‘ए’ डिभिजन लिग:  निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र

‘ए’ डिभिजन लिग:  निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र

न्युज कारखाना  |  खेलकुद  |  पुष ७, २०७८

काठमाडौं । नियमित र वार्षिक तालिका नहुँदा यस पटक शहीद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो । कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्छन् । अहिले यस्तै भएको छ । त्यो पनि शहीद स्मारक ‘ए’ डिभिजन लिग ।  

शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौँ चरणको खेल सकिएको छ । आगामी शुक्रबारदेखि छैटौँ चरणको खेल हुँदै छ । यस पटक सातौँ चरणको खेलपछि शीर्ष टोलीले एएफसी कप खेल्न पाउनेछ । कारण, समयमै प्रतियोगिता नहुनु । 

अघिल्ला वर्षहरूमा लिग सकिएपछि शीर्ष स्थानमा रहने टोलीले एएफसीको प्रतियोगिता खेल्ने गर्थ्यो । तर, यस पटक त्यस्तो भएन । लिग चलिरहँदा सातौँ चरणमा शीर्ष स्थानमा हुने टोलीले एएफसी प्रतियोगिता खेल्ने भयो । यो भनेको लिग जित्ने टोलीको एएफसीबाट ठूलो मात्रामा अनुदान पाउनु हो । यता, लिग जित्नेले मात्र इतिहासमा नाम लेखाउनेछ । बाँकी पुरस्कार राशि (७५ लाख रुपैयाँ) त पाउने नै भयो । 

जारी लिगमा को एएफसी कप खेल्न छनोट हुने ? भन्ने प्रतिस्पर्धा छ । एएफसीको प्रतियोगिता खेल्न एएफसी लाइसेन्स अनिवार्य हुनुपर्छ । यस वर्षका लागि साविक विजेता मच्छिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, कीर्तिमानी आठौँ पटक विजेता मनाङ-मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ फुटबल क्लबसँग लाइसेन्स छ, जुन बर्सेनि नवीकरण हुने गर्छ । 

जारी लिगमा एएफसी लाइसेन्स पाएका क्लबबाहेक अन्य क्लब शीर्ष स्थानमा भए पनि त्यसपछि तालिकामा रहने टोलीले छनोटमा स्थान बनाउनेछ । 

पाँचौँ चरणका खेल सकिँदा मनाङले २ अंकको अग्रता राख्दै शीर्ष स्थान कायम राखेको छ । त्यसलाई पछ्याएको मच्छिन्द्र ११ अंकसहित दोस्रो स्थानमा छ । यता, पछिल्लो खेलमा लय समातेको आर्मी ९ अंकसहित तेस्रो स्थानमा छ । 

पहिलो पटक घरेलु मैदान पोखरामा लिग खेलेको मनाङ विभागीय टोली पुलिसलाई ३-१ ले पराजित गर्दै गत शनिबार शीर्ष स्थानमा फर्कियो । काठमाडौंमा संकटासँग मच्छिन्द्र गोलरहित बराबरीमा रोकिएसँगै मनाङलाई शीर्ष स्थानको अवसर थियो । यता, आर्मीलाई समेत पाँचौँ चरणमा नवप्रवेशी सातदोबाटोसँग ३ अंक खोस्दै अंक दूरी घटाउने अवसर थियो तर आर्मी अंक बाँड्न बाध्य भयो । 

अब, छैटौँ चरणमा मनाङ र मच्छिन्द्र भिड्दै छन् । यही खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको निर्णय गर्नेछ । दुवै टोलीका लागि यो खेल निर्णायक हुनेछ । यो खेलमा जीत हात पार्ने क्लबले शीर्ष स्थानमा आफ्नो कब्जा जमाउनेछ । 

मनाङले जितेमा उसको शीर्ष स्थानमा ५ अंकको अग्रता हुनेछ । हारेमा भने मच्छिन्द्रले १ अंकको अग्रता बनाउनेछ । यदि यो खेल बराबरीमा गए मच्छिन्द्रकाे संभवाना कम हुँदा मनाङको संभावना बलियो हुन्छ छ । 

मनाङ र मच्छिन्द्र बराबरी खेल्दा यसको फाइदा अर्काे विभागीय टोली आर्मीले लिन सक्छ । ९ अंक भएको आर्मी थ्री स्टारविरुद्ध खेल्दै छ । खराब लयमा रहेको थ्री स्टारविरुद्धको जीतले आर्मीलाई समेत छनोटको होडमा लैजानेछ । 

यता, निर्णायक खेल रहनेछ सातौँ चरण । सातौँ चरणमा मनाङले सहज प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग खेल्दै छ भने मच्छिन्द्रले बलियो विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ । 

गत सिजनमा मनाङबाट आधा दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी मच्छिन्द्र गएपछि मच्छिन्द्रले ऐतिहासिक लिगको उपाधि हात पारेको थियो । तर, २ टोलीबीच दशरथ रंगशालामा भएको खेल २-२ को बराबरीमा सकिएपछि मैदानभित्र खेलाडी हानाहानको अवस्थामा पुगेका थिए । यसमा संलग्न दुवै टोलीका ३-३ जना खेलाडीलाई एन्फाले जरिमानासहित केही खेलमा प्रतिबन्ध लगाएको थियो । यस्तै, दुवै टोलीलाई एन्फाले ५०-५० हजार रुपैयाँ जरिमाना तोक्यो ।  

यता, शीर्ष स्थान र एएफसी छनोटको होडबाजी चलिरहँदा रेलिगेसन जोनबाट बच्नसमेत होडबाजी चलिरहेको छ । २ अंकसहित फ्रेन्ड्स पुछारमा छ भने समान ४ अंकका एपीएफ फुटबल क्लब, जावलाखेल युथ र च्यासल युथ क्लब रेलिगेसनबाट बच्न प्रयत्न गरिरहेका छन् ।

रमेश सुवेदी