नेपाली राजनीतिका भीष्म पितामहहरू कुर्सीमै मर्न चाहन्छन्

नेपाली राजनीतिका भीष्म पितामहहरू कुर्सीमै मर्न चाहन्छन्

रूपक अलङ्कार  |  दृष्टिकोण  |  मंसिर २९, २०७८

नेतृत्व चयन वा परिवर्तन भन्ने कुरा झट्ट सुन्दा राजनीतिक जस्तो लागे पनि यो एउट महत्त्वपूर्ण संस्कृति हो । नेतृत्व परिवर्तनको मोडबाटै युग परिवर्तको सीमा बाँधिएको इतिहास पढ्न पाइन्छ । नेतृत्व परिवर्तन विचारले गरे पनि बलले गरे पनि इतिहासका लागि त्यो एउटा महत्त्वपूर्ण घटना हुन पुग्छ । यो संसार कसै न कसैको नेतृत्वमा अगाडि बढेको हुन्छ । नेतृत्वमा कहिले देश हुन्छ कहिले व्यक्ति । चलिरहेको व्यवस्थालाई सकारात्मक अतिक्रमण गरेर क्रान्ति गर्न सक्ने व्यक्ति नै वास्तवमा नेता हुन्छ ।

नेताको पूजा र प्रशंसा बुझ्नलाई ऋग्वेदको 'अग्निमिडे पुरोहितम्' (हाम्रा पुरोहित अग्निको स्तुति गर्दछौँ) भन्ने पहिलो ऋचामा पुग्नुपर्ने हुन्छ । पुरोहित दुब्लाएर पुरेत भए तापनि पुरोहितको शाब्दिक अर्थ अगाडि लागेर हित गर्ने भन्ने हुन्छ । यसरी अगाडि लागेर अरूको हित गर्ने अर्थमा अग्निलाई नेता मनिन्छ । नेताले पनि अघि लागेर अरूको हित गर्ने हो । जब नेताबाट अहित हुन थाल्छ तब अनुयायीले उसलाई फालेर अर्काे नेता ल्याउँछन् ।

असुरको सत्ता फालेर क्रान्ति गरेकाले देवीलाई नेता मनिन्छ । कंसको अत्याचारविरुद्ध लड्ने कृष्ण नेता हुन् । सबै धनुर्धरका अगाडि आफ्नो कौशल देखाउने अर्जुन महाभारत युद्धको नेता भए । चरम कर्मकाण्डीय चक्करका विरुद्ध समावेशी चिन्तन अद्धि सार्ने बुद्ध नेता हुन् । दुखी, दीनहीनका घाउमा मह्लम लगाउन अघि सर्ने इसामसिह पनि नेता हुन् । अहिले अलौकिक शक्तिको पगरी लगाएर भगवानको आसनमा आसीन गराए तापनि यी व्यक्तिहरू कुनै बेलाकोे समाजलाई गति दिने नेता नै हुन् ।

आधुनिक विश्वको निर्माणमा पनि अनेकौँ नेता उदाएका छन् नेपोलियन, लिंकन, विस्मार्क, लेनीन, गान्धी, रुजबेल्ट, पृथ्वीनारायण, विश्वेश्वर, मदन । कोही वैचारिक शक्ति र कोही सैन्यशक्तिका कारण नेतृत्वमा उदाएका कुरा भने मननीय पक्ष हो । कसैलाई चिन्तनले नेता बनाएको र कसैलाई युद्धले नेता बनाएको तथ्य देखिन्छ । नेता छान्ने विभिन्न तरिका हुन सक्छन् । द्रव्य शाह दौड जितेर राजा भएको इतिहास त हामीले पढेकै छौँ । शारीरिक बलको महत्त्व भएको युगमा बलियाबांगा नेतृत्वमा आए भने नीतिको महत्त्व भएको समयमा वैचारिक मान्छे नेतृत्वमा आए । यसलाई स्वाभाविक प्रक्रिया मान्नुपर्छ । जे होस्, नेता छान्ने पद्धति पृथक् भए पनि नेता छान्ने परंपरा भने पुरानो भएकाले यसलाई संस्कृतिसित जोड्नुपरेको हो ।

नेताले आफू नेता बन्नका लागि महत्त्वपूर्ण काम गरेकै हुनुपर्छ । नेतासित सबैको प्रत्यक्ष सरोकार रहेको हुन्छ । बजारको सामान सबैले नकिन्न सक्छ । कुनै लेखकको साहित्य सबैले नपढ्न सक्छन् । कुनै गायकको गीत सबैले नसुन्न सक्छन् तर कुनै योग्य नेतृत्वबाट भएको परिवर्तनबाट सबै लाभान्वित हुन्छन् नै । त्यस कारण नेतृत्वको निर्मिति र परिर्वतनले दीर्घकालीन असर गर्छ ।

नेतृत्व परिर्वत समयमै हुन नसक्दा नकारात्मक असरहरू देखिन थाल्छन् । पहिलो कुरो त ऊभन्दा उपयुक्त व्यक्तिले अवसर पाउँदैन र विकासको गति शिथिल हुन्छ । अर्काे कुरा मानिस आफैँ सधैँ उत्तिकै उत्साहका साथ कार्यसम्पादन गर्ने अवस्थामा हुँदैन, जसका कारण उसले उमेरमा गरेका सकारात्मक काम पनि छायामा पर्दै जान्छन् । उसको चरित्रमा पनि खिया लाग्दै जान्छ । उदाहरणका रूपमा महाभारतका भीष्मलाई लिन सकिन्छ । उनले समयमै हस्तिनापुरको जिम्मेवारीबाट बिदा लिन सकेनन् ।

म नभए त राज्य बर्बाद हुन्छ । विनास हुन्छ भन्ने विचारका कारण उनी हस्तिनापुरको सेरेमोनियल जिम्मेवारीमा लिसो भइरहे । न उनले द्रौपदीको चिरहरणलाई रोक्न सके, न त हस्तिनापुरको चिरहरणलाई रोक्न सके । उल्टै दुर्याेधनको सेनापति भएर स्नेहपूर्वक पालेर हुर्काएका पाण्डवविरुद्ध लड्नुपर्‍यो ।  सबै मरिसक्दा पनि सरशय्यामा छट्पटाइरहे । त्यस कारण बुद्धिमान् नेताले आफूले सकेको काम तीव्र उत्साहका साथ गरेर । आफ्नो आकर्षण नघट्दै अर्काे व्यक्तिलाई अवसर दिन सक्नुपर्छ ।

जहानियाँ नेतृत्वका विरुद्ध विगतमा आन्दोलन गरियो, छोरो नेतृत्वमा पुग्न बाउको मृत्यु कुर्नुपर्ने पद्धति उत्साहजनक अवश्य पनि होइन । त्यसै अभियानको राजेन्द्र लिङ्देन नेतृत्वमा आउँदा खुसी किन हुनुपर्‍यो र ? कांग्रेसमा पनि फलानाका विरासत र ढिस्कानाका विरासत भनेका बारम्बार सुनियो तर राजनीति विरासतले चल्ने होइन, नेतृत्वको दमले चल्ने हो

नेपालका राजनीतिक दलहरू धमाधम महाधिवेशनको रफ्तारमा छन् । महाधिवेशन भनेको नीति र नेताको छनोट हुने प्रक्रिया भएकाले राजनीतिमा यसको महत्त्व बढी नै हुने गरेको छ । नेतासित २ वटा गुण हुनु अनिवार्य छ- नेतृत्व र नीति । नीतिको नेतीले मन्थन गरेको विचारले आफ्नो अभियानमा जनतालाई गोलबद्ध बनाउन सक्ने मानिस नै असल नेता बन्न सक्छ । समयले आफ्नै लयमा नेताको परिवर्तन गर्ने कुरा त छँदै छ बेग्लै भयो, समयको मागलाई बुझेर नेतृत्वमा आउन सक्ने नेताले भने युगौँसम्म आफ्नो छाप छाड्न सक्छ । 

राजनीतिक दलहरूको महाधिवेशन आउँदा नीति परिमार्जनका विषयमा भन्दा पनि नेतृत्वका विषयमा बढी बहस र चासो हुने गरेको छ । देश र राजनीतिलाई दीर्घकालीन असर नीतिले गर्छ तर त्यतातिर चासो कम भएकाले राजनीति गणेश प्रवृत्तिमा वा व्यक्ति पूजामा चलिरहेको छ भन्ने स्पष्ट हुन्छ । जो व्यक्ति सत्तामा छ, सरकारमा छ, जसले गणेशहरूलाई मोदक ख्वाउन सक्छ, उही व्यक्ति नै नेतृत्वमा दोहोरिने कुरा यस्तो स्थितिमा जगजाहेर छ । 

अधिवेशनका क्रममा राप्रपाले नयाँ नेतृत्व चयन गरेको छ तर नयाँ नेतृत्वको अभियान भने झन् पुरानो छ । जहानियाँ नेतृत्वका विरुद्ध विगतमा आन्दोलन गरियो, छोरो नेतृत्वमा पुग्न बाउको मृत्यु कुर्नुपर्ने पद्धति उत्साहजनक अवश्य पनि होइन । त्यसै अभियानको राजेन्द्र लिङ्देन नेतृत्वमा आउँदा खुसी किन हुनुपर्‍यो र ? कांग्रेसमा पनि फलानाका विरासत र ढिस्कानाका विरासत भनेका बारम्बार सुनियो तर राजनीति विरासतले चल्ने होइन, नेतृत्वको दमले चल्ने हो । विरासत नीतिको हुनुपर्थ्यो तर यहाँ गुटको भएको छ र कुरा बिग्रेको हो ।

बाँकी नेकपा एमाले र नेपाली कांग्रेसमा पुरानै अनुहार नेतृत्वमा आएका छन् । माओवादीमा नेतृत्व परिवर्तन हुने कुरा स्वयं माओवादीहरूले सपनामा पनि देखेका छैनन् भने हामीले किन कल्पना गर्नु ? पटक पटक महासचिव भएर, अध्यक्षमा हारेर पनि राजनीतिबाट नअघाएका माधव नेपालको नेतृत्वमा बनेको नेकपा (एकीकृत समाजवादी)मा पनि माधव नेपालको पालामा नेतृत्व परिवर्तन नहोला । 

यसरी हेर्दा नेपालको राजनीतिमा आशा गर्नुपर्ने कुनै नेतृत्व देखिँदैन । अहिले राजनीतिका पार्टीमा अगुवा बनेकाहरू कोही पनि यस्तो व्यक्ति छैन, जसले अवसर नपाएको होस् । पटक पटक मन्त्री भएका, पटक पटक प्रधानमन्त्री भएका व्यक्ति नै छन् । यिनले गर्ने वा सक्ने भए त पहिले पनि केही गर्दा हुन् । पंचायतको अवसानपछि यिनैले काँध हालेका हुन् देशलाई । यिनमा देखिएको सन्तोष र खुसी देख्दा यिनले बनाउने जति देश बनिसक्यो । अब अरू बनाउने भए मान्छे पनि अरू नै चहिन्छ । जे भए पनि फेरि नेतृत्वमा आउनका लागि बाटो खनेका रहेछन् भनेर बुझौँ । त्यो बाटो नीतिको थ्यो वा कसैको ।
  
नेपाली राजनीतिमा पनि भीष्म पुरुषहरू छन् । भीष्म पितामह छन् । पितामहले प्रपौत्रलाई स्नेह गर्ने हो उनीहरूसित जोरी खोज्ने होइन । नेपाली राजनीतिका भीष्म पितामहहरू हस्तिनापुरमा टाँसिइरहन चाहन्छन् । कुर्सी वा पदलाई अँगालो मारेरै मर्न चाहन्छन् । हाम्रो संस्कृति भनेको ५० पर्षमा वानप्रस्थ र ७५ वर्षमा संन्यास हो तर यहाँ त ७५ मा पनि 'अब एकचोटि मलाई जिताउनुहोस्, देश र पार्टी सुधार्छु' भनिरहेका छन् । के भइरहेको छ यहाँ ?