प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड, २०२१’ स्थगित

प्रतिस्पर्धी सुन्दरीमा कोरोना देखिएपछि ‘मिस वर्ल्ड, २०२१’ स्थगित

एजेन्सी  |  विदेश  |  पुष २, २०७८

कोरोना भाइरसको बढ्दो समस्याका कारण विश्व चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड, २०२१’ स्थगित भएको छ । आयोजकले प्रतियोगितामा सहभागी कैयौँ प्रतिस्पर्धीलाई कोरोना संक्रमण देखिएकाले स्थगित गर्नुपरेको जनाएको छ ।

प्रतियोगिताको समापन बिहीबार सेन जुआनको कोलिसियो डी प्युर्टो रिकोमा हुँदै थियो । तर, समापनअघि नै आयोजकले प्रतियोगिता स्थगित गरेका छन् । प्रतियोगिताको आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आयोजकले एक पोस्ट गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।

समाचारअनुसार प्रतियोगितामा सहभागी १७ जना प्रतिस्पर्धीमा कोरोना पजिटिभ देखिएको छ, जसमा भारतीय सुन्दरी मनासा पनि छन् । आयोजकका अनुसार संक्रमितमध्ये ७ जना आइसोलेसनमा छन् । अन्य प्रतियोगीहरूका लागि आवश्यक सुरक्षा मापदण्ड अपनाइएको छ, जसका कारण कोरोना संक्रमण रोकिनेमा आयोजक विश्वस्त छन् ।

आयोजकले आगामी ९० दिनभित्र अहिलेकै स्थानमा प्रतियोगिता आयोजना गर्ने जनाएको छ । प्रतियोगीहरू र सम्बन्धित कर्मचारीहरूलाई एकान्तवास र निगरानीमा राखिएको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरूको मञ्जुरीपछि उनीहरूलाई घर फर्कन अनुमति दिइने बताइएको छ । आयोजकले प्युर्टो रिको स्वास्थ्य विभागसँग परामर्श गर्न भायरोलोजिस्ट र चिकित्सकहरूसँग बैठक बसेर प्रतियोगिता स्थगितको निर्णय लिएको हो ।