कांग्रेसको महाकुम्भमा थापा र शर्माको चर्चा: तर, फरक छ देश र जनताको अपेक्षा

कांग्रेसको महाकुम्भमा थापा र शर्माको चर्चा: तर, फरक छ देश र जनताको अपेक्षा

पुरिन्द्र रावल  |  दृष्टिकोण  |  पुष ६, २०७८

यतिबेला नेपाली राजनीतिक वृत्तमा पार्टीमहाधिवेशनको चर्चा निकै ठूलो छ । अहिले अझ विशेष गरेर कांग्रेस महाकुम्भको चर्चा निकै चलिरहेको छ । यस महाकुम्भका मुख्य पात्रका रूपमा गगन थापा र विश्वप्रकाश शर्मा नै अहिलेसम्म चर्चामा रहेका देखिन्छन् ।

यी २ पात्रको पार्टी महामन्त्रीमा जीतले कांग्रेस अनुयायीहरूको मनमा उत्साह भरिएको छ भने आमजनको मनमा प्रश्नहरू पनि जन्मिएका छन्- के अब यी पात्रले कांग्रेस रूपान्तरण गर्न सक्लान् ? के यी पात्रले कांग्रेसको विचारलाई अगाडि बढाउन सक्लान् ? के यी पात्रले समाज र राजनीतपक क्षेत्रका समस्या समाधान गर्न सक्लान् ? के यी पात्रले जनताको आशा र पार्टीको भरोसालाई पूरा गर्न सक्लान् ? यी आधारभूत प्रश्नहरू आमजनका मनमा उब्जिरहेका छन् । यो चर्चा यी पात्रका लागि अवसर र चुनौती दुवै सावित हुन सक्छ ।

कांग्रेस महाकुम्भको चर्चाका केन्द्रमा रहेका मुख्य पात्रहरूले दलाल व्यावस्था, अराजक राज्य र प्रजातान्त्रिक नामको अप्रजातान्त्रयक कांग्रेसलाई कसरी रूपान्तरण गर्छन् भन्ने कुरा मुख्य प्रश्न हुन सक्छ । आज देशका सबै क्षेत्रमा अराजकता मौलाइरहेको छ । दलालीकरण मौलाएको छ ।  मुलुकको आन्तरिक उत्पादन शून्य बराबर छ । विदेशबाट ऋण ल्याएर दलाल व्यवस्थाका मतियारहरूले आफ्नो दुनो सोझ्याएका छन् भने आमजनताको टाउकोमा ऋण प्रत्येक दिन बढ्दै छ । एक छाक राम्रो खान र एक सरो राम्रो लगाउन अर्काको गुलामी गर्न बाध्य छन् जनता ।

यी तमाम समस्याको समाधान के हो ? अब जनताले खोज्नुपर्छ । पटक पटक सरकारको नेतृत्व गरेर आफ्नो असक्षमता प्रदर्शन गरिरहेको कांग्रेसमा यी पात्रको आगमनले मुलुक र जनताले खासै केही पाउँछन् जस्तो लाग्दैन । किनभने आजको नेपाली राजनीतिको मुख्य समस्या भनेको नै आजकता र दलालीकरण हो । यसलाई चिर्नका लागि यी पात्रसँग त्यस्तो हतियार के छ भन्ने कुरा हो । त्यो हतियार यी पात्रसँग भएर मात्र पुग्दैन, समग्र कांग्रेसले लिन्छ कि लिँदैन भन्ने कुरा मुख्य हो ।

त्यसैले भन्न सकिन्छ- यी पात्रको आगमनले रूपान्तरण वा परिवर्तनको कुरा मिथ्या हुन सक्छ । थापा र शर्मालाई महामन्त्री मात्र होइन, सभापति नै बनाइदिए पनि यी पात्रले खासै केही लाछारपाटो लगाउन सक्दैनन् भन्ने कुरा आमजनले बुझेका छन् । यस कारण अब नेतृत्व परिवर्तनको कुरा मात्र होइन, व्यवस्था अथवा प्रणाली परिवर्तनको कुरा मुख्य हुन सक्छ ।

आजको सन्दर्भमा मुख्य रूपमा प्रणाली नैै पछि परेको देखिन्छ । यसलाई रूपान्तरण नगरी जोसुकै जेसुकै भए पनि केही हुनेवाला छैन । त्यस कारण यसलाई परिवर्तनको दिशामा थापा र शर्माले होइन, अब आमजनताले लैजानुपर्छ । यदि यसो हुन सकेन भने थापा र शर्मालाई महामन्त्री मात्र होइन, मुलुकको प्रधानमन्त्री नै बनाए पनि हुनेवाला केही छैन ।

मुख्य रूपमा हामीले अँगालेको प्रणाली नै पहिलो त पछौटे छ भने दोस्रोमा यी सबै जनताले नजिकबाट चिनेका पात्र हुन् । त्यसैले यी पात्रबाट रूपान्तरणको आशा र अपेक्षा गर्नु भनेको हिटलरलाई यहुदीको मित्र मान्नु जस्तै हो । यो हुनै नसक्ने चिज हो भन्ने कुरा आमजनले बुझेका छन्

राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने दलाल व्यवस्था र सामन्ती राजनीतिक अखडाहरूले बुर्जुवा नेता र कालो व्यवस्था धान्न सक्लान् तर मुलुक र जनताको भाग्य र  भविष्य बदल्न सकदैनन् । यसैले थापा र शर्माको मात्र कुरा होइन, समग्र प्रणालीको कुरा हो । समग्र नीतिको कुरा हो । 

यसैले यी महाकुम्भका मुख्य चर्चाका पात्रहरू साँच्चीकै मुलुक र जनताको परिवर्तनका निम्ति लडेका हुन् भने यिनले कांग्रेसको विकल्प खोज्न जरुरी छ । यदि त्यसो हुन सकेन भने यी पात्र पनि त्यही ड्याङका मूला हुन् भन्नेछन् जनताले ।

७०-७५ वर्षको लामो इतिहास बोकेको कांग्रेसले आजसम्मका मुलुक र जनताप्रति गरेको कामको समीक्षा गर्ने हो भने आशाभन्दा निराशा धेरै भेट्टाउन सक्ने अवस्था छ । त्यसैले अब मुलुक र जनताको परिवर्तन कांग्रेसबाट संभव छैन, एमालेबाट छैन, माओवादीबाट छैन अथवा न त अरू कुनै साना दलहरूबाट नै छ । अब रूपान्तरण नेपाली जनताबाहेक कसैबाट छैन भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ ।

त्यसैले थापा र शर्मा वा ओली, लिङ्देन, देउवा जो कोहीबाट पनि छैन । किनभने मुख्य रूपमा हामीले अँगालेको प्रणाली नै पहिलो त पछौटे छ भने दोस्रोमा यी सबै जनताले नजिकबाट चिनेका पात्र हुन् । त्यसैले यी पात्रबाट रूपान्तरणको आशा र अपेक्षा गर्नु भनेको हिटलरलाई यहुदीको मित्र मान्नु जस्तै हो । यो हुनै नसक्ने चिज हो भन्ने कुरा आमजनले बुझेका छन् ।

त्यसैले आजको मुख्य काम वा मुख्य आवश्यकता भनेको नै दलाल राजनीति, पुँजिवादी आर्थिक प्रणाली र सामन्तवादी संस्कारका विरुद्धको सशक्त वैचारिकीसहितको सशक्त जनविद्रोह गरेर सुन्दर संसारको निर्माण गर्नु हो ।

यसैले भन्न सकिन्छ- थापा र शर्मा दलाल व्यावस्था, अराजक पार्टी र सामान्ती संस्कारका मतियार मात्र हुन् । यी पात्रको चर्चा २ दिनको मात्र हो । यसको विकल्प खोज्न जरुरी छ ।