केही जेलिएका प्रश्न– सपना, अमरता र मानिसको अनित्य जीवन

फर्कलान् र ती दिनहरू

केही जेलिएका प्रश्न– सपना, अमरता र मानिसको अनित्य जीवन

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  पुष ३, २०७८

यो ब्रह्माण्डमा यस पृथ्वीबाहेक अरू ग्रह, तारा र अन्तरिक्षमा देखिने/नदेखिने ठाउँहरूमा हामी मानिस जस्तै प्राणीको अस्तित्व होला या नहोला, थाहा छैन किनभने हाम्रो पहुँच अनुमानका भरमा सीमित छ । तर, अहिलेसम्मको खोजी र अनुसन्धानबाट अरू ग्रह या स्थानमा सजीव प्राणी, त्यो पनि मानिस जस्तै विवेकशील, आफ्ना कुराहरूलाई सम्प्रेषण गर्न पनि सक्ने र उचित प्रतिक्रिया लिन दिन सक्ने अरू कुनै प्राणीका बारेमा जानकारी प्राप्त हुन सकेको छैन आजका मितिसम्म ।

मानिसले आफ्ना खोजी जारी राखेको छ अनवरत । तर, मानिसलाई हामी मानिसहरूले नै अनेक नाम, विशेषण दिएका छौँ- बुद्धिमान, चलाख, स्वप्नशील, स्वप्नद्रष्टा, दूरद्रष्टा आदिआदि । स्वप्नशील वा स्वप्नद्रष्टा किन भनिएको होला ? थाहा छैन । स्वप्न वा सपना के हो त ? यसलाई कसैले मानेका छन्- यो त विपनाका अनेक अनुभवहरूको समग्र परिणामहरूको निचोड हो । देखेका, अनुभव भएका कुराहरूलाई कसरी मस्तिष्कले बुझेको हुन्छ, त्यसको प्रतिबिम्ब भनेको सपना हो । कसैले विपनाका कुण्ठाहरूलाई रक्षात्मक रूपमा आफैँ ठूलो देखाउनका लागि गरिएको महाकल्पना मात्र हो भनेका छन् ।

वास्तवमा के देखिन्छ, कहिले देखिन्छ र किन देखिन्छ सपना भन्ने कुरा अनुमान र परामनोविज्ञानमा आधारित छ । जसले पनि अनुमान लगायो, फगत अनुमान मात्र लगायो । कतिले त भन्ने गरेका छन्- व्यक्तिलाई सपनामा आगामी घटनाको संकेत आउँछ । ‘मैले यस्तो सपना देखेको छु, यो काम गर्नू या नगर्नू’ भनेर सुझाव दिनेहरू हाम्रै समाजमा देखिन्छन् ।

मेरी आमा भन्नुहुन्थ्यो, म संसारमा आउने बेलाताका, म गर्भमा हुँदा नै बिहानीपख उहाँले गणेशको मूर्ति देख्नुभएको थियो रे महादेवसँगै, पार्वतीसँग । अलिक अप्ठ्यारोमा रहेको मन्दिरमा गणेशको मूर्ति थियो र आमाले ‘मेरो भावी सन्तान विद्वान् वा विदुषी होस्’ भनेर वरदान माग्नुभएको थियो रे ! एक जना जान्ने ज्योतिषी काशीनाथ घिमिरेले पहिलो सन्तान छोरो नै हुने भनेर ठोकुवा नै गर्नुभएको थियो रे !

थाहा छैन, कसरी देखिन्छ र किन देखिन्छ सपना ? कहिले लाग्छ- बा र आमासँग सपनामा भेट होस् र उहाँहरूको माया पाउन सकियोस् किनभने अब यो दुनियाँमा उहाँहरूलाई भेटिँदैन, मात्र सम्झनामा, कल्पनामा, जेहेनमा र ताजा हुने भावनामा । तर, जब मैले सपनामा देखेको छु, त्यस बेला उहाँहरू हुनुहुन्न भन्ने भावना नै हुँदैन । कहिलेकाहीँ बाले भन्नुहुन्छ, ‘ल म कतै जान लागेँ, तँ यतै बस् है !’ अनि, म बिहान उठेपछि यदि सबै कुराहरू सम्झनामा आए भने किन बाले मलाई बस् भन्नुभयो होला भने उहाँ त स्वर्गतिर  जानुभयो, मलाई लिएर नजानका लागि वा मेरो अवधि बाँकी रहेको हुनाले जाऊँ भन्नुभएन भन्ने अर्थ लगाइन्छ ।

वास्तवमा त्यसरी भेट भएको बेलामा कसैले ‘मलाई छाडेर किन तपाईं जानुभएको ?’ भनेर सोधेमा भन्ने जबाफ त्यही हो, ‘म कहाँ गएको छु र ? तँैसँग छु नि !’ वास्तवमा बा र आमा हामीसँग हुनुहुन्छ नि, यदि बा आमा स्वर्गीय हुनुभएको कोही व्यक्ति छ भने । अनि, कतिले के पनि सम्झन्छन् भने, सपनामा देखेको अनुहारका आधारमा कति खुसी र दुःखी हुनुहुन्छ- मृतात्माको आत्मा आत्मीय मानिस भनेर जीवित हुनेले ।

मासु खाँदाखाँदै मेरो दाँत फुक्लियो । यसो हेरेको, मुखमा रगत आइरहेको थियो । स्याहार गर्न भनेर राती आमाको छेउमा सुतेको कुरा मैले बिर्सिएँ र दाँत झरेकामा चिन्ता गर्दै गर्दा झल्याँस्स ब्युझिएँ । मसँग उहाँले तातो पानी माग्दै हुुनुहुन्थ्यो

सपनाका कुुरा मनोविज्ञानको नसुल्झिएको रहस्य हो । जसरी हाम्रो मृत्युलोक छ पृथ्वीको रूपमा, त्यस्तै स्वप्नलोक पनि छ हामीसँगै । मेरो जीवनमा पनि एउटा घटना भएको सम्झन्छु । मेरी आमासँगै नजिकै सुतेको हुन्थेँ म, उहाँको रातीको ओखती खुवाउन र पानी माग्दा पानी दिन । २३ चैत २०७० को राती थियो । बिहानीपख भएको रहेछ । मैले मासु छाडेको ४ वर्ष भइसकेको थियो तर सपनामा म मासु र भात खान बसेको थिएँ ।

मासु खाँदाखाँदै मेरो दाँत फुक्लियो । यसो हेरेको, मुखमा रगत आइरहेको थियो । स्याहार गर्न भनेर राती आमाको छेउमा सुतेको कुरा मैले बिर्सिएँ र दाँत झरेकामा चिन्ता गर्दै गर्दा झल्याँस्स ब्युझिएँ । मसँग उहाँले तातो पानी माग्दै हुुनुहुन्थ्यो । 

मलाई सपनामा विश्वास त लाग्दैन तर किन आज यस्तो सपना देखेको हुँ भन्नेचाहिँ लाग्यो । यो कुरा मैले आफ्नी पत्नीलाई भनेँ र आफैँलाई सम्झाएँ- त्यो मासु त मलाई आमाले नै दिनुभएको थियो सपनामा । सपनाको कुनै संकेत थियो कि थाहा छैन, मासुको भोजको संकेत हो कि, दाँत झरेको संकेत हो कि, के हो तर मैले त्यस्तो सपना देखेकै दिन जननीसँग सदाका लागि बिछोड हुनुपरेको थियो । 

त्यसो त एउटा दन्त्यकथा छ- दाँत झरेको सपना र ज्योतिषीको भविष्यवाणीका बारेमा । कुनै देशका राजाले सपनामा आफ्ना सबै दाँत झरेको देखेछन् र आफ्नो राज्यका जान्ने सपनाविद् तथा ज्योतिषीहरूसँग त्यसको फलका बारेमा जानकारी लिन थालेछन् । कतिले त आफ्नो ब्रह्मले देखेको र सपनाशास्त्रले भनेको भन्दा आफूले डरले एकदम राम्रो भनेछन् तर एक जना निडर तर जान्ने ज्योतिषीलेचाहिँ भनेछन्, ‘सरकारका परिवारका सबै सदस्यहरूको अकालमा मृत्यु हुनेछ । तपाईंले शोक र सुर्तामा बाँच्नुपर्नेछ ।’

यति भनेपछि राजाले त्यो ज्योतिषीलाई बाहुन भएकाले मृत्युदण्ड त दिएनन् तर आजन्म कैदको फैसला गरेर जेल पठाएछन् । अरू ज्योतिषीहरू त डराउने नै भए । राजालाई मनपर्ने कुराहरू भनेछन् तर राजालाई भने साँच्चै केको संकेत थियो भन्ने कुरामा जिज्ञासा नै रह्यो । एक दिन राजाले एक जना स्वप्नविद् ज्योतिषी अर्को राज्यबाट भ्रमणमा आफ्नो देशमा आएको र नजिकैको कुने मन्दिरमा मौनब्रत राखेर सिद्धिप्राप्त गर्न थालेको सुने । यो कुरा गुप्तचरलाई बुझ्न पठाउँदा हो रहेछ । आगामी सोमबार, औँसीको मध्यरातमा आफ्नो सिद्धि प्राप्त गरी बोल्ने कुरा उनका चेलाहरूबाट थाहा भयो ।

अनि, राजाले त्यो दिनको प्रतीक्षा गरे र सोमबार रातीदेखि भोलिपल्ट नहुँदै राजाले त्यो युवा ज्योतिषीलाई दरबारमा बोलाए । आफ्नो सबै दाँत झरेको कथा दोहोर्‍याए । त्यो युवा ज्योतिषीले धेरै बेर ध्यानमा बसेर बल्ल बोल्यो, ‘आहा महाराज ! हजुर त चिरञ्जीवी हुने सपना पो रहेछ । हजुर त महारानीभन्दा पनि बढी बाँच्नुहुन्छ । युवराज, युवराज्ञी, राजकुमारहरू, राजकुमारीहरू, नवयुवराजभन्दा पनि बढी आयु छ ।  आहा ! यस्तो सपना जो पायो त्यसलाई आउँदैन । जसको पायो उसको दाँत कहाँ सपनामा सबै झर्छ र ? हजुर भाग्यमानी, चिरञ्जीवी, लामो अवधिसम्म यो राज्यको अकण्टक राज्य गर्ने महाराज हुनुहुनेछ ।’

राजा गद्गद् भएर उसलाई आफ्नो हीरा र मोतीको हार लगाइदिएछन् र राज्यको राज ज्योतिषीको पदवीले विभूषित गरेछन् । हजारौँ सुनका सिक्का दिएछन् र ज्योतिषीको इच्छाबमोजिमको कुनै पनि कुरा माग्नका लागि भनेछन् । त्यो युवा भेषधारी ज्योतिषीले मागेछ, त्यही ज्योतिषीको रिहाइ, जसले सबै सन्तान मर्ने फल बताएको थियो । राजा छक्क परेर सोधेछन्, ‘किन राज ज्योतिषी, त्यो बदमास ज्योतिषीको रिहाइ चाहियो र ?’

त्यो भेषधारी ज्योतिषीले पनि भनेछ, ‘महाराज, मैले भनेको कुरा र ती ज्योतिषीले भनेका कुरा एउटै होइन र ? उनले सोझो र ठाडो भाषामा भनेछन्- महाराजका सबै सन्तान मर्नेछन् अनि मैले भनेँ- हजुरको आयु ती सबैभन्दा लामो हुनेछ । कुरो एउटै होइन र ?’

र, ती युवा भेषधारी ज्योतिषीले आफ्नो सक्कली रूप देखाउँदै भनेछन्, ‘सरकार, म तिनै स्पष्टवक्ता ज्योतिषीकी पत्नी हुँ । मलाई पनि उहाँकै संगतले केही फलाफलको ज्ञान भएको हो र यसरी सबै दाँत झरेकामा भनिने पनि त्यही हो कि अरू सबै मर्नेछन् र त्यो सपना देख्ने मात्र बाँच्नेछ । कुरो त आखिर मेरा पति र मैले भनेको एउटै हो । उहाँले त्यही कुरालाई स्पष्ट भाषामा भन्नुभयो तर मैले त्यसैलाई तपाईंलाई खुसी पार्ने तरिकाले भनेकी हुँ । सबै मर्नेछन् र तपाईं मात्र जीवित हुुनुहुनेछ भन्नु र अरूभन्दा हजुरको धेरै बाँच्नुहुन्छ, परिवारका सबै सदस्यहरूभन्दा धेरै बाँच्नुहुन्छ भन्नु तात्त्विक अर्थ एउटै  थियो तर स्पष्टवक्ता मेरा पतिलाई भने आजन्म कैदको फैसला गर्नुभयो ।’

जीवन र मृत्युको  फैसला कसरी हुन्छ, त्यसको रहस्य कसैले जानेको छैन । मानिस जन्मन्छ एउटा कुनै प्रक्रियाले, त्यसको कुनै भर छैन, यसकै गर्भमा यही नै जन्मन्छ भन्ने कुनै नीति छैन तर पनि जन्मिने प्रक्रिया छँदै छ । योचाहिँ निश्चित छ, मृत्यु अवश्यंभावी छ, निश्चित छ । सायद यही कुरालाई ध्यानमा राखेर यक्षले ‘संसारमा सबैभन्दा अचम्मको कुरा के हो ?’ भनेर सोधेको प्रश्नमा यक्षसँग धर्मराज युधिष्ठिरले भनेका थिए, ‘सधैँ मानिसहरू मरिरहेका छन्, यो ध्रुवसत्य हो तर एक दिन कुनै पनि बेला मर्नै पर्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस झूठ, फरेब, ठगी, आडम्बर र अहंकारले किन आफ्नो अन्त्यको बारेमा सम्झँदैन, यही कुराचाहिँ मलाई सबैभन्दा अचम्म लाग्छ यक्षराज !’

हुनत सपना फलका बारेमा धेरै मनोवैज्ञानिकहरूले नयाँनयाँ सिद्धान्त निकालेका होलान् तर जुन चिज कहिले कहाँ कसले कसरी देख्छ र त्यसका लागि केके मानसिक अवस्था पार हुन्छ भन्ने कसैले भन्न सक्दैन भने कसरी त्यसको फलाफल जान्न सकिन्छ ?

ज्योतिषी पत्नीको जबाफ सुनेपछि राजामा नयाँ चेत पलायो अनि उनले ती कैदमा रहेका ज्योतिषीलाई कैदमुक्त गरे र राज ज्योतिषीको दर्जामा नियुक्त गरे । त्यति मात्र होइन, उनले तत्कालै युवराजलाई राज्यको नयाँ राजाका रूपमा घोषणा गरेर आफू वानप्रस्थको यात्रा तय गरे ।

कथा सामान्य हो । कथै हो तर यसले दिने उपदेश र सपनाका बारेमा हाम्रो समाजमा व्याप्त अन्धविश्वासका लागि पनि यो कथाले बाटो देखाउँछ । हुनत सपना फलका बारेमा धेरै मनोवैज्ञानिकहरूले नयाँनयाँ सिद्धान्त निकालेका होलान् तर जुन चिज कहिले कहाँ कसले कसरी देख्छ र त्यसका लागि केके मानसिक अवस्था पार हुन्छ भन्ने कसैले भन्न सक्दैन भने कसरी त्यसको फलाफल जान्न सकिन्छ ? आफूमा रहेको आत्मविश्वास र कुनै पनि बेलामा गरिएको कल्पनाको समष्टि रूप बनेर अद्र्धचेतनाका अवस्थामा आपूmले आफैँलाई रक्षात्मक तरिकाले सुरक्षित बनाउँदै देखिने धारणाको रूप हुनुपर्छ । कसैले यसलाई यौन कुण्ठाको रूपमा बुझे, कसैले यसलाई भावी दिनका लागि भविष्यको संकेत बुझे, कतिले यसलाई सौर्य जगत्को कुनै नक्षत्रको विचरणको रूपमा बुझे भने कतिले सपना नै नदेख्ने पनि भन्दारहेछन् ।

सपना भनेको परिकल्पना हो, जुन अवचेतन मनमा कतै कुनै कोठरीमा लुकेर बसेको हुन्छ र निद्राको अवस्थामा आफूलाई सक्रिय राख्नका लागि चेतनाको नयाँ लोकमा विचरण गराउँछ । सपना विस्मृति र स्मृतिको एउटा पुञ्जका रूपमा देखिने अमूर्त छवि हो भन्ने लाग्छ मलाई । 

हाम्रा श्रुतिस्मृतिमा सपनाका बारेमा धेरै कुरा सुन्न र पढ्न पाइन्छ । अठार पुराणअन्तर्गतको ब्रह्मबैबर्त पुराणको गणपति खण्डको ३३औँ अध्यायमा स्वप्नका बारेमा वर्णन गरिएको छ । प्रसंग रहेछ- परशुरामले कार्तवीर्यका सन्तानसहित विश्वभर रहेका क्षत्रीहरूको अन्त्य गर्नका लागि गरेको तपस्या र त्यसका लागि श्रीकृष्णले दिएको वरदानपछि युद्धका लागि जाँदा राती बास बसेको ठाउँमा परशुरामले देखेका सपनाको बयान रहेछ । सायद त्यसैका आधारमा भनिन्छ- कुनै मानिस यात्रामा हिँडेको बेलामा कुनै शव देखेमा त्यो साइत पर्छ । सपनाका पनि शव देख्नु, ताजा मासु देखिनु, पात्र आफैँ पिप, रगतमा चुर्लुम्म डुबेको देख्नु आदिलाई शुभसंकेत मानिएको रहेछ किनभने परशुरामले त्यस्तो सपना देखेपछि उनले ठानेछन्- ‘म कार्तवीर्यका सन्तानहरूसहित सम्पूर्ण क्षेत्रीहरूलाई २१ पल्टसम्म घुमेर भए पनि समाप्त पार्नेछु ।’ यसो हुनुमा उनका पिता यमदग्निको हत्याको कथा छ पुराणहरूमा । 

एउटा कथा सम्झन्छु महान् सिकन्दरको, जसलाई अलेक्जेन्डर द ग्रेट भनिन्छ । उनी भारतवर्षमा आएछन् । उनले रातको टहटह चन्द्ररश्मिको मुस्कान देखेछन् नीलो आकाशमा, जुन उनले आफूले जितेका अन्य भागमा देखेका थिएनन् । उनलाई यो भारतवर्ष चाहियो किनभने यहाँ एउटा राज्यका लागि सबै आवश्यक कुरा थिए । उनी अखण्ड विश्वको सम्राट हुने महत्त्वाकांक्षाको बायुपंखी घोडामा सबार भइसकेका थिए र निर्मम तरिकाले आफ्ना शत्रुहरूमाथि जाइलाग्ने र विजय हासिल गर्दै थिए ।

अचानक उनलाई आफ्नो देशको, परिवारको सम्झना आयो । सेनाको लावालस्करसँग फर्कंदै  थिए । कसैले भन्यो, ‘महान् सम्राट सिकन्दर, यहाँ एउटा झरना छ विकट ठाउँमा तर त्यहाँको झरिरहेको झरनाको पानी अञ्जुलीमा लिएर पिएपछि मानिस अमर हुन्छ भनिन्छ ।’

त्यो सुनेपछि सिकन्दर जस्ता महत्त्वाकांक्षी लडाकु सम्राटलाई आफू अमर हुने कल्पनाले सतायो र तत्कालै विकट छहरातर्फको यात्रा सुरु गरे । उनी त्यहाँ पुगे । झरनाको पानी पिउनका लागि जब अञ्जुलीमा पानी लिन मात्र के लागेका थिए, कसैले उनलाई बोलायो, ‘हे महान् सम्राट सिकन्दर, पहिले मेरो कुरा सुन अनि मात्र पानी पिउने काम गर ।’

सम्राटले यताउता हेरे, कोही पनि देखेनन् । उनलाई लाग्यो, कोही उनको शत्रु उनलाई पछ्याउँदै झरनासम्म आएको होला । कम्मरमा झुन्ड्याएको तरबारलाई बाहिर निकाले र सोधे, ‘को हो ? देखिएर आऊ र मसँग लडाइँ गर तर म अमर हुन आएको मानिस यो पानी पिएरै छाड्छु ।’

नजिकैको झाडीबाट एउटा झ्याउरे काग निस्कियो र भन्यो, ‘म हुँ सम्राट ! मैले तपाईंलाई चिनेको छु, तपाईंको सौर्य पनि थाहा छ, तपाईंको महत्त्वाकांक्षाको भित्री कुरा पनि जान्दछु तर मेरो कुरा सुनेर मात्र पानी पिउन अनुरोध गर्छु ।’

कागले भन्न थाल्यो, ‘मलाई पनि कसैले भन्यो कि त्यो झरनाको पानी पिएमा अमर होइन्छ । म यो झरना खोज्दै यो ठाउँमा आएँ र चुच्चोले आफूलाई खान मन लागेको जति पानी पिएँ । म साँच्चै अमर भएछु । अनि, के भयो सम्राट थाहा छ ? मलाई के पनि थाहा छैन भने म कति वर्षको भएँ । मेरा पत्नी, छोराछोरी, नातिनातिनी, पनातिपनातिनी र अरू सबै बन्धुबान्धवरहित भएको छु । मलाई यो जीवन अभिशाप भएको छ । शरीर सिथिल छ । उड्न पनि सक्दिनँ । मर्नका लागि भनेर समुद्रमा हामफालेँ, अहँ, म मर्दिनँ । आगोमा फालहालेँ, म मर्दिनँ । कति पटक ढुंगामा बजारिएँ तर म मर्दिनँ । उड्न पनि  सक्दिनँ, आहार खोज्न पनि सक्दिनँ, मर्न पनि काल आउँदैन किनभने यो झरनाको पानीले म अमर जो भएको छु । त्यसैले हे सम्राट, यो कृत्रिम अमरताको भरमा नपर्नुहोस् । झरनाको कलकल गरेको यो पानी पिउनुभयो भने मेरो जस्तो अभिशप्त जीवन बाँच्नुपर्नेछ । तपाईं अमर हुनुहुनेछ अनन्तकालसम्म तर त्यसपछि ... । मेरो जस्तै जीवन, जो कालका लागि विपना, सपना र जतिखेर पनि कल्पित छ, जुन कालको कल्पनासम्मले पनि मानिस या प्राणी डरले तरंगित हुन्छ । त्यो काल म खोजिरहेको छु तर त्यो नै मेरो नजिक आउनै चाहँदैन किनभने मैले यो झरनाको पानी पिएको थिएँ कुनै बेला ।’

अहिले पनि अष्ट चिरञ्जीवी मानिएका ऋषि, मुनि, राजा आदि कतै छन् भन्ने मान्यता छ । सबैभन्दा पछि महाभारतको युद्धमा अन्तिम दण्ड पाएका अश्वत्थामा, जो चिरञ्जीवी थिए, अहिले पनि घाइते रूपमा हिमालय, पहाड, पर्वत घुमेर बाँच्दै छन् भनिन्छ- त्यो चिरञ्जीवीपनलाई अभिशापको रूपमा ग्रहण गर्दै । मानिन्थ्यो कि २९आँै व्यासका रूपमा द्रोणीको नाम प्रस्तावित थियो तर उनको मस्तिष्कको मोती नै निकालेकाले वा उनको सोच्ने विवेकलाई नै अर्जुनले निकालेकाले उनी अर्धपागलको रूपमा विचरण गरिरहेका छन् भन्ने मान्यता छ । केही शास्त्रबेत्ताको धारणामा अश्वत्थामाको सट्टामा २९औँ व्यासका रूपमा हनुमानलाई नियुक्त गरिएको छ किनभने उनी पनि चिरञ्जीवी पात्र हुन् ।

क्रमशः