बीपी र सुवर्णशम्शेरले यसरी २ पार्टी जोडेर बनाएका थिए 'नेपाली काङ्ग्रेस'

'काङ्ग्रेसले बिराएको बाटो'

बीपी र सुवर्णशम्शेरले यसरी २ पार्टी जोडेर बनाएका थिए 'नेपाली काङ्ग्रेस'

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  पुष १२, २०७८

२००३ सालमा कलकत्तामा भएको अधिवेशनले पार्टीको कार्यसमिति पनि चयन गर्‍यो । नेपालको जेलमा रहेका ‘जिउँदा शहीद’ टंकप्रसाद आचार्यलाई सभापति चयन गरियो । बीपी कोइराला आफू कार्यकारी सभापतिमा रहे भने बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभाग अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री चयन भए ।

संस्थापक अन्य नेतामा गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डीएन प्रधान, ह्लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी सदस्य तथा ईश्वर बराल कार्यालय सचिव तोकिए ।

गणेशमान सिंह नेपालको जेलबाट भागेर भारत पुगेका थिए । भारतमा उनको व्यापक खोजी भइरहेको थियो । उनी नेपाल र भारतमा पनि भूमिगत रहेका थिए । भूमिगत अवस्थामै रहेकाले र नेपाल तथा भारतमा धेरै खोजीको सूचीमा रहेकाले गणेमानलाई समितिमा राखिएन तथापि यो पार्टी स्थापनामा गणेशमानको महत्त्वपूर्ण योगदान थियो ।

पार्टीको केन्द्रीय कार्यालय तत्काललाई काशीमा राख्ने र उचित समयमा काठमाडौंमा सारिने, शाखा कार्यालयहरू भारतका विभिन्न स्थानमा राख्ने निर्णय पनि गरियो ।

निरङ्कुश राणा शासनको अन्त्यलाई प्रमुख लक्ष्य बनाएको नेपाली राष्ट्रिय कांग्रेसले नेपालभित्रैबाट पनि आन्दोलनको सुरुवात गर्‍यो । २१ फागुन २००३ देखि गिरिजाप्रसाद कोइराला, जो बीपीका कान्छा भाइ पनि हुन्, उनको नेतृत्वमा विराटनगरमा रहेको विराट जुट मिलबाट मजदुर आन्दोलन सुरु भयो । विराटनगरमा भएको उक्त आन्दोलनलाई दबाउन राणाहरूले राणाहरूले सक्दो प्रयास गरे । उक्त आन्दोलनलाई निमिट्यान्न पार्ने उद्देश्यसहित काठमाडौंबाट समेत थप सेना विराटनगर पठाइयो ।

राणा सरकारले १२ चैत २००३ मा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीलाई पक्राउ गर्‍यो । उनीहरूलाई धनकुटा लगियो र त्यहाँबाट काठमाडौँ ल्याइयो । उता, विराटनगर त्यसको विरोधमा अझ तात्यो । त्यहाँका मजदुरहरूले सशक्त आन्दोलन गर्न थाले । राणाहरूलाई उक्त आन्दोलन दबाउन हम्मेहम्मे पर्‍यो । अरिङ्गालका गोलामा ढुङ्गा हानेजस्तो भयो राणाका लागि उक्त कदम ।

बीपी, गिरिजाप्रसादहरूलाई पक्राउ गरेको २ दिनपछि नै १४ चैतमा विराटनगरमा विशाल जुलुस प्रदर्शन भयो । उक्त जुलुसमा सेनाले जथाभावी गोली हान्यो । त्यसबाट मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए भने अरू धेरै प्रदर्शनकारी घाइते भए ।

प्रदर्शनमा सहयोग गरेको र सहभागी भएको आरोपमा बीपीकी आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरी आदिलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो ।

आन्दोलन रोकिने कुनै सम्भावना नै थिएन बरु झन्झन् चर्किंदै थियो । त्यसमाथि सेनाको दमनले आगोमा घीउ थपेर चर्काइदिएको थियो आन्दोलन । यसैबीच २७-२८ चैतमा नेपाली राष्ट्रिय कांग्रेसको सम्मेलन भारतको जोगवनीमा भयो । उक्त सम्मेलनले आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई चैत महिनाभित्र रिहा नगरे १ वैशाख २००४ देखि देशव्यापी सत्याग्रह आन्दोलन गर्ने निर्णय गर्‍यो ।

किन गल्थ्यो राणा शासक ! दमनका कार्य जारी नै राख्यो । नेपाली जनता एक-एक गर्दै राणाविरोधी आन्दोलनमा लाग्न थाले- स्वतःस्फुर्त । आन्दोलनलाई समर्थन गर्ने र साथ दिनेको संख्या क्रमशः बढ्दै गयो भने विराटनगरमा झोसिएको आन्दोलनको झिल्कोले देशभर टिप्न थाल्यो ।

पार्टीको निर्णयअनुसार १ वैशाखदेखि नै देशका विभिन्न ठाउँमा सत्याग्रह सुरु भयो । सत्याग्रहमा सहभागीमाथि धरपकड र दमन गर्न राणा शासकले व्यापक सुरक्षाकर्मी परिचालन गर्‍यो । ठूलो संख्यामा गिरफ्तारी भयो ।

देशको राजधानीसमेत रहेको काठमाडौँमा लामो समयसम्म सत्याग्रह चल्यो । सत्याग्रह यति शक्तिशाली भयो कि तत्कालीन निरंकुश राणा शासक पद्मशम्शेर ‘सत्याग्रह रोकियोस्, राजबन्दीे रिहाइका साथै संवैधानिक सुधार गर्छु’ भन्ने बाध्यात्मक अवस्थामा पुगे । र, वास्तवमा यो नेपालको राजनीतिक इतिहासमा निकै महत्त्वपूर्ण घटना थियो, जहाँ सय वर्षसम्म निरङ्कुश शासन गरेका श्री ३ महाराजले जनता सामु घुँडा टेकेका थिए ।

यस घटनापछि आन्दोलनकारीमा उत्साह थपियो, जुन स्वाभाविक थियो । आन्दोलनको बलबाट निरङ्कुशता हटाउन सकिन्छ, राणाहरूलाई हराउन सकिन्छ भन्ने आत्मविश्वास आन्दोलनकारीमा बढ्ने नै भयो । नेपाली राष्ट्रिय कांग्रेस निरन्तर आन्दोलनमा अघि बढिरह्यो ।

२००६ सालमा आएर बीपीसँगै नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताहरू पनि राणाहरूको निरंकुशता, बर्बरता र शोषणबाट नेपाल र नेपालीलाई मुक्त गर्न सशस्त्र सङ्घर्ष नै आवश्यक हुने निचोडमा पुगिसकेका थिए

आन्दोलनकै जगमा २००४ भदौमा बीपीलाई रिहा गरियो । अन्य पक्राउ परेका आन्दोलनकारी धेरैजसो जेलमै थिए । पार्टीले उनीहरूको रिहाइको माग गरिरह्यो, आन्दोलनका कार्यक्रम जारी राख्यो ।

यसैबीच २०-२२ फागुन २००४ मा बनारसमा नेपाली राष्ट्रिय कांग्रेसको दोस्रो अधिवेशन भयो । उक्त अधिवेशनले बीपी कोइरालालाई पार्टी सभापति चयन गर्‍यो । बीपीले भूमिगत रूपमा राजनीतिक गतिविधि सञ्चालन गरिरहे । भारतमा रहेका नेपालीलाई सजग गराउँदै र आन्दोलनमा उत्प्रेरित अनि सङ्गठित गर्दै रहे भने नेपालका विभिन्न स्थानमा पुगेर भूमिगत रूपमै राजनीतिक आन्दोलनमा जागरण ल्याउन सक्रिय रहे ।

२००५ कात्तिकमा बीपी भूमिगत रूपमै काठमाडौं आए पार्टी सङ्गठनका सिलसिलामा तर उनी पक्राउ परे । कठोर यातनासहित नेल र हतकडी लगाएर अस्वस्थकर कोठामा राखियो बीपीलाई । जेल परेको केही महिनापछि बीपीले जेलबाटै आमरण अनशन सुरु गरे ।

२९ दिनसम्म आमरण अनशन बसेका बीपी जब मृत्युको मुखमा पुगे, अनि मात्र उनलाई १५ जेठ २००६ मा रिहा गर्न राणा शासक बाध्य भयो । उता, बीपी जेलमै रहेका बेला १८, १९, २० फागुन २००५ मा भारतको दरभङ्गामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो । त्यसले बीपीको यथाशीघ्र रिहा नगरे १८ जेठ २००६ देखि पुनः सत्याग्रह गर्ने निर्णय गर्‍यो । उक्त अधिवेशनले मातृकाप्रसाद कोइराला, जो बीपीका दाजु हुन्, उनलाई पार्टी सभापति बनायो ।

त्यस बेला सुवर्णशम्शेर, महावीरशम्शेर, सूर्यप्रसाद उपाध्याय, महेन्द्रविक्रम शाहहरू भारतमै थिए । उनीहरू पनि निरङ्कुश राणा शासनको विरोधमा सङ्ठित हुने प्रयासमा थिए । बीपीले उनीहरूलाई पनि नेपाली राष्ट्रिय कांग्रेसमा सहभागी भएर राणाविरोधी आन्दोलनमा सक्रिय हुन अनुरोध गरे ।

गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रेरित बीपी तर नेपालको निरंकुश राणा शासनको अन्त्यका लागि अहिंसात्मक आन्दोलन मात्र काफी नहुने निष्कर्षमा उनीहरू थिए । रााणा शासनको अन्त्यका लागि सशस्त्र सङ्घर्षको आवश्यकता महसुस भयो सुवर्णहरूलाई । र, यस्तो सशस्त्र क्रान्ति गर्न सक्ने सङ्गठन अनि त्यस्तै ऊर्जावान् र त्यागी नेतृत्वको आवश्यकता भएको उनीहरूको बुझाइ थियो ।

बीपीमा भने गान्धीवादको प्रभाव धेरै थियो । बीपी र सुवर्णशम्शेरहरूको क्रान्तिको ‘लाइन’ मिलेन । यस कारण उनीहरू नेपाली राष्ट्रिय कांग्रेसमा सम्मिलित भएनन् । २००५ सालमा सुवर्णशम्शेरहरूले बेग्लै पार्टी ‘नेपाल प्रजातन्त्र काङ्ग्रेस’ गठन गरे । यस पार्टीको केन्द्रीय कार्यालय फ्री स्कुल स्ट्रिट कलकत्तामा राखियो । अरू विभिन्न स्थानमा शाखा कार्यालय पनि राखिए ।

राणाहरूको बर्बरता, दमन, शोषण र उत्पीडनलाई नजिकबाट हेर्दै गरेका बीपीले बुझ्दै गए कि अहिंसात्मक आन्दोलनले मात्र जरा गाडेर बसेको जहानियाँ राणा शासनको अन्त्य सम्भव छैन । बीपी अब ‘हातमा दही जमाएर नबस्ने’ निष्कर्षमा पुगे ।

२००६ सालमा आएर बीपीसँगै नेपाली राष्ट्रिय कांग्रेसका अरू नेताहरू पनि राणाहरूको निरंकुशता, बर्बरता र शोषणबाट नेपाल र नेपालीलाई मुक्त गर्न सशस्त्र सङ्घर्ष नै आवश्यक हुने निचोडमा पुगिसकेका थिए ।

सुवर्णशम्शेरहरू सुरुदेखि नै सशस्त्र क्रान्तिको ‘लाइन’मा छँदै थिए, बीपीहरू पनि सशस्त्र सङ्घर्षतर्फ बढ्ने भएपछि नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच निकटता बढ्यो- एजेण्डा र कार्यगत दुवै सवालमा । बीपी र सुवर्णबीच अबको क्रान्ति र सङ्घर्षको बाटो के हुने, कसरी अघि बढ्ने, के कस्ता अप्ठ्याराहरू र अवरोधहरू आउँछन् सङ्घर्षका क्रममा र तिनलाई कसरी समाधान गर्दै जाने भन्ने विषयमा दर्जनौँ पटक भेटघाट र गम्भीर छलफल भए ।

धेरै पटकका छलफल र विचार-विमर्शपछि यी २ पार्टीबीच एकता गर्ने निर्णयमा पुगे । एकबद्ध पार्टीले बलियो रूपमा सशस्त्र सङ्घर्ष गर्न सक्ने कुरामा दुवै पक्ष सहमत भए । र, अन्ततः २७ चैत २००६ मा कलकत्ताको टाइगर सिनेमा भवनमा यी दुवै पार्टीका प्रतिनिधि सम्मिलित संयुक्त अधिवेशन भयो ।

सोही अधिवेशनले यी पार्टीको विधिवत् एकीकरण गरेर ‘नेपाली कांग्रेस’ पार्टीको गठन गर्‍यो । नयाँ पार्टी अर्थात् नेपाली काङ्ग्रेसका सभापतिमा मातृकाप्रसाद कोइराला र महामन्त्रीमा महेन्द्रविक्रम शाह चयन भए । दुवै पार्टीबाट ४-४ जना केन्द्रीय सदस्य रहने निर्णय भयो ।

नेपाली राष्ट्रिय कांग्रेसबाट बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र दयाशंकर मुन्सी सदस्य चयन भए भने नेपाल प्रजातन्त्र कांग्रेसबाट सुवर्णशम्शेर, सूर्यप्रसाद उपाध्याय, महावीरशम्शेर र कुँवर कल्लु सिंह सदस्यमा चयन गरिए । पार्टीको झण्डा भने नेपाल प्रजातन्त्र कांग्रेसको झन्डालाई नै स्वीकार गरियो ।

२ वटा अलग पार्टीको एकीकरण भई नेपाली काङ्ग्रेस बनेको इतिहासबाट थाहा हुन्छ । २००३ सालमा स्थापना भएको ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ र २००५ सालमा स्थापना भएको ‘नेपाल प्रजातन्त्र कांग्रेस’ २००६ सालमा आएर एकीकरण भई ‘नेपाली काङ्ग्रेस’ बनेको भए पनि नेपाली काङ्ग्रेसको स्थापना मिति भने एकीकरण अधिवेशनलाई चौथो अधिवेशन मानेर १२ माघ २००३ लाई नै मानिएको पाइन्छ ।