कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १३४ जना निर्वाचनबाट चुनिँदै

कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १३४ जना निर्वाचनबाट चुनिँदै

न्युज कारखाना  |  समाचार  |  मंसिर २१, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा सुरु हुँदै छ । वडा, पालिका, क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन सकेपछि कांग्रेसको केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसले तल्लो तहदेखि नै सर्वसम्मत र निर्वाचनका माध्यमबाट कार्यसमिति चयन गर्दै आएको छ । यस आधारमा झन्डै ८ हजार कांग्रेसका नेता, कार्यकर्ता पार्टीमा नयाँ आइसकेका छन् ।

मुलुक संघीयतामा गएपछि कांग्रेसले पनि पार्टीको संरचना सोहीअनुसार ढालेको छ । पहिलो पटक कांग्रेसले प्रदेश संरचनाको अधिवेशन पनि गरेको छ । प्रदेश २ बाहेक ६ वटै प्रदेश कार्यसमिति चयन भइसकेको छ । 

६१ वटा जिल्ला र ६ वटा प्रदेशमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस केन्द्रीय महाधिवेशनमा जुटेको हो । कांग्रेसको केन्द्रीय कार्यसमिति १३४ सदस्यीय हुनेछ । कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनेछन् । कांग्रेस विधानमा प्रवक्ताबारे केही उल्लेख नभए पनि पदाधिकारीकै हैसियत दिइएको छ । कोषाध्यक्ष र प्रवक्ता दुवै पदाधिकारी हुनेछन् ।

कांग्रेसमा सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ (खस-आर्य, जनजाति, महिला, मधेसी, मुस्लिम, थारू, दलित र पिछडिएको क्षेत्रबाट एक-एक जना) गरी १३ जना निर्वाचनमार्फत आउनेछन् ।

कांग्रेसले समावेशी सिद्धान्त अख्तियार गरेको छ । केन्द्रीय सदस्य खुलातर्फ ३५ जना निर्वाचनबाट आउनेछन् । १३औँ महाधिवेशनमा खुलातर्फ २५ जना निर्वाचनका माध्यमबाट आएका थिए । यस पटक १० जना थपिएको छ । 

यस्तै, सात प्रदेशबाट महिलासहित २१ जना, खुला महिलाबाट ९, खस-आर्यबार्ट ६ महिलासहित १३, आदिवासी जनजातिबाट ७ महिलासहित १५, मधेसीबाट ४ महिलासहित ९, दलितबाट ४ महिलासहित ९, थारूबाट २ महिलासहित ४, मुस्लिमबाट एक महिलासहित ३, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी १३४ जनाको निर्वाचन हुनेछ ।

केन्द्रीय सभापतिको हकमा १५ वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने र बाँकी पदाधिकारी-सदस्यको हकमा १० वर्ष क्रियाशील सदस्यता लिए पुग्नेछ ।