विश्वका महान सर्जक दा भिन्ची

विश्वका  महान सर्जक  दा भिन्ची

आशिष पौडेल  |  समाज  |  बैशाख २९, २०७६

लियोनार्दो दा भिन्चीको नाम सुन्ने बित्तिकै एक प्रकारको श्रद्धाको भाव मनमा दर्गुछ । यी महान कलाकारलाई श्रृजनका लागि कहाँबाट प्रेरणा प्राप्त गर्दथे । त्यस्तो के जिनिस  थियो जसले उनलाई महान कलाकारको कोटीमा विराजमान गरायो । 

नेपालमा जात थरको घनत्वका आधारमा गाउँको नामाकरण गरिए झैं, इटालीको टस्कनी शहरमा एउटा गाउँ छ, भिन्ची गाउँ । गाउँको विशेषता भनेकै त्यसको हरियाली र प्राकृतिक सुन्दरता हो । यो विशेषता बाट भिन्ची गाउँ पनि कहाँ अछुतो रहन सक्थ्यो र । भिन्ची गाउँले अरु भिन्चीलाई कस्तो परिचय दियो थाहा भएन तर लियोनार्दो दा भिन्चीले भने सिंगो भिन्ची गाउँलाई मात्र नभएर कला जगतलाई नै बेग्लै उचाइमा पुर्याई दिए । 

लहरै झुलेका जैतुनका रुखमा जब हावाका ठक्कर लाग्छन, हावाको झोकाले ल्याउने लहर अनि लहरसँगै हावामा बतासिने पुतलीले भिन्ची गाउँ पुग्ने जो कोहीलाई मोहित तुल्याउँछ । जो कोहीलाई सर्जक बनाउन सक्छ । कतै लियोनार्दोको प्रेरणाको स्रोत र उर्जाको मुहान त यही गाउँको सुरम्यता होइन ? 

समयको बदलाव सँगै भिन्ची गाउँमा पनि केही परिवर्तन त देखा परेका छन् । तर लियोनार्दोको चित्रकारीता नियाल्ने हो भने भिन्ची गाउँमा खासै त्यस्तो ठूलो बदलाव आएको छैन् । उनको चित्रकला राम्रोसँग नियाल्ने हो भने भिन्ची गाउँको प्रभाव भनौं वा उपस्थिति देख्न सकिन्छ ।

१५ अप्रिल १४५२ मा भिन्ची गाउँको काखमा जन्मिएका लियोनादोंको ५०० औं जन्म जयन्ती मनाउने तयारीमा जुटेको छ यतिखेर भिन्ची गाउँ । 

लियोनार्दो दा भिन्ची संग्रहालयका निर्देशक रोर्बेटा बरशान्ती भन्छन, अहिले पनि भिन्ची गाउँ उस्तै नै छ जुन १४७३ तिरको लियोनार्दोको चित्रकलामा देख्न पाइन्छ । कला विशेषज्ञ भन्छन गाउँको रहन सहन, हुर्काइ बढाई अनि प्राकृतिक सौन्दर्यको प्रभाव लियोनार्दोको श्रृजनामा देख्न पाइन्छ । 

लियोनार्दोका बाबु नोटरी अधिकारी थिए भने आमा भने कृषक परिवारकी थिइन् । उनको पालन पोषण भने काका तथा हजुरबाले गरेका थिए । काका र हजुरबासँग गाउँमा रहँदा नै उनले फूल, पात, पशु, पंक्षि तथा अन्य प्राकृतिक चिजको चित्र उतार्ने कला सिकेका थिए । 

चित्रकलाका अतिरिक्त उनलाई संगीत, र्मूिर्तकला, वास्तुकला तथा इन्जिनियरिञको ज्ञान थियो । उनको यो विषयको ज्ञान उनले आफ्नो गाउँ तथा चित्रकलामा पनि पोखेको मानिन्छ । २ मे १५१९ मा निधन भएका लियोनार्दोलाई बुझ्न आज पनि हजारौं पर्यटक उनको भिन्ची गाउँ पुग्ने गर्छन् । 

लियोनार्दोको बारेमा गरिएको एक अनुसन्धानले भन्छ उनको आँखा अलिकति डेढो थियो जसले गर्दा कुनै पनि वस्तुलाई उनी एउटा आखाँले मात्र देखे जसरी एकत्र भएर हेर्थे र त्यसको गहिराईसम्म पुग्थे । उनको दुईवटा चित्र, दुइवटा मूर्ति तथा दुईवटा रेखा चित्रको बारेमा अध्ययन गर्दा १०.३ डिग्रीले बाहिरी छड्केपन देखिएको छ जुन उनको आँखाका काराण भएको अनुसन्धाताको भनाई छ ।

१०.३ डिग्रीको डेढोपन सामान्य नै मानिन्छ तर आँखाले हेर्दा आँखाको नानी भने केही बाहिरतर्फ घुम्छ । 

जेएमए अप्थेल्मोलोजि जनरलमा प्रकाशित रिर्पोटका अनुसार यदि साँच्चै नै लियोनार्दोको आँखा केही डेढो हो भने त्यसले उनलाई समतल क्यानभासमा चित्र कोर्नलाई असाधारण क्षमता प्रदान गरेको हुनुपर्छ । जसले कुनै वस्तुलाई बहुआयामिक ढंगबाट हेर्न र त्यसको गहिराईसम्म नियाल्न मद्दत गर्छ । 

लण्डन सिटी युनिभर्सिटीका प्राध्यापक क्रिस्टोफर टेलरले यो अनुसन्धान गरेका थिए । उनका अनुसार रेमब्राण्ड देखि पिकासोसम्म सबैको आँखा केही डेढो थियो । अहिलेको अनुसन्धानले यस्तो लाग्दैछ कि लियोनार्दोको आँखा पनि केही डेढो थियो । 

करिव ५०० वर्ष अघि लियोनार्दोले सल्वाटोर मुंडी नामक चित्रकला बनाएका थिए । जिसस क्राइष्टको यो चित्रलाई मोनालिसाको पुरुष आकृति भन्नेहरु पनि छन् । यसलाई लियोनार्दोको आखिरी चित्र पनि मानिन्छ ।

धेरै वर्षसम्म यो चित्र बेपत्ता भयो । तर जब १५ नोभेम्बर २०१७ मा यो चित्र लिलामीको लागि बजारमा आयो यसले सबै रेकर्ड ध्वस्त बनायो । 

चित्र लिलाम गृह क्रिस्टीजमा जब यसको बोली ४५ करोड डलर लाग्यो त्यसपछि चित्रकला तथा अन्य पुरातत्व सामग्रीको लिलामीमा सरिक हुने व्यापारी तथा अन्य धनीमानि पनि जिब्रो टोक्न वाध्य भए । 
निलो रंगमा देखाइएको जिससलाई जब अवलोकनकर्ताले हेर्छ उ स्वयंलाई जिससको चित्रले हेरे झैं भान हुन्छ ।

यो चित्रको स्वामित्वका बारे पेचिलो इतिहास छ । यो चित्र कुनै बेला फ्रान्सका १२ औं राजा लुईसँग थियो भने त्यसपछि ब्रिटिश राजपरिवारको हातमा पुग्यो । ब्रिटिश राजपरिवार पछि यो चित्र लामो समयसम्म कहाँ थियो भन्ने जानकारी कसैलाई भएन । सन् १९५८मा एकजना ब्रिटिश नागरिकले यसलाई ४५ पाउण्डमा बिक्री गरे ।

त्यसपछि फेरि धेरै समय यो चित्र गायब भयो । पछि सन् २००५मा यसलाई अमेरिकी लिलाम गृहले १०००० भन्दा कम डलरमा खरिद गर्यो । कतै यो चित्र फर्जी त होइन भन्ने आशंकामा ६ वर्षसम्मको अनुसन्धान पछि यो लियोनार्दोको असली चित्र भएको प्रमाणित भयो । 

अहिलेसम्म लियोनार्दोका २० भन्दा कम  चित्रकला मात्रै संसारमा रहेका छन् । 

लियोनार्दोको विश्व प्रसिद्ध चित्र मोनालिसको बारेमा नसुन्नै शायदै होलान् । यो चित्र कसको हो र लियोनार्दोले यसलाई कहिले बनाए भन्ने बारेमा आजसम्म पनि अनुमान जारी नै छ । 

यो महिलाको तस्वीर नै होइन महिलाको भेषमा पुरुषको तस्वीर हो र स्वयं लियोनार्दोकै हो भन्नेहरु पनि छन् । तर मोनालिसा माथि अनुसन्धान गरिरहेका टेक्सासका विलियम वारवेलका अनुसार मोनालिसा फ्लोरेन्सको रेशम व्यापारीको पत्नी जसको असली नाम लिसा दे जियोकांदो हो ।

यो निष्कर्षमा पुग्नका लागि वारवेललाई १२ वर्षको समय लाग्यो । यसको बारेमा उनले १८० पृष्ठको किताब पनि लेखेका छन् । 

फ्रान्सको लुभ्र संग्रहालयमा रहेको यो चित्र लियोनार्दोको मृत्युपछि फ्रान्सका राजाको निजी संग्रह बन्यो । फ्रान्सेली क्रान्तिपिछ नेपोलियनले यसलाई आफ्नो शयन कक्षमा सजाए ।

१८१५ पछि भने यसलाई फ्रान्सको लुभ्र संग्रहालयमा राखिएको छ । 

आधुनिक विज्ञानमा उनलाई पोलिम्याथको उपाधी प्राप्त छ ।