कैदीको भेषमै अदालत पुगिन् सुकी

कैदीको भेषमै अदालत पुगिन् सुकी

एजेन्सी  |  विदेश  |  पुष ५, २०७८

गत वर्ष सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी बर्माकी नेतृ आङ सान सुकी कैदीको भेषमा नै अदालत उपस्थित भएकी छन् । आफूमाथि लागेका आरोपबारे सुनुवाइका क्रममा अदालतमा उपस्थित भएकी ७६ वर्षीया सुकीले सेतो टप र खैरो लुंगी लगाएकी थिइन् । यो पोसाक बर्मामा आमबन्दीले लगाउँछन् ।

कैदीको भेषमा सुकी अदालत पुगेको यो पहिलो पटक हो । सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई २ वर्ष जेल सजाय तोकेको छ ।

गत फेब्रुवरीमा नागरिक सरकारलाई पदच्युत गरी सेनाले सत्ता लिएपछि बर्मामा राजनीतिक संकट निम्तिएको छ । सेनाको कदमको विरोधमा देशव्यापी प्रदर्शन भएका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा सेनाको जुन्ता सरकारले १३ हजार जनाको हत्या गरेको विभिन्न अध्ययन प्रतिवेदनमा दर्शाइएकाे छ । 

जेलभित्र कैदीहरूलाई पनि सेनाले अमानवीय व्यवहार गरेको अधिकारवादीहरूले बताउँदै आएका छन् । हालै सार्वजनिक भएको एउटा विवरणमा सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको छ । सेनाले जुलाईमा मात्र कम्तीमा ४० जना सर्वसाधारणको हत्या गरेको जनाइएको छ । 

सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको थियो । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरूको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न ४ वटा स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । त्यस्तै, सोही जिल्लाको अर्को एक गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको छ ।