पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

पाकिस्तानमा विपक्षीले माग्यो प्रधानमन्त्री खानको राजीनामा

एजेन्सी  |  विदेश  |  पुष ६, २०७८

पाकिस्तानको प्रमुख विपक्षी दलले प्रधानमन्त्री इमरान खानको राजीनामा माग गरेको छ । उच्च तहको अन्तर्राष्ट्रिय सम्मेलनमा राजधानी इस्लामाबादमा विदेशी अतिथि सहभागी कार्यक्रममा आफ्नो भ्रष्टाचार लुकाउन देश र राजनीतिक दलहरूको बदनाम गरेको भन्दै विपक्षी पार्टी मुस्लिम लिग नवाज (पीएमएल- एन)ले प्रधानमन्त्री खानको राजीनामा माग गरेको हो । 

प्रधानमन्त्री खानले जतिबेला पनि आफ्नो परिवारलाई मात्र उल्लेख गरेको भन्दै आफू शरिफको 'फेमिली फोबिया'बाट पीडित भएको पीएमएल- एनका सूचना सचिव म्यारियम औराजेबले बताइन् । सरकारले आफ्नो ३ वर्षे कार्यकालयमा सम्झनयोग्य कुनै पनि काम नगरेको उनले आरोप लगाइन् । 

शुक्रबार अल जजिरासँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री खानले पूर्वप्रधानमन्त्री  बेनजिर भुट्टो र शरिफ परिवार निकट नेताहरूको आलोचना गर्दै उनीहरूले भ्रष्टाचारको प्रबर्द्धन गरेको र देशलाई तहसनहस गरेको आरोप लगाएका थिए । 

पाकिस्तान तेहरिक ई इन्साफ पार्टीका प्रमुखसमेत रहेका खानले पूर्वप्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लिग-नवाज र तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)को आलोचना गर्दै ती पार्टी नभएर केवल परिवारको विरासत भएको बताए । देशले अहिले सामना गरेको समस्याको प्रमुख कारक तिनै २ पार्टी भएको उनले दाबी गरे ।

लन्डनमा उपचारार्थ पूर्वप्रधानमन्त्री शरिफ खानमाथि भ्रष्टाचारको आरोप लागेको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति तथा पूर्वराष्ट्रपति असिफ अली जर्दारीमाथि पनि आर्थिक अनियमितताको आरोप लाग्दै आएको छ ।