कांग्रेस महाधिवेशन : २ अंकको दुःख बेहोर्ने यी नेता

कांग्रेस महाधिवेशन : २ अंकको दुःख बेहोर्ने यी नेता

न्युज कारखाना  |  समाचार  |  पुष १, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा २ अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय २ उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक विजयकुमार गच्छदार २ मतको कमीले निर्वाचित हुनबाट बन्चित रहे । 

सभापतिमा गच्छदारसँगै पूर्णबहादुर खड्का, धनराज गुरुङ, डा. चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाह चुनावी मैदानमा थिए । गच्छदार र खड्का संस्थापनबाट उम्मेदवार बन्दा भण्डारी र गुरुङ संस्थापनइतर डा. शेखर कोइरालाको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

यसैगरी प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला र विमलेन्द्र निधिको प्यानलबाट शाह उपसभापतिका लागि प्रतिस्पर्धा गरेका थिए । यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा महेश आचार्य पनि उपसभापतिको दौडमा सहभागी भएका थिए । 

बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम सार्वजनिक हुँदा संस्थापन समूहका खड्काले सबैभन्दा बढी २ हजार १२१ मत ल्याएर विजयी भए भने कोइराला पक्षका गुरुङले एक हजार ९०८ मत ल्याएर उपसभापतिमा निर्वाचित भए । तर, गुरुङभन्दा २ मत कमी एक हजार ९०५ भोट ल्याएर निर्वाचित हुने मौका गच्छदारले गुमाए । 

गच्छदारपछि क्रमशः भण्डारीले एक हजार ५८०, कोइरालाले ६४४, आचार्यले ५८९ र शाहले १३२ मत ल्याएर उपसभापतिमा हार बेहोरे । 

केन्द्रको निर्वाचनमा गच्छदारले भोगेको पीडा कांग्रेस प्रदेश १ सभापतिका लागि भएको निर्वाचनमा गुरुराज घिमिरेले भोग्नुपरेको थियो । प्रदेश १ सभापतिका लागि भएको निर्वाचनको गत २० मंसिरमा सार्वजनिक मत परिणामअनुसार घिमिरेले पनि गच्छदारले जस्तै २ मत कमीले हार बेहोरेका थिए । घिमिरेलाई २ मतले पछि पार्दै उद्धव थापा कांग्रेस प्रदेश १ सभापतिमा निर्वाचित भए । 

थापाले ८४४ मत ल्याएर विजयी हुँदा घिमिरेले ८४२ भोट ल्याएर हार बेहोरे । नेविसंघका पूर्वअध्यक्ष तथा तत्कालीन (चुनाव लड्दा) पार्टीको केन्द्रीय सदस्यको हैसियतमा रहेका घिमिरे प्रदेश सभापतिमा पराजित भएका हुन् । थापा झापा जिल्लाका पूर्वसभापति थिए । 

तर, घिमिरेको हारमा आफ्नै समूहका नेताहरूले भोट हाल्न नहाल्दाको परिणाम रहेको टिप्पणीसमेत भयो । प्रदेश निर्वाचनमा संस्थापनइतर पक्षमा देखिएका डा. शेखर कोइराला, सुजाता कोइराला र महेश आचार्यले भोट नै हालेनन् भने विश्वप्रकाश शर्मा भोट हाल्नै गएनन् ।

केन्द्रीय निर्वाचनमा आउँदा छिन्नभिन्न भए पनि उनीहरू प्रदेश निर्वाचमा एकै स्थानमा रहे पनि मतदानमा भने सहभागी भएनन् । यस कारण घिमिरे पराजित हुन पुगेका कांग्रेसभित्र चर्चा चल्यो ।