नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

न्युज कारखाना  |  समाचार  |  मंसिर १६, २०७८

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द सत्रमा २ पक्षबीच झडप भएको हाे ।

संस्थापनइतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको बन्द सत्रमा सहभागीहरूले बताएका छन् । महाेत्तरी- ३ बाट मनोज झा, रागवेन्द्र झा र रामु यादव सभापतिका आकांक्षी छन् । मनोज झा र रामु यादव विमलेन्द्र निधि निकट मानिन्छन् भने रागवेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य रामचन्द्र तिवारीका कारण झडप भएको निधि निकट नेताहरूले आराेप लगाएका छन् । `रागवेन्द्र झालाई सभापति बनाउने विवादले समस्या सिर्जना भएको हो', कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले भने ।

तिवारीले चुनावभन्दा पनि रागवेन्द्र झालाई सर्वसम्मत सभापति बनाउनुपर्ने अडान गरेकाे तर विमलेन्द्र निकट नेताहरूले अस्वीकार गरेपछि तिवारी पक्षले टोले गुण्डा परिचालन गरेको आरोप छ ।

मनरासिस्वा नगरपालिका- ८ मा बाँकी रहेको वडा अधिवेशन पनि तिवारी पक्षकै कारण अगाडि बढ्न नसकेको निधि पक्षको आरोप छ । 'तिवारी तथा पौडेल समूहले वडामा चुनावको तयारी हुँदै गर्दा फर्जी मतदाता ल्याएर निर्वाचन भाड्न खोजेकाे आराेप छ',  क्षेत्र नम्बर- ३ का उपसभापति विजय साहले भने ।

बन्द सत्रमा भएको झडपमा नेता रामु यादव सामान्य घाइते भएका छन् । तिवारी पक्षले बन्द सत्रमा नै गुण्डा परिचालन गरेपछि निधि समूह छलफल नै नगरी बाहिरिएको साहको भनाइ छ ।