विचार र व्यवहार नबदलिई नेतृत्व बदल्ने महाधिवेशनको औचित्य के ?

विचार र व्यवहार नबदलिई नेतृत्व बदल्ने महाधिवेशनको औचित्य के ?

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  मंसिर २५, २०७८

नेकपा एमालेको दशौँ महाधिवेशन भर्खर सम्पन्न भयो, कांग्रेसले आजदेखि गर्दै छ, राप्रपामा कमल थापाविरुद्घ राजेन्द्र लिङ्देन विजयी भए भने माओवादी केन्द्र पनि अधिवेशन गर्ने तयारीमै छ ।

यी महाधिवेशन एकातिर पार्टी वैधानिकताका लागि आवश्यक छन् भने अर्कातिर यी महाधिवेशनले आमजनताको मनमा तमाम प्रश्नहरू पनि जन्माएका छन् । महाधिवेशन भन्नेबित्तिकै वैचारिक बहस, सक्षम र कुशल नेतृत्वको खोजी, पार्टी सुदृढीकरण, कार्यकर्तामा एकरूपताका लागि महत्त्वपूर्ण मौका वा प्रमुख ठाउँ हो । तर, अहिलेका दलहरूको महाधिवेशनमा भने यी कुराले खासै महत्त्व पाउन सकेनन् ।

यो किन ? के सत्ता प्राप्ति मात्र राजनीतिक दलको उद्देश्य हो ? यदि त्यसो हो भने दलको आवश्यकता छैन भन्न सकिन्छ किन भने मुलुक त मन्त्रालयका सचिव, प्रहरी र सेनाका हाकिमले चलाए पनि त भइहाल्छ नि !

राजनीतिमा सत्ता प्राप्त दलहरूको प्रमुख काम के हो भन्ने प्रश्न सबैभन्दा महत्त्वपूर्ण प्रश्न हो । राजनीतिक दलहरूले प्रस्तुत गर्ने विचार, नेतृत्व, कार्यक्रम र कार्यदिशालाई हेरेर जनताले दलहरूप्रतिको धारणा निर्माण गर्ने हो भने यी महाधिवेशनमा यी कुराको कुनै भूमिका नै देखिएन, किन ? 

यसैले भन्न सकिन्छ- महाधिवेशनको औचित्य के ? प्रश्न उठ्नु स्वाभाविक हो र प्रश्न उठ्नु पनि पर्छ । कुशल नेतृत्व चयन, विचारमा स्पष्टता, नेता-कार्यकर्ता व्यावस्थापन र जनप्रिय कार्यक्रम हुनु नै महाधिवेशनको लक्ष्य हुनुपर्ने हो । तर, वर्तमानमा चर्चामा रहेका महाधिवेशनमा यी कुराको खासै माने रहेन भन्न सकिने ठाउँ छ ।

कुनै पनि राजनीतिक दलले आफ्नो अस्तित्वका लागि कुनै न कुनै विचारधारा अँगाल्न जरुरी हुन्छ । त्यो विचारधाराले निरन्तर छलफल, व्याख्या र विमर्शको माग गर्छ र त्यसै विचारको आधारमा पार्टीभित्रका विभिन्न तहमा छलफल हुँदै महाधिवेशनसम्म आइ्रपुग्दा त्यसले निखारिएको केही अभिव्यक्ति पाउँछ र अर्काे अधिवेशन नहुन्जेलसम्म नेतृत्वले दललाई सोही रूपमा अगाडि बढाउँछ । यो सामान्यतया दल संचालनको प्रक्रिया हो भने यो कुरा अहिलेका महाधिवेशनमा नदेखिनु नै प्रश्न जन्मनु हो । यस कारण के भन्न सकिन्छ भने, विगतमा भयका अधिवेशन, वर्तमानमा हुँदै गरेका अधिवेशन र भविष्यमा हुने अधिवेशनको औचित्यमाथि प्रश्न उठ्नु जायज हो । 

लोकतान्त्रिक राजनीतिक व्यवस्थामा राजनीतिक दलहरूको सान्दर्भिकता र उपयोगिता पुनर्स्थापित गर्ने हो भने औचित्यहीन अधिवेशन र नेतृत्वको नाममा दललाई एउटा ठूलो सामन्ती अखडा बनाउनुको कुनै मूल्य छैन । यस कारण पार्टी संचालनको आन्तरिक पद्धति नै सबैभन्दा पहिले बहसको विषय बनाउन जरुरी छ ।

महाधिवेशनले त पार्टीलाई मात्र होइन, देश र जनतालाई समेत के दियो भन्ने कुरा हुन्छ । यो त नयाँ चिज निर्माण गर्ने ठाउँ हो । नयाँ नेतृत्व, नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ कार्यदिशा निर्माण र कार्यन्वयन गर्ने प्रमुख पद्धति हो । यसले समग्र मुलुकलाई समेत कुन दिशातिर लैजाने भन्ने कुराको निर्क्योल गर्ने गर्छ । त्यस कारण यहाँ पार्टीको मात्र कुरा होइन, देशले के पायो भन्ने कुरा प्रमुख हो ।

त्यसैले यी महाधिवेशनबाट न त देशले केही पाउँछ, न जनताले नै केही पाउँछन् । यसैले अब यिनको औचित्य खोज्नुपर्छ । २-३ पटक प्रधानमन्त्री भइसकेका ७-८ वर्ष पार्टीको नेतृत्व गरेका र जनताको मनमा बस्न नसक्ने व्याक्ति नै फेरि नेतृत्वमा आउनु नेपालका राजनीतिक दलहरू र वर्तमानका महाधिवेशनको विवशता हो । यसैले आजको मुख्य समस्या नै यहीँनेर छ ।

एमालेका अध्यक्ष भएर केपी ओलीले कुनै अलौकिक काम गर्नेछन् भन्ने ठान्नु भूल हो । कमल थापालाई ठूलो मतान्तरले पराजित गरेर विजयी भएका राजेन्द्र लिङ्देनले केही लछारपाटो लाउन सक्नेछैनन् । कांग्रेसमा देउवा नै आए पनि वा अरू जो कोही आए पनि यिनीहरूले केही गर्न सक्नेछैनन् भन्न सकिन्छ । किनभने मुख्य चिज नै राजनीतिक इमानदारी र कुशल व्यवस्थापन हो, सही राजनीतिक व्यवस्था हो । व्यवस्था नै पछौटे र दलाल भएपछि व्यक्ति त त्यसैको मतियार हुने हो ।

अहिले देखिएका सबै नेताहरू यही दलाल व्यवस्थाका मतियारहरू हुन् । यिनले महाधिवेशन सम्पन्न मात्र होइन, २-४ दशक प्रधानमन्त्री भए पनि यिनीहरूले केही गर्न सक्दैनन् भन्ने आधार आमजनले बुझेका छन् ।

त्यसैले आजको मुख्य समस्या अथवा समाज, राजनीति र आर्थिक क्षेत्रको प्रमुख अन्तरविरोध भनेको नै दलालीकरण हो । यसलाई चिर्नका लागि यी दल र दलका दलालहरूबाट संभव छैन भन्ने कुरा हामीले देखेकै छौँ । यसैले यसको समाधानको उपाय एउटै हो- नेपाली जनले आफ्नो खुट्टामा उभिएर मुलुक र आमजनको अवस्था बदल्ने बाटो रोज्नुपर्छ । आजको नेपाली जनको प्रमुख कर्तव्य पनि हो यो । यसैले भन्न सकिन्छ- यी तामझामको औचित्य के ? यी बथान उतार्नुको महत्त्व के ? त्यसैले यसको विकल्प नेपाली जनताले खोज्न जरुरी  छ ।

समाजको मुख्य समस्यालाई नै समाधान गर्न नसक्ने अझ भन्दा, परीक्षण भइसकेको नेतृत्व नै पुन: नेतृत्व तहमा आउनु नै यी महाधिवेशनको औचित्य के भन्ने प्रश्न उठ्छ । ओली आए पनि, लिङ्देन आए पनि, देउवा वा पौडेल वा अरू कोही आए पनि देश र जनताले भोग्ने नियति यही हो । 

लोकतान्त्रिक राजनीतिक व्यवस्थामा राजनीतिक दलहरूको सान्दर्भिकता र उपयोगिता पुनर्स्थापित गर्ने हो भने औचित्यहीन अधिवेशन र नेतृत्वको नाममा दललाई एउटा ठूलो सामन्ती अखडा बनाउनुको कुनै मूल्य छैन । यस कारण पार्टी संचालनको आन्तरिक पद्धति नै सबैभन्दा पहिले बहसको विषय बनाउन जरुरी छ ।