च्यापिएर भुतुक्क हुन पनि बेर लाग्दैन । मृगस्थलीतिर पुगेपछि चिया-चुरोट, बदाम र सुन्तलाले स्वागत गर्छन् । अलिक कुनातिर गाँजावाला पनि भेटिन सक्छन् । छाया परेको ठाउँमा माया-पिरतीका बात चलिरहेका पनि हुन सक्छन् । शौचालयको अभाव कति छ भन्ने कुरा पनि विश्वरूपपट्टि तेर्सिँदा लहरै उभिएका र टुक्रुक्क बसेका नारी पुरुषका आकृतिले बताउँछन् ।

आर्यघाट चिताले झल्झली बलिरहेको हुन्छ, छेउमा मानिसहरू मृतकको चिरशान्तिको कामना गर्दै दियो बालेर आफ्ना पितृहरूलाई खोजिरहेका हुन्छन् । कस्तो विचित्र !

जात्राको स्वाद थाहा पाए पनि सिद्राको स्वादमा भने म अनभिज्ञ थिएँ । कक्षा ६ मा पढ्दाताका म पशुपतिनाथको छिमेकी बनेँ । बरु मैले पशुपतिलाई महत्त्व त्यति दिइनँ होला जति पशुपतिनाथले मलाई माया गरेका छन् । सम्बन्ध जेजस्तो भए पनि पशुपतिसित लामो समय संगत गर्ने अवसर पाएको छु । 'पशुपतिको जात्रामा सिद्राको व्यापार' कसरी हुन्छ भन्ने देख्न पाएको छु । 'एक पन्थ, दुई काज' भन्ने उखानको अर्काे संस्करण नै पशुपतिको जात्रा सिद्राको व्यापार रहेछ भन्ने निष्कर्ष निस्कने रहेछ । 

हुनत बाला चतुर्दशीको जात्रा नेपालभरका महादेव मन्दिरमा लाग्ने जात्रा हो । यहाँ पशुपतिको परिवेशमा कुरा गरे तापनि जात्राको मौलिकता भनेको यही हो । नेपाली मौलिकपन झल्किने जात्रामध्ये बाला चतुर्दशीको जात्रा पनि एक हो ।