माओवादी प्रदेश १ अधिवेशन : पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी

माओवादी प्रदेश १ अधिवेशन : पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी

न्युज कारखाना  |  समाचार  |  पुष ७, २०७८

मोरङ ।  नेकपा माओवादी केन्द्र प्रदेश १ ले दुई हप्ता बितिसक्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुङ्ग्याउन सकस परेको हो । 

पदाधिकारीमध्ये अध्यक्षमा मात्र सात जनाले दाबी पेस गरेका छन् । तीन जना उपाध्यक्षको लागि दर्जन बढीको दाबी छ । यस्तै एक जना सचिवका लागि आधा दर्जनको दाबी छ । 

प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दै छ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश १ का सह इन्चार्ज अजम्बर काङमाङ संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् । 

कार्यदलले सहमतिमै नेतृत्व छान्नका लागि सहमतिको अन्तिम प्रयास थालिएको कार्यदलका सदस्य हेमराज भण्डारीले बताए । कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक मंगलवार (हिजो) विराटनगरमा बसेको थियो । केन्द्रीय सदस्यहरूको बैठकले पनि नेतृत्व छान्न भने सकेन । 

अध्यक्षमा दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्रीलगायतका नेताहरूको दाबी छ । 

महिला उपाध्यक्षमा सङ्खुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनीता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । 

सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।

सहमति नभए दिउँसो २ बजेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्ने निर्वाचन समितिका संयोजक राजन किरातीले बताए । सहमति नभए बुधवारै चुनाव गरेर मतपरिणम निकाल्ने गरी काम भइहरको उनले बताए । 

माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत २५ मङ्सिरदेखि सुरु भएको अधिवेशन नीति केन्द्रित नभई नेता केन्द्रित भएकाले पदाधकारी टुङ्ग्याउन नसकेको माओवादीकै एक नेताको आरोप छ । 

महाधिवेशनको तयारीका लागि केन्द्रका नेताहरू काठमाडौँमा जान हतार गरेकाले चुनावबाट भए पनि पदाधिकारी टुंग्याउने तयारी रहेको निर्वाचन समितिका एक सदस्यले बताए ।  ती सदस्यका अनुसार केही नेताले भने महाधिवेशनपछि मात्र नेतृत्व टुङ्ग्याउनु पर्नेसमेत जोड दिइरहेका छन् ।