‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा

एजेन्सी  |  लोकरञ्जन  |  पुष ५, २०७८

बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि-रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।

सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता केभी विजयेन्द्र प्रसादले लेख्नेछन् । यस फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् । निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटीआर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो ।

कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक केभीलाई धन्यवाद दिएका थिए । फिल्म ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउँछ, जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ । फिल्ममा हर्षाली मल्होत्रा, करिना कपुर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन् ।